गरिब देशहरूमा खोपको चरम अभाव : डब्ल्यूएचओ


८ असार २०७८, मंगलवार
korona khop 1 1

काठमाडौं, ८ असार । विश्वव्यापी साझेदारी कार्यक्रम मार्फत कोभिड–१९ विरुद्धको खोप प्राप्त गरिरहेका ठूलो संख्याका गरिब देशहरूसँग आफ्नो खोप कार्यक्रमलाई निरन्तरता दिने गरी पर्याप्त मात्रामा खोप नरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

डब्ल्यूएचओका वरिष्ठ सल्लाहकार डाक्टर ब्रुस एलवर्डले कोभ्याक्स कार्यक्रम मार्फत ९ करोड खोप १ सय ३१ वटा देशमा वितरण भएको बताए । तर उनले विश्वभर फैलिरहेको भाइरसबाट मानिसहरूलाई संरक्षण गर्न उक्त संख्या अपर्याप्त रहेको बताए । अफ्रिकाका देशहरूमा सङ्क्रमणको तेस्रो लहर देखा पर्दा खोपको अभावका विवरण आएका हुन् ।

सोमवार दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले धनी देशहरूले खोपलाई जम्मा गरेर राख्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका थिए । महादेश स्तरको कुरा गर्दा हालसम्म अफ्रिकामा ४ करोड मानिसहरूलाई मात्र खोप दिइएको छ जुन त्यहाँको जनसंख्याको दुई प्रतिशतभन्दा कम भएको रामापोसाको भनाइ छ ।

यसलाई सम्बोधन गर्न दक्षिण अफ्रिकामा नै थप खोपहरू उत्पादन गर्ने हिसाबमा आफ्नो सरकारले काम गरिरहेको उनले बताए । अघिल्लो वर्ष धनी देशहरूले गरिब देशहरूलाई खोपको मूल्यमा छुट सुनिश्चित गर्ने सहितको प्रतिबद्धता जनाएपछि विश्वभर खोपको पहुँच पु¥याउन कोभ्याक्स अभियान थालिएको थियो ।

डब्ल्यूएचओको नेतृत्वमा अरू सङ्गठनहरू पनि सहभागी रहेको उक्त अभियानले सन् २०२१ भित्र दुई अर्ब मात्रा खोप उपलब्ध गराउने लक्ष्य लिएको थियो । त्यस मध्ये अधिकांश गरिब देशहरूलाई चन्दा दिइने भनिएको थियो र ती देशमा कम्तीमा करिब २० प्रतिशत जनसंख्यालाई खोप उपलब्ध गराउने अपेक्षा कोभ्याक्सको छ ।

खोपको वितरण उत्पादनमा भइरहेका ढिलाइ र आपूर्तिको अवरोधले प्रभावित भइरहेको छ जसले कोभ्याक्समा मात्रै निर्भर देशहरूमा सङ्कट निम्त्याएको छ । युगान्डा, जिम्बाब्वे, बाङ्ग्लादेश र ट्रिनिडाड एण्ड टोबागो हालैका दिनमा खोपको अभाव सामना गर्ने केही देशहरू हुन् ।

डब्ल्यूएचओले जिनिभामा गरेको ब्रिफिङ्मा सोमवार डाक्टर एलवर्डले अहिले देखिएको खोपको अभाव गम्भीर रहेको बताए । उनले कोभ्याक्समा ८० न्यून आय भएका देशहरू आबद्ध रहेको जानकारी दिँदै उनले कम्तीमा आधा देशहरू आफ्नो खोप कार्यक्रमलाई निरन्तरता दिने अवस्थामा नरहेको बताए ।

उनले कतिपय देशहरूले अभावसँग जुझ्न बजार मूल्यभन्दा बढीमा खोपको खरिद् जस्ता कठिन विकल्प रोजिरहेको उल्लेख गरे । खोपको आपूर्तिमा असहजता देखिएसँगै कतिपय धनी देशहरूले आफूलाई बढी भएको खोपको मात्रा कोभ्याक्स र अरू माध्यमबाट वितरण गर्ने प्रयास अघि बढाउन थालेको देखिन्छ । सोमवार अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले ५ करोड ५० लाख खोप वितरणको योजनाबारे घोषणा गरेको छ । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७