प्राकृतिक वासस्थान गुमाउँदै गएपछि आहार खोज्न घरभित्रै पस्यो हात्ती


११ असार २०७८, शुक्रबार
elephant bashes into home 123 11624584476

बैंकक, ११ असार । थाइल्याण्डमा एक घरमा मध्यरातमा जङ्गली हात्ती छिरेपछि तहल्का मच्चिएको छ । आफ्नो घरमा आत्ती परेपछि महिला भन्छिन्, ‘हामी सुतिरहेका थियौं अचानक भान्छाबाट आवाज आएर ब्युझियौं ।’

पश्चिमी प्रचोप खिरी खान प्रान्तकी वासिन्दा रेचदवानले थप भनेकी छन्, ‘यसपछि हामी आत्तिदै तल झर्‍यौं । त्यहाँ हेर्दा त भान्छाको भित्ता फोडेर हात्ती पो छिरेको रहेछ ।’ यो उनका लागि पहिलो घटना भने होइन । अघिल्लो महिना पनि यसैगरी हात्तीले उनको भान्छा फोडेर टाउको छिराउन खोज्दा त्यहाँ प्वाल परेको थियो ।

त्यो क्षतिको मर्मत गर्न नपाउँदै अर्को हात्तीले भित्र पस्ने प्रयास गरेको उनले बताइन् । उनले यस घटनाको भिडियो पनि लिएकी छिन्, जसमा हात्तीले भाँडाकुँडा राखेको दराज हुँदै भित्र टाउको छिराएर त्यहीं अड्किएर बसेको देख्न सकिन्छ । यसपछि त्यसले आफ्नो सुँडको प्रयोग गर्दै नजिकैको प्लास्टिकको झोला उठाएर मुखमा हालेको छ ।

उनी भन्छिन्, ‘मैले सानो छँदादेखि नै यो सहरमा हात्तीहरु जताततै घुम्ने गरेको देख्दै आएकी छु । तर, यसरी मेरै घरमा यति ठूलो क्षति पु¥याएको पहिलोपटक अनुभव गरेकी हुँ ।’ उनका अनुसार शनिबार त्यो हात्ती आउँदा उनको भान्छामा केही खानेकुरा थिएन तर त्यसले भित्र स्टोर गरि राखेको नुन चोर्ने प्रयास गरेको हुन सक्छ ।

राष्ट्रिय निकुञ्ज विभागका अनुसार त्यो हात्ती खानेकुराको गन्धकै कारण उनको भान्छासम्म पुगेको थियो । विभागले फेसबुकमा पोस्ट गर्दै यसबारे जानकारी गराएको हो, ‘हात्ती शाकाहारी जन्तु हो र उनीहरुलाई नुनिलो खानेकुराबाट आवश्यक ‘मिनरल्स’ तत्व प्राप्त हुने गर्दछ । त्यसैले उनीहरुले मिनरलको खोजी गरिरहेका हुन सक्छन् । यस सम्बन्धी हामीले स्थानीय वासिन्दाहरुलाई सचेत गराइरहेका छौं ।’

त्यसैगरी अर्को कारण ती महिलाको घर राष्ट्रिय निकुञ्जको प्रवेशद्वार नजिकै परेको हुनाले पनि हात्तीले उनको घरलाई लक्षित गरेको हुन सक्ने बताइएको छ । यस किसिमका घटना सो क्षेत्र वरपर धेरैपटक भएका छन् । विशेष गरी फलफूलको खेतीका समयमा हात्ती धेरै देखा पर्ने गरेको बताइएको छ । पछिल्ला केही दशकमा थाइल्यान्डमा मात्र नभइ भारतलगायत एसियाका विभिन्न भूभागमा हात्ती र मानवबीचको सम्पर्क बढेको पाइएको छ ।

मानव संरचना विस्तार भएसँगै हात्तीको प्राकृतिक वासस्थान नाश हुँदै जाँदा तिनीहरु कम क्षेत्रफलमा, सानो समूहमा अनि एकदमै कम र सीमित स्रोत साधनमा बाँच्न बाध्य हुन्छन् । यसकारण आहारको खोजीमा उनीहरु मानव वस्ती पस्ने गर्दछन् ।

यस घटनासम्बन्धी जर्नल प्लस वानमा लेखिएको छ, ‘थाइल्याण्डको भूगोल दीर्घकालीन हात्ती संरक्षणका निम्ति योग्य मानिए पनि पछिल्लो समय यो क्षेत्रमा कृषि, सडक विस्तार, भवनलगायत संरचना विकास हुनुले हात्तीहरुको वासस्थान विखंडन गराइदिएको छ र परिणाम स्वरुप हात्ती र मान्छेबीचको अन्तरक्रिया पनि वृद्धि भएको हो ।’

यसको अध्ययनमा सहभागी ४१ फल खेतीका मालिकहरुमा गरिएको सर्वेक्षणमा अधिकांशले आफ्नो अन्नबालीलाई हात्तीले महिनामा कम्तीमा एकपटक तहसनहस पार्ने गरेको बताएका छन् । त्यस्तै उनीहरुमध्ये आधाले यो दैनिकको घटना हुने गरेको समेत खुलासा गरेका छन् ।

उनीहरुको रिपोर्ट अनुसार हात्तीले फलका साथै पानीको पाइप र ट्यांकीमा पनि क्षति पुर्याउने गरेको छ । र, यो समस्याको कुनै पनि समाधानले काम नगरेको पनि अध्ययनमा उल्लेख छ । यसमा दीर्घलीन समाधान जस्तै : हात्तीको प्राकृतिक वासस्थान पुनः निर्माण गर्ने, जग्गा जमिनको उचित प्रयोग, हात्तीलाई आकर्षित नगेर्ने किसिमका अन्नबालीको छनोट लगायत सुझाव गरिएको छ ।

यस्तै किसिमका उपायहरु भारतमा पनि अपनाउन पहल हुँदै आएको छ । त्यहाँ हरेक वर्ष हात्तीले ५०० भन्दाबढी मान्छेको ज्यान लिने गरेको छ । यता चीनमा चाहिँ अहिले १५ हात्तीको एउटा समूह देशको दक्षिणपश्चिमतर्फ यात्रा गरिरहेको छ । हालसम्म ५०० किलोमिटर हिँडिसकेको छ । लाखौं मानिसले यस रोचक यात्रालाई प्रत्यक्ष प्रशारणमार्फत हेरिरहेका छन् । सीएनएन

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७