कांग्रेस १४औं महाधिवेशन : सभापतिका आकांक्षी समीकरणको जोड–घटाउमा


१२ असार २०७८, शनिबार
congress

काठमाडौं, १२ असार । मिति नजिकिएपछि कांग्रेसमा महाधिवेशनको सरगर्मी बढेको छ र भावी नेतृत्वका लागि दाबेदारी आउन थालेका छन् । पहिलो पुस्ताका शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै दोस्रो पुस्ताका नेताहरू विमलेन्द्र निधि, डा. शशांक कोइराला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ र डा. शेखर कोइरालाले सभापतिमा दाबी गरेका छन् ।

सभापति देउवाले १४औँ महाधिवेशनमा आफू पुनः सभापतिको उम्मेदवार बन्ने स्पष्ट पारिसकेका छन् । नेता कृष्णप्रसाद सिटौलाले भने अहिले उम्मेदवारीबारे बोलेका छैनन् । भावी नेतृत्वको दाबेदारीका लागि उनीहरूका आ–आफ्ना तर्क छन् ।

कोभिड– १९ को जोखिमबीच नेतृत्वका आकांक्षीले महाधिवेशनलक्षित भेटघाट, संवाद र छलफल अघि बढाएका छन् । १६ देखि १९ भदौेसम्म केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसको कार्यतालिका छ । प्रमुख प्रतिपक्षी दल र देशको पुरानो लोकतान्त्रिक पार्टी भएका नाताले कांग्रेस महाधिवेशन सिंगो देशकै राजनीतिक मार्गचित्रका लागि अर्थपूर्ण छ ।

देउवा : बलियो दाबेदारी, तर छैनन् विवादमुक्त

कांग्रेसका वर्तमान सभापति देउवा दुईपटक सभापति बन्न पाउने पार्टीको विधानबमोजिम फेरि सभापति भएर आफूमाथि लागेको ‘असफल सभापति’ को छवि सुधार्न चाहन्छन् । यस आधारमा उनी स्वाभाविक र बलियो दाबेदार हुन् । ७६ वर्षे देउवालाई पटक–पटक पार्टी र सरकारको नेतृत्व गरिसकेका कारण अब विश्राम लिन उनकै सहकर्मीबाट दबाब छ । तर, उनले १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गर्दै आफूनिकट नेताहरूसँग छलफल समेत गरिरहेका छन् ।

‘मेरो नेतृत्वमा कांग्रेस पराजित भयो । कांग्रेसले जारी गरेको संविधान र लोकतन्त्र संकटमा छ, यस्तो वेला म पुनः पार्टीको नेतृत्व गरेर देशको पहिलो पार्टी बनाउन चाहन्छु । मुलुकलाई सही ट्रयाकमा ल्याउन चाहन्छु,’ देउवाले भनेका छन् । उनले आफूलाई सभापति बनाउन सातै प्रदेशका नेताहरूसँग छलफल गर्दै बढीभन्दा बढी महाधिवेशन प्रतिनिधि आउने गरी तयारी गर्न निर्देशन दिएका छन् ।

चार पटक प्रधानमन्त्री भइसकेका देउवा ०४६ सालपछि नेपाली राजनीतिका शक्तिशाली खेलाडी हुन् । नेविसंघको दोस्रो सभापति बनेका देउवाले आठौं महाधिवेशनपछि तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईको लिगेसी पछ्याए । १०औं महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग सभापतिमा पराजित भए । ०५९ मा कांग्रेस विभाजन हुँदा उनले नेपाली कांग्रेस प्रजातान्त्रिकको नेतृत्व गरे ।

०६४ मा पार्टी एकतापछि १२औं महाधिवेशनमा पुनः सुशील कोइरालासँग पराजित भएका देउवा १३औं महाधिवेशनबाट सभापतिमा चुनिए । तर, पटक–पटकको प्रयासपछि कोइराला बिरासत तोडेर सभापति हुने सौभाग्य पाएका देउवा पार्टी सभापतिको भूमिकामा लोकप्रिय बन्न सकेनन् ।

१३औं महाधिवेशनमा सभापतिमा उनले पौडेललाई पराजित गरेका थिए । अर्का प्रत्याशी सिटौला भने पहिलो चरणबाटै बाहिरिए । त्यसयता पार्टीको केन्द्रीय समिति र संसदीय दलमा देउवा प्रस्ट बहुमतमा छन् । तर, उनकै नेतृत्वमा भएको निर्वाचन परिणाममा कांग्रेस इतिहासमै कमजोर बन्यो । उनीमाथि पार्टीलाई विधान र पद्धतिमा हिँडाउन नसकेको र संसद्मा प्रमुख प्रतिपक्षीको भूमिकामा समेत कमजोर देखिएको आरोप छ । तर, उनीनिकट नेताहरू भने पछिल्लो राजनीतिक घटनाक्रमले देउवाको छवि सुध्रिएको दाबी गर्छन् ।

उनीनिकट केन्द्रीय सदस्य सीता गुरुङ सभापतिमा देउवाको बलियो दाबेदारी रहेको बताउँछिन् । ‘म सभापति भएकै वेला दुई कम्युनिस्ट पार्टी मिले । कांग्रेसले कम सिट जिते पनि लोकप्रिय भोट पाएको छ । पार्टीभित्र पनि मैले सोचेजसरी काम गर्न पाइनँ । कोरोना र विविध कारणले वेलामा महाधिवेशन पनि हुन सकेन,’ देउवालाई उद्धृत गर्दै गुरुङ भन्छिन्, ‘मेरो नेतृत्वमा पार्टीको विधानमा समावेशी र सामूहिक नेतृत्व प्रणालीको विकास भएको छ, त्यसलाई कार्यान्वयन गर्छु । पहिलो पार्टी बनाउँछु । र, मुलुकलाई लोकतन्त्र र संविधानको बाटोमा डो¥याएपछि नेतृत्व तपाईंहरूलाई नै सुम्पिने हो ।’

पौडेल : पाएका छैनन् पार्टी र सरकारको नेतृत्व गर्ने अवसर

पार्टीभित्र प्रतिपक्षीको नेतृत्व गरिरहेका वरिष्ठ नेता पौडेