सम्पादकहरूसँगको अन्तरक्रियामा शीर्ष नेताहरूले भने, ‘संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन’


११ असार २०७८, शुक्रबार

काठमाडौं, ११ असार । प्रधानमन्त्री केपी ओलीले ‘जताततै हस्तक्षेप गर्ने, दबाब र धम्की दिने तथा संकीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अंगीकार गरेका कारण राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको’ निष्कर्षमा पुगेका विपक्षी दलका शीर्ष नेताहरूले नेपाली जनताको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरू गुम्न नदिन विपक्षी गठबन्धन बनाएको बताएका छन् ।

बिहीबार सम्पादकहरूसँगको अन्तरक्रियामा शीर्ष नेताहरूले नेपालको संविधान, लोकतन्त्र, राष्ट्रियता र अहिलेको व्यवस्था बचाइराख्न गठबन्धन गरेको दाबी गरेका छन् ।

बानेश्वरस्थित संघीय संसद् भवनमा सम्पादकहरूका कुरा सुनिसकेपछि गठबन्धनका शीर्ष नेताहरूले पाँच दलको गठबन्धन प्रधानमन्त्री पद र चुनाव जित्नकै लागि मात्रै नभएको दाबी गरे । उनीहरूले गठबन्धन दीर्घकालसम्म जाने समेत संकेत गरे । संसद् विघटनविरुद्धको मुद्दामा नियमित सुनुवाइ सुरु भएको अर्को दिन गठबन्धनका शीर्ष नेताहरूले सम्पादकहरूसँग अन्तर्संवाद गरेका हुन् । नेताहरूको निसानामा प्रधानमन्त्री ओली थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय हितको संरक्षण, नेपालको संविधान, लोकतन्त्र, संसद्को रक्षा तथा जनतालाई महामारी एवं प्राकृतिक विपत्तिबाट जोगाउने उद्देश्यका साथ पाँच राजनीतिक दलको संयुक्त मोर्चाबन्दी भएको बताए । लिखित भाषण गरेका देउवाले गठबन्धनले मुलुकमा राजनीतिक अस्थिरता र अन्योल समाप्त गरी जनताको लामो र कठोर संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्ने संकल्पका साथ राजनीतिक र कानुनी संघर्ष थालेको बताए ।

नेपालको संविधान आज प्रधानमन्त्री केपी ओलीको शासकीय अहंकार, स्वेच्छाचारी निर्णय र कामका कारण संकटमा छ । उहाँले असंवैधानिक रूपमा दुई–दुईपटक प्रतिनिधिसभाको विघटन गर्नुभएको छ,’ देउवाले भनेका छन्, ‘अध्यादेशमार्फत शासन सञ्चालन गर्ने, स्वतन्त्र न्यायालय तथा संवैधानिक निकायलगायत राज्य संयन्त्रहरूमाथि नियन्त्रण गर्नेजस्ता गैरजिम्मेवार कार्यहरू भएका छन् ।’

उनले सरकारका कतिपय अलोकतान्त्रिक कार्यहरू अदालतले रोकेको भन्दै गठबन्धनले राष्ट्रिय स्वार्थ र जनताको हितलाई सर्वोपरी राखेर संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन, सामाजिक न्याय, समावेशी लोकतन्त्र, कानुनी शासन र समृद्धिलाई साझा गन्तव्यका रूपमा लिएको बताए । ‘राष्ट्रिय हितमा आँच पुग्ने किसिमका कार्यहरू भएका छन् । लोकतान्त्रिक प्रणाली र देशलाई नै संकटतर्फ धकेल्ने कार्य भएको छ । यो चुनौती पार गरेर सहज संवैधानिक र राजनीतिक प्रक्रियामा अग्रसर हुन मुलुकमा नवीन संघर्ष जारी छ, त्यसका लागि यो संघर्ष र अभिभारा साझा अपनत्व र कर्तव्यको विषय हो,’ उनले भने ।

देउवाले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोबाट मध्यरातमा असंवैधानिक रूपमा गरिएको प्रतिनिधिसभाको विघटनले लोकतन्त्रमाथि नै खतरा उत्पन्न गरेको बताए । ‘प्रतिनिधिसभाका बहुमत एक सय ४९ सदस्यको हस्ताक्षरसहित राष्ट्रपतिको आह्वानअनुसार हामीले प्रधानमन्त्रीका लागि दाबीसहित पेस गरेको आवेदनलाई स्वेच्छाचारी किसिमले अस्वीकर गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रहार भएको छ,’ उनले भनेका छन् ।

