थुनिएको मर्स्याङ्दी नदी विस्तारै खुल्दै


७ असार २०७८, सोमबार
badhi
फाइल फोटो

मनाङ, ७ असार । बाढी पहिरोका कारण विभिन्न स्थानमा थुनिएको मर्स्याङ्दी नदी अहिले बिस्तारै खुल्दै गएको छ । मनाङ जिल्ला भई बग्ने मर्स्याङ्दी नदी पहिरो, ढुङ्गा माटो र काठ दाउराले थुनिँदा पानी जमेर ठूलो बाँध बनेको थियो । जिल्लाको चामे, मुरेडाँडा र हुण्डेमा बाढी पहिरोका कारण नदी थुनिएको हो ।

उक्त स्थानमा थुनिएको नदी अहिले बिस्तारै खुल्दै गएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामे बजार जाने ठूलो पुल जोखिममा परेको थियो । आइतबार सशस्त्र प्रहरी बल नं. ३२ गुल्म मनाङ र नेपाल प्रहरीको सहायतामा नदी खुलाइएको हो ।

सशस्त्र र नेपाल प्रहरीका सुरक्षाकर्मीले जोखिम मोलेर चामे बजार जाने ठूलो पक्की पुल जोगाएका हुन् । सशस्त्र प्रहरी बल नं. ३२ गुल्म मनाङका गुल्मपति होमनाथ पन्थीका अनुसार पुल भत्काउने खतरा बढेपछि मुढा काटेर पन्छ्याइएको छ ।

यस्तै मुरेडाँडा र हुण्डेमा भने नदी आफैं खोलिएको हो । नदीमा पानीको सतह केही मात्रामा घटेको र तत्काललाई जोखिम टरेतापनि सतर्कता अपनाउन मनाङवासीलाई प्रशासनले आग्रह गरेको छ । यस वर्ष मनसुनको सुरुवातसँगै मनाङमा बाढीपहिरोले ठूलो क्षति पु¥याएको छ ।

जिल्लामा चार वटा स्थानीय तह रहेका छन् । चार स्थानीय तहमध्ये चामे, नासोँ र ङिस्याङ गाउँपालिका बाढीपहिरो दुबैबाट पूर्णरुपमा प्रभावित बनेका छन् भने नार्पाभूमि गाउँपालिका पहिरोबाट प्रभावित भएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए ।

आज मात्र नार्पाभूमिका पहिरो पीडितका लागि सदरमुकाम चामेबाट राहतको सामग्री लगेर वितरण गरेको उनले बताए । नार्पामा माटाका घरहरु धेरै भएको र अत्यधिक पानी पर्दा घर भासिएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७