बस्तीको भौगर्भिक अध्ययन हुनुपर्ने पहिरोपीडितको माग


८ असार २०७८, मंगलवार
ishma pahiro 1

गुल्मी, ८ असार । मनसुन शुरु भएसँगै गुल्मीका विभिन्न स्थानमा पहिरो गएको छ । पहिरोका कारण कतिपय ठाउँमा यातायात सेवा नै अवरुद्ध भएका छन् भने कतिपय ठाउँमा बस्ती नै बस्न नमिल्ने गरी जमिन भासिएका छन् ।

गुल्मीको रेसुङ्गा नगरपालिका–७ वेदुखर्कमा असार १ गते पहिरो गयो । पहिरोले दुई घरमा ठूलो क्षति गर्‍यो । अझै पनि पहिरो गएकाले घरमा जान सक्ने अवस्था छैन । पहिरोका कारण वेदुखर्कमा १५ घर विस्थापित भए । अझै पाँच घर पहिरोको उच्च जोखिममा छन् ।
विस्थापित भएका तथा जोखिममा रहेका परिवारले आफूहरु बस्दै आएको बस्ती बासस्थानका लागि उपयुक्त छ वा छैन, त्यसका लागि यहाँको भौगर्भिक अध्ययन हुनुपर्ने माग गरेका छन् । यसका साथै उनीहरुले राहत प्याकेजसहित कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेका छन् ।

‘ठूलो वर्षा हुँदा सडकको नाली पुरिएको थियो, केहीबेरपछि एक्कासी पहिरो गयो’, वेदुखर्ककी लक्ष्मी कुँवरले भनिन्, ‘पहिरोले घर पुरिएपछि हामी घरभित्रै थुनियौँ ।’ वेदुखर्कमा पहिरो जानु पहिलेदेखिकै समस्या हो । पक्की घर भए पनि वर्षायाममा निदाउन नपाउनु यहाँको पुरानै समस्या हो ।

वर्षौदेखि पहिरोको समस्या खेप्दै आएका उनीहरुले यो बस्ती बासस्थानका लागि उपयुक्त छ वा छैन, त्यसका लागि यहाँको भौगर्भिक अध्ययन गरिदिन सरकारसँग आग्रह गरेका छन् । भौगर्भिक बनावटको अध्ययन बिना नै जथाभावी सडक निर्माण गर्दा पहिरोको समस्या देखिएको स्थानीयवासी अर्पण कुवँरको भनाइ छ । आफूहरु विकास विरोधी नभएको तर सडक खन्दा र बस्ती बसाउँदा भौगर्भिक अध्ययन गरेको भए यो समस्या वर्षेनी नदोहोरिने उनको बुझाइ छ ।

वेदुखर्कमा पहिरो जाँदा घर च्यापिने र बस्ती विस्थापित हुने मात्र होइन्, यहाँका विद्यार्थीसमेत पढाइबाट वञ्चित हुनुपर्ने अवस्था छ । महेन्द्र नमूना माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत विपना कुँवरको बिहान र साँझ गरी चार विषयको अनलाइन कक्षा सञ्चालन हुन्छ । तर, आफू बस्ने घर नै पहिरोले च्यापेपछि उनले पढ्न पनि पाएको छैन ।

बेदुखर्कको बस्तीमा तीनवटा महत्वपूर्ण सडक छन् । एउटा बस्तीको बीच भागबाट नै तम्घास–सन्धिखर्क जाने, दोस्रो बस्तीभन्दा करिब ५० मिटर तलबाट तम्घासदेखि नयाँगाउँ–पिपलधारा हुँदै ढोरपाटन जोड्ने र तेस्रो बस्तीभन्दा करिब १० मिटर माथिबाट अर्जुन डाँडा जोड्ने सडक । पहिरोले तम्घास सन्धिखर्क जोड्ने र तम्घास–नयाँगाउँ जाने सडक अवरुद्ध बनाएको थियो । दुवै सडक मानव बस्तीका हिसाबले जोखिमयुक्त छन् । ठूला–ठूला मेसिन प्रयोग गरेर बिना अध्ययन बाटो मर्मत गर्दा जोखिम बढेको स्थानीयबासीको भनाइ छ ।

आफू मात्र नभएर सिङ्गो बस्ती नै विस्थापित भएकाले यो स्थानमा बस्ती बस्न मिल्ने/नमिल्नेबारे भौगर्भिक अध्ययन हुनुपर्ने लक्ष्मीको भनाइ छ । वर्षायाम आउनसाथ वर्षेनी यस्तै समस्या देखिने भएकाले आफूहरुको उचित व्यवस्थापन गर्नुपर्ने माग उनको छ । असारे विकासको नाममा जथाभावी सडक निर्माण गर्नु र गुणस्तरहीन काम गर्नुजस्ता कारणले पनि आफूहरुको बस्ती जोखिममा परेको लक्ष्मीको भनाइ छ ।

स्थानीयवासी पद्म विष्टको घर तीनवटा सडकको बीचमा पर्छ । ती सडकका कारण उनले घर छोड्न बाध्य भएका छन् । २०७२ सालमा सडकको स्तरोन्नती गर्दा घरभन्दा करिब ५० मिटर तलबाट लोहोनी एण्ड ब्रदर्श कम्पनीले घर नै जोखिममा हुनेगरी ढुङ्गा निकाल्यो । त्यसबेलादेखि उहाँको घर तलबाट पहिरो जाने क्रम अझै रोकिएको छैन । घरको आँगनबाटै निर्माण भइरहेको तम्घास सन्धिखर्क सडकको नालीमा गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग गर्दा पानी तल झर्छ ।

फलस्वरुप उहाँलगायत वरिपरिका परिवारले घर छाड्न बाध्य भएका छन् । घरमुनिको सडकमा पर्खाल लगाई जोखिम कम गर्न चार वर्षदेखि लागि परे पनि अझैसम्म कतैबाट पहल नभएको उनको गुनासो छ । गत वर्ष पहिरो जाँदा बस्ती नै बस्न हुने/नहुनेबारे अध्ययन गर्न सरकारसँग अनुरोध गरेपनि अहिलेसम्म पहल नभएको सोही ठाउँका पोम नारायण सुवेदीको भनाइ छ ।

रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले बस्ती बसेको जमिन कमजोर बन्दै गएकाले त्यसको अध्ययनका लागि भूगर्भविद् ल्याउने विषयमा आफूले पहल गर्ने बताए । वर्षायाम सकिएलगत्तै सो ठाउँको भौगर्भिक अध्ययनका लागि आफूले पहल गर्ने गुल्मीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको भनाइ छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७