देउवाले निरंकुशताविरुद्ध लोकतन्त्रको पक्षमा उठ्न र सबै किसिमका षड्यन्त्र चिर्दै संविधान रक्षामा जुट्न आह्वान गरे । उनले सबै राजनीतिक दलहरू, सञ्चारमाध्यम, विभिन्न पेसा, वर्ग, समुदाय, नागरिक समाज, लेखक र श्रमजीवीका बीच बृहत्तर सहकार्य आवश्यक रहेको बताए ।

अन्तरक्रियामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षा र समयानुकूल परिमार्जन, लोकतन्त्रका न्यूनतम मूल्यमान्यताको रक्षा र राष्ट्रियताकोे रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको बताए ।

‘गठबन्धन प्रधानमन्त्री हुनकै लागि मात्रै भएको खेल हो भन्ने बुझाइ हुन सक्छ । सामाजिक सञ्जालमा त्यस्तो चर्चा पनि भइरहेको छ । तर, त्यस्तो होइन,’ प्रचण्डले गठबन्धनका आधारबारे स्पष्ट पार्दै भने, ‘अहिले संविधान, लोकतन्त्र र राष्ट्रियताको हितमा उभिने र नउभिनेबीचको लडाइँ हो । यो व्यवस्था बचाउने वा नबचाउने भन्नेबीचको लडाइँ हो । यसलाई त्यही रूपमा बुझ्नुपर्छ भन्ने राम्रो समझदारीपछि मात्रै गठबन्धन अघि बढेको छ ।’

प्रचण्डले विपक्षी गठबन्धन अवसरवादी नभई लोकतन्त्रवादी र वामपन्थीहरूको मोर्चा भएको दाबी गरे । ‘प्रधानमन्त्री केपी ओलीको बहिर्गमन र चुनावका लागि मात्रै होइन, दिगो रूपमा संविधान, लोकतन्त्र र यो व्यवस्थाको रक्षाका लागि हुनुपर्छ भनेर हामीहरूबीच समझदारी छ,’ उनले अघि भने, ‘गठबन्धनका पछाडि ऐतिहासिक आधार र तथ्यहरू छन् ।’

उनले शान्तिसम्झौता र लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको कांग्रेस, एमालेका माधवकुमार नेपाल र आफूबीचको सम्बन्धले गठबन्धनका लागि ऐतिहासिक आधार तय गरेको बताए । ‘हामीहरू १२ बुँदे समझदारीदेखि अहिलेको यो परिवर्तनका लागि भूमिका खेल्ने शक्तिहरू हौँ, त्यसैले हाम्रो गठबन्धनको ऐतिहासिक आधार छ,’ उनले भने ।

प्रचण्डले ओलीको निरंकुशताका विरुद्ध ०४६ र ०६२÷६३ को जनआन्दोलनमा झैं लोकतन्त्रवादी र वामपन्थी शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकताले गठबन्धन अघि बढेको बताए । उनले ओली राष्ट्रका लागि भिलेन हो भनेर जनताले थाहा पाइसकेको समेत बताए ।

सम्पादकहरूसँग आग्रह गर्दै भने, ‘हामी राष्ट्रको हितमा, जनताको हितमा, संविधान र लोकतन्त्रको हितमा लड्छौँ । राष्ट्र र लोकतन्त्रका निम्ति जहाँ जानुपर्छ, जान्छौँ भनिरहेका छौँ । त्यसका लागि तपाईंहरूसँग पनि राम्रो समझदारी र विश्वासको वातावरण बनोस् भन्ने चाहना हो ।’

उनले गठबन्धनसम्बद्ध एमालेको माधवकुमार नेपाल समूह र जसपाको उपेन्द्र यादव समूहलाई पार्टीभित्रको संघर्षमा समेत सहयोग पु¥याउने गरी गठबन्धनभित्र समझदारी रहेको उनको बताए ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले देशमा रहेका सबै शक्तिबीच हातेमालो गरेर अघि बढ्न गठबन्धनमा एकबद्ध भएको बताए । उनले ओली सुध्रिएर आए अझै पनि स्वागत गर्न सकिने बताएका थिए । ‘मानिस हौं, कहिलेकाहीं गल्ती हुन्छ, गल्तीलाई स्वीकार गरेर फेरि कोर्स करेक्सन गरेर आउनुहुन्छ भने फेरि पनि केपी ओलीजीलाई स्वागत नै गर्नुपर्छ, कसो शेरबहादुरजी ?’ सम्बोधनका क्रममा देउवातिर हेर्दै नेपालले भनेका थिए ।

