शेरबहादुरलाई सत्ता सुम्पने कुरा एमालेजनले सोच्ने कुरा नै होइन : शंकर पोखरेल

‘सहमति भएमा भ्याकेटको औचित्य नै रहँदैन’


८ असार २०७८, मंगलवार
shankar Pokheral

काठमाडौं, ८ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीको पक्षले अदालतको आदेशविरुद्ध भ्याकेट (पुनरावलोकन) गराउने निर्णय पार्टीको एकताविरोधी भनेपछि ओली पक्षीय नेता शंकर पोखरेलले जवाफ दिएका छन् ।

सोमबार राति नेता नेपालले सामाजिक सञ्जालमार्फत पार्टी (ओली पक्ष) बाट बर्खास्त कर्णाली प्रदेशका एमाले सांसदको पद पुनःस्थापना गर्ने सर्वाेच्च अदालतले अन्तरिम आदेशविरुद्ध पुनरावलोकन निवेदन दिने निर्णय एकताविरोधी रहेको प्रतिक्रिया दिएपछि लुम्बिनी प्रदेशमा मुख्यमन्त्री समेत रहेका पोखरेलले सहमति भएमा भ्याकेटको औचित्य नै नरहेको बताएका छन् ।

‘सहमति भएमा भ्याकेटको औचित्य नै रहँदैन । शेरबहादुरलाई सत्ता सुम्पने कुरा एमालेजनले सोच्ने कुरा नै होइन,’ पोखरेलले पनि सामाजिक सञ्जालमा लेखेका छन्, ‘पुरानो कुरा बिर्सेर एकताको बाटोमा हिडौं । भविष्य एकतामै छ ।’
यस्तो छ वरिष्ठ नेताको भनाई
कर्णाली प्रदेशका सांसद एवम् पार्टीका नेताहरूमाथि विधानविपरीत गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ । स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरूसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रूपमा लिएको जस्तो देखियो ।

सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपंथी तत्त्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्धको कुन रूपमा लागेको छ– सहजै देख्न सकिन्छ । असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र संवादलाई रणनीतिका रूपमा प्रयोग गर्नेहरू र एकताविरोधी तत्वहरूसँग सावधान हुन सबैको ध्यानाकर्षण गर्न चाहन्छु ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७