ओली नै प्रधानमन्त्री बन्नु पर्छ भन्ने मनोविज्ञान राष्ट्रपतिमा देखियो : अधिवक्ता बन्दी


९ असार २०७८, बुधबार
Govinda bandi

काठमाडौं, ९ असार । अधिवक्ता गोविन्द बन्दीले प्रधानमन्त्रीमा जसरी पनि केपी शर्मा ओलीलाई नै नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले भूमिका खेलेको बताएका छन् । १४९ सांसदले हस्ताक्षर लिएर प्रधानमन्त्रीमा शेरबहादुर देउवाको नाम प्रस्ताव गर्दा पनि राष्ट्रपतिले नियुक्त नगरेको भन्दै उनले भने, ‘राष्ट्रपतिमा ओली नै प्रधानमन्त्री चाहिन्छ भन्ने मनोविज्ञान देखियो ।’

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा बुधबार बन्दीले संवैधानिक इजलासमा राष्ट्रपतिको मनोविज्ञान सरकार गठनका सबै व्यवस्थाअनुसार ओलीलाई मात्रै प्रधानमन्त्री नियुक्त गर्ने रहेको बताए । ‘राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (१), धारा ७६ (२), धारा ७६ (३) र धारा ७६ (५) बमोजिमको प्रधानमन्त्री केपी ओली नै बन्नु पर्छ भन्ने मनोविज्ञानबाट काम गरेको देखियो,’ बन्दीले भने ।

संविधानबमोजिम नियुक्त राष्ट्रपतिलाई संविधानले दिएभन्दा बढी प्रयोग गर्ने अधिकार नरहेको पनि बन्दीको भनाइ थियो । सर्वोच्च अदालतले प्रधानमन्त्रीमा ओलीले फेरि दाबी गर्ने अधिकार राख्छन् कि राख्दैनन् भन्ने कुराको निर्क्योल गर्नुपर्ने, प्रतिनिधिसभाको विश्वास गुमाएको प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्छ कि सक्दैन भन्नेलगायत प्रश्नको निरूपण गर्नुपर्ने बन्दीको माग थियो ।

सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन सम्बन्धी रिटमाथि बहस जारी छ । उनले विश्वासको मत प्राप्त गर्न नसकेको प्रधानमन्त्रीले फेरि प्रधानमन्त्रीमा दाबी गर्न नमिल्ने तर्क गरेका छन् । ‘कन्फिडेन्स लुज गरेको प्रधानमन्त्रीले फेरि दाबी गर्न मिल्दैन । जसले कन्फिडेन्स लुज गरेको छ, फेरि त्यही व्यक्तिले मलाई प्रधानमन्त्री बनाउनु पर्‍यो भन्न मिल्छ श्रीमान् ?’, बन्दीको प्रश्न थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७