भ्याकेटमा गएर ओलीले पार्टी एकतालाई भंग गर्ने दिशामा लैजान खोजे : माधव नेपाल
काठमाडौं, ७ असार : पूर्वप्रधानमन्त्री एंव नेकपा (एमाले) का वरिष्ठ नेता माधव नेपालले अध्यक्ष केपी ओली पार्टी एकता भंग गर्न दिशामा अघि बढेको दाबी गरेका छन् । कर्णाली प्रदेशका संसद्हरुमाथि विधान विपरित गरिएको कारबाहीलाई अदालतले उल्टयाएपछि फेरि भ्याकेटमा जाने ओली पक्षको निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट भएको नेता नेपालको आरोप छ ।
नेता वरिष्ठ नेपालले फेसबुक मार्फत भनेका छन्, ‘स्थायी कमिटीका नेतामाथि कथित कारबाही, फेरि उहाँहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो ।’
सर्वोच्च अदालतले गत २७ जेठमा एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीलाई वैधता दिन अस्वीकार गदैे दिएको अन्तरिम आदेशमा अध्यक्ष ओलीले आइतबार पुनरावेदन निवेदन (भ्याकेट) दर्ता गराएका छन् । सर्वोच्चले दशौँ महाधिवेशन आयोजक कमिटीको निर्णय वैद्य हुन नसक्ने भन्दै कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेर माओवादी केन्द्रका मुख्यमन्त्रीलाई विश्वासको मत दिने सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीमाथिको कारबाही खारेज गरेको थियो ।
भ्याकेट दर्तासँगै पार्टी एकताका लागि वार्तामा रहेका वरिष्ठ नेता नेपाल समूहका नेताहरु पनि समेत असन्तुष्ट बनेका छन् । वरिष्ठ नेता नेपालले असल नियतका साथ पार्टी एकताका लागि गरिएका वार्ता र संवादलाई अध्यक्ष ओलीले रणनीतिको रुपमा प्रयोग गरेको बताएका छन् । भनेका छन्, ‘सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपंथी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्धको कुन रूपमा लागेको छ ( सहजै देख्न सकिन्छ।असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र सम्वादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरु र एकता विरोधी तत्वहरूसंग सावधान हुन सबैको ध्यानाकर्षण गराउँछु ।’
बार एसोसिएसनका उपाध्यक्षसमेत रहेका अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले आइतबार एमाले अध्यक्ष ओलीको तर्फबाट पार्टीका तर्फबाट केन्द्रीय समिति नै महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण भएको जिकिरसहित सर्वोच्चको आदेश बदरको माग गर्दै निवेदन दर्ता गराएका छन् ।