बाढी–पहिरो र डुबानबाट एक सातामा २० को मृत्यु, २१ वेपत्ता, ८०६ जनाको उद्धार

३,२५८ मानिस विस्थापित, ६३० पशु चौपायको मृत्यु


७ असार २०७८, सोमबार
Melamchi flood 3

काठमाडौं, ७ असार । लगातारको वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी–पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि आज (सोमबार) दिउँसोसम्म २० जनाको ज्यान गएको छ ।

मृत्यु हुनेहरूमा १३ जना पुरुष, चार जना महिला, दुई जना बालक र एक जना बालिका छन् । तीमध्ये सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ३ जना, सप्तरी, काभ्रे, गोरखा, कास्की, अर्घाखाँची, पाल्पा, प्युठान, जुम्ला, कालिकोट, बझाङ, पाँचथर र बाजुरामा एक–एक जना रहेको नेपाल प्रहरीको केन्द्रीय कार्यलयको तथ्यांकमा उल्लेख छ ।

बाढी तथा पहिरोमा परी ८०६ जनाको उद्धार गरिएको छ । तीमध्ये मनाङमा ६५६ जना, सिन्धुपाल्चोकमा १२३ जना, सल्यान र लमजुङमा ८–८ जना, दाङ र गोरखामा ४–४ जना र कञ्चनपुरमा ३ जना रहेका छन् । उद्धार पश्चात उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ ।
बाढी–पहिरो र डुबानमा परी २० जना घाइते भएका छन् ।

तीमध्ये १३ जना पुरुष, ४ जना महिला, १ जना बालक र २ जना बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा ५ जना, म्याग्दी र डोटीमा ३–३ जना, जुम्ला र कास्कीमा २–२ जना, स्याङजा, चितवन, सल्यान, पाँचथर र दार्चुलामा एक–एक जना छन् । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ ।

बाढी पहिरोमा परी २१ जना बेपत्ता भएका छन् । तीमध्ये १४ जना पुरुष, ५ जना महिला र २ जना बालक छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना र बाजुरामा एक जना छन् । वेपत्ताको खोजी कार्य जारी रहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका सडक प्रहरीले सुचालु गराएको छ । साथै वर्षाको कारण जुम्ला, कास्की, बैतडी लगायतका स्थानहरुमा सोमबार पहिरो गई अवरोध भएको सडक हटाउने कार्य जारी छ । बाढीको कारण २१० वटा घर डुबानमा परेका छन् । २०६ वटा घर, १२ वटा गोठ, १८ वटा पुल, ३ वटा विद्यालय र ८ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ७४८ वटा घरका ३ हजार २५८ जना मानिस विस्थापित भएका छन् भने ६३० वटा पशु चौपायको मृत्यु भएको छ ।

उक्त घटनाबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्धारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने, अवरोध सडक हटाउने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७