खानेपानी सुविधासँगै हट्यो सामाजिक द्वन्द्व


११ असार २०७८, शुक्रबार
dhara
फाइल फोटो

म्याग्दी, ११ असार । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीस्थित राममन्दिरमा खानेपानी सुविधासँगै सामाजिक द्वन्द्व हटेर शान्ति र मेलमिलाप कायम भएको छ ।

राम मन्दिरका सबै ७६ घरधुरीमा निजी धारा जडान गरेर खानेपानी वितरण भएको छ । गाउँपालिकाले सञ्चालन गरेको भगवतीका सबै घरमा निजी धारामार्फत खानेपानी सुविधा विस्तार गर्ने योजना पहिलो पटक राममन्दिरमा कार्यान्वयन भएको हो ।

घरघरमा जडित निजी धारामा नियमितरूपमा पर्याप्त मात्रामा खानेपानी आपूर्ति हुन थालेपछि पानीकै कारणले हुने सामाजिक द्वन्द्व हटेर मेलमिलाप र सद्भाव कायम गर्न सहयोग मिलेको राममन्दिर टोल विकास संस्थाका अध्यक्ष कृष्णध्वज कार्कीले बताए । ‘यसअघि सार्वजनिक धारा, कुवा, पँधेरा र खोल्साको पानी उपभोग गर्दै आएका थियौं । पानीको स्रोत कम हुँदा विवाद र झगडा हुने गरेको थियो । विवादले हैरान भएको थियो’, उनले भने, ‘घरघरका धारामा पानी आउन थालेपछि विवाद र झगडा हुन छाडेको छ ।’

रघुगङ्गाको रु ४९ लाख अनुदान सहयोग र स्थानीयवासीको रु १२ लाख बराबरको श्रमदानमा आयोजना निर्माण भएको हो । घट्टटोलको मुहानबाट ल्याइएको पानी दुई वटा छ हजार र दुई वटा पाँच हजार लिटर क्षमताका ट्याङ्कीमा सङ्कलन गरी आठ किलोमिटर पाइप लाइनमार्फत घरघरमा वितरण गरिएको छ ।

खानेपानीको पाइपलाइन निर्माण र धारा जडानका लागि उपभोक्ताले प्रतिघर सात दिनका दरले श्रमदान गरेका थिए । राममन्दिर, ओखरबोट, बिसौना, रानीचौतारी, च्युरीबोट, रोहोटेपानी, सिरुवारी र स्यानोघर टोलमा खानेपानी सुविधा भएको छ । आँगनकै धारामा सफा र शुद्ध पानी आउन थालेपछि सुविधासँगै समयको बचत भएको स्थानीयवासी घ्युकुमारी शाहीले बताइन् ।

‘धारामा जान र आउन ३० मिनेट लाग्थ्यो, खडेरीमा घण्टौं पालो कुरेर बस्नु पर्दा निकै दुःख थियो’, उनले भनिन्, ‘अहिले चाहिएको बेलामा आवश्यकतानुसार पानी उपभोग गर्न पाएका छौं । सरसफाइ सुधार र दैनिकी सहज भएको छ ।’ वडाध्यक्ष रिम कटुवालका अनुसार गाउँपालिकाले विसं २०७५ मा रु ५० लाख विनियोजन गरेर गौरवको आयोजनाका रूपमा करिब दुई हजार घरधुरीको बसोबास रहेको भगवतीमा निजी धारासहितको खानेपानी योजना शुरु गरेको थियो ।

‘पहिलो वर्ष सिजलगाउँ र देउपूर्णमा निर्माण गरिएको खानेपानी आयोजनालाई सुधार र व्यवस्थित गर्दैछौं’, उनले भने, ‘आगामी आर्थिक वर्षमा रिनिरौतारी, माझखर्क र चौरका सबै घरमा खानेपानी वितरण गर्न रु २५ लाख विनियोजन भएको छ । साझपानी, हटिया, मैदान र पखटोलमा प्रदेश सरकारले खानेपानी आयोजना निर्माण गरिरहेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७