‘कोर्स करेक्सन गरेर म ठाउँ छोडिदिन्छु, राजीनामा दिन्छु, भइगो देशको परिवर्तन अहिलेसम्म राष्ट्रवादीहरूले नै गरेका छन्, अरूसँग साँठगाँठ गरेर पार लाग्दैन भनेछन् भने हामी स्वागत गर्छौँ । तर, कसैले पनि मुलुकलाई पछाडि लिएर जाने सोच बनाएको छ भने त्यो किमार्थ हुन दिँदैनौं,’ उनले भने । उनले ओलीको अहंकारले अहिलेको परिस्थिति सिर्जना भएको बताए ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा भएका असंवैधानिक कार्यका विरुद्ध संविधान, लोकतन्त्र र संसदीय अभ्यासको रक्षाका लागि गठबन्धन अघि बढेको बताए । ‘हामीले एक सय ४९ को हस्ताक्षर बुझाएका थियौं । यस्तो अवस्थामा प्रधानमन्त्री देउवाजी हुनुपर्ने हो । तर, ओलीकै निरन्तरता भयो । कि त राष्ट्रपतिले भन्नुप¥योे कि म प्रधानमन्त्रीमा ओली बाहेक अरूलाई देख्न चाहन्नँ, नभए यस्तो असंवैधानिक काम हुनुहुँदैन भन्ने हाम्रो मत हो । त्यसैले यसरी लोकतन्त्र, संविधान र संसदीय अभ्यासको रक्षाका लागि हामी गठबन्धनमा छौँ ।’

उनले एउटै संसद्लाई एउटै प्रधानमन्त्रीले दुई–दुईपटक विघटन गर्ने संसदीय इतिहासकै पहिलो घटना होला भन्दै टिप्पणी गरे । ‘संविधानविपरीत काम गरेपछि प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने हो । तर, उहाँले त राजीनामा होइन, बरु दोस्रोपटक प्रतिनिधिसभा विघटन गर्नुभएको छ,’ यादवले भने, ‘सायद संसदीय इतिहासमा एउटै संसद्लाई एउटै प्रधानमन्त्रीले दुई–दुईपटक विघटन गरेको यो नै पहिलो घटना हो ।’

एकपटक विश्वासको मत गुमाइसकेको व्यक्ति पुनः प्रधानमन्त्री बन्न नपाउने उनको तर्क छ । उनले चुनावी फाइदाका लागि मात्रै गठबन्धन नबनेको बताए । ‘हाम्रो उद्देश्य चुनाव जित्ने होइन, संविधान र लोकतन्त्रको रक्षाका लागि मोर्चाबन्दी हो । किनकि यहाँ प्रधानमन्त्रीको मनपरी चल्यो, यसका विरुद्ध त मोर्चाबन्दी हुनैप¥यो,’ उनले भने ।

अन्तर्राष्ट्रिय समुदायमाझ स्वतन्त्र परराष्ट्र नीति
विपक्षी गठबन्धनका नेताहरूले स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने साझा अभिव्यक्ति दिएका छन् । यसअघि गठबन्धनमा समेत संलग्न रहेका पाँच पूर्व प्रधानमन्त्रीले नेपालका विषयमा नेपालीले नै निर्णय गर्न पाउनुपर्ने अभिव्यक्ति दिएका थिए ।

कांग्रेस सभापति देउवाले आफूहरूले संविधानमा उल्लेखित राष्ट्रिय हितमा आधारित भएर मात्रै अन्तर्राष्ट्रिय समुदायसँग स्वतन्त्र परराष्ट्र नीतिको आधारमा सुमधुर सम्बन्ध कायम गर्न चाहेको बताए । ‘हामी नेपालको गौरव र स्वाभिमानलाई ध्यानमा राख्दै नेपालको बारेमा नेपालीहरूले नै निर्णय गर्ने कुरामा अटल विश्वासका साथ बदलिँदो विश्वपरिवेशमा राष्ट्रिय हितको रक्षा लोकतान्त्रिक प्रणालीका आधारमा गर्नुपर्दछ भन्ने मान्यता राख्दछौँ,’ उनले भने ।

प्रचण्डले पाँच पूर्व प्रधानमन्त्रीले मुलुकको गम्भीर अवस्थालाई मनन गरेरै विज्ञप्ति जारी गरेको बताए । ‘हामीले नेपालको बारेमा नेपालीले नै निर्णय गर्नुपर्छ भनेका थियौँ । यहाँ कुनै किसिमको विदेशी चलखेल हुन नपाओस् भनेर गरिएको हो । परिस्थिति गम्भीर नभई यस्तो गरिएको होइन,’ उनले भने, ‘पाँचजना पूर्व प्रधानमन्त्रीले स्थितिलाई जनतामा जानकारी नगराउने हो भने कसले गर्छ, प्रभावकारी अपिल कहाँबाट हुन सक्छ भन्दा हामीले हाम्रो जिम्मेवारी हो भन्ने ठान्यौँ । हाम्रोभित्र अनावश्यक चलखेल हामीलाई मान्य छैन भनेर सन्देश दिएका हौँ ।’

सबै नेतालाई उस्तै भन्दा प्रचण्डको गुनासो
प्रचण्डले सबै नेतालाई उस्तै भनेर एउटै तराजुमा हाल्न नमिल्ने गुनासो गरे । ‘केपी ओलीले बयलगाडाको सिद्धान्त प्रतिवादन गर्दै गर्दा माधव नेपाल झन्डा उठाएर लोकतन्त्रको आन्दोलनमा थिए । प्रधानमन्त्रीमाथि थोरै प्रश्न उठ्ने बित्तिकै सजिलै पद त्याग्ने म प्रचण्ड र प्रधानमन्त्री त्याग्नुभन्दा देशै उडाइदिन्छु भन्ने केपी ओली उस्तै–उस्तै हो भनेर कसरी भन्न मिल्छ ?’ उनले प्रश्न गर्दै भने, ‘तपाईंहरू विचार गर्नुस् कसरी उस्तै–उस्तै हुन्छ ?’

उनले प्रधानमन्त्री पद छाड्नुभन्दा जस्तोसुकै काम र सहमति गर्न पनि तयार हुने ओलीलाई आफूहरूसँग तुलना नगर्न आग्रह गरे । ‘संविधान बनाएर घोषणा गर्ने प्रवृत्तिका पात्र र यो संविधान सिध्याउन खोज्ने पात्र कसरी उस्तै–उस्तै हुन सक्छन् ?’ प्रचण्डले प्रधानमन्त्री ओलीप्रति लक्षित गर्दै भने, ‘प्रधानमन्त्री पद छाड्नुभन्दा लोकतन्त्र भाँडमा जाओस्, संविधान ध्वस्त भए नि होस्, दलालहरूलाई मन्त्रिमण्डलमा राखेर भए पनि चलाउँछु भन्नु कसरी उस्तै हो ?’

उनले नेताहरू सबै उस्तै–उस्तै हुन् भन्ने गलत सन्देश देशैभरि पुग्यो भने निकै ठूलो राजनीतिक शून्यता सिर्जना हुने सक्ने बताए । ‘त्यस्तो सन्देश गयो भने जनतामा निराशा आउन सक्छ । त्यसले लोकतन्त्र मात्रै होइन, देशकै भाग्य र भविष्यलाई खतरामा पार्न सक्छ । त्यो बुझिदिनुहोला,’ उनले भने ।

सो क्रममा प्रचण्डले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग २४ जेठमा भएको फोनवार्तामा भएका कुरा पनि सुनाए । ‘मलाई उहाँले फोन गर्नुभयो र वामपन्थीको सरकार सिध्याउने, कांग्रेससँग मिलेर सरकार बनाउनेमा पुग्नुभयो होइन भनेर सोध्नुभयो,’ प्रचण्डले भने, ‘मैले जवाफमा कांग्रेस त अहिले तपाईंभन्दा सयौं गुणा वामपन्थी, लोकतन्त्रवादी, क्रान्तिकारी भएर आयो । गर्नुहुन्छ के ? मैले भनेको ठ्याक्कै यही हो । कांग्रेस संविधानको रक्षा गर्ने भनेर अडिएको छ, तपाईं संविधान सिध्याउन हिँड्नु भएको छ । कांग्रेसले लोकतन्त्रको रक्षा गर्ने भनेको छ, तपाईं लोकतन्त्र सिध्याउन हिँड्नु भएको छ ।’

उनले आफूले ओलीलाई वामपन्थी होइन भनेरसमेत सुनाएको बताए । ‘कांग्रेसले तपाईं विदेशीको टाङमुनि छिर्‍यो भन्छ, तपाईं टाङमुनि छिर्नु भएकै छ । छिरेको मात्र होइन, पूरै आत्मसमर्पण गरेर पूरै दलालहरूलाई ल्याउन थाल्नुभएको छ । अनि कांग्रेसचाहिँ दक्षिणपन्थी, तपाईंचाहिँ वामपन्थी कहाँनेर हुनुभयो ? प्रमाणित गर्नुस्,’ ओलीलाई आफूले प्रश्न गरेको प्रचण्डले सुनाए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७