कांग्रेसमा पौडेल पक्षमा पनि सभापतिका आधा दर्जन आकांक्षी, आज बैठक बस्दै


११ असार २०७८, शुक्रबार
Ramchandra Poudel

काठमाडौं, ११ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा चुनावी सरगर्मी दिनहुँ बढ्दो छ । १४ महाधिवेशनको मिति तय भएसँगै कांग्रेसका चुनावी माहौंल बढेको हो ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा आफू पक्षीय नेताहरुसँग आज (शुक्रबार) छलफल गर्दैछन् । आज दिउँसो २ बसुन्धरास्थित दियालो फुडल्याण्डमा पौडेल पक्षीय केन्द्रीय सदस्यहरुको बैठक बस्न लागेको हो ।

गत शनिबारयता सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले सभापतिको दाबेदारी प्रस्तुत गर्दै सक्रियता बढाएपछि पौडेलले पनि बैठक बोलाएका हुन् । विपक्षी गठबन्धनका शीर्ष नेता र सम्पादकसँगको अन्तक्रियाका कारण बिहीबार बस्ने भनिएको बैठक आज बस्न लागेको पौडेल पक्षका नेताहरुले जानकारी दिएका छन् ।

देउवा पक्षको सक्रियतापछि पौडेल पक्षमा पनि १४ औं महाधिवेशनको नेतृत्वको विषय टुङ्गो लगाउन बैठक राख्न पौडेललाई नेताहरुले दबाब दिएका थिए । पौडेल पक्षमा आधा दर्जन नेता सभापतिको आकांक्षी देखिएका छन् ।

वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह, शेखर कोइराला, सुजाता कोइराला, कल्याण गुरुङले सभापति उठ्ने बताइरहेका छन् । देउवाले आफू निकट सातै प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गरी सभापतिमा दोहोरिने बताइसकेका छन् । निधिले पनि संस्थापन इत्तर पक्षका नेताहरुसँग सोमबार छलफल गरी सभापतिमा सहयोग मागेका थिए ।

गत विहीबार–शुक्रबार बसेको केन्द्रीय समिति बैठकले आगामी भदौं १६–१९ गतेका लागि महाधिवेशनको मिति संशोधन गरेपछि कांग्रेसमा सभापतिका दाबेदारको सक्रियता बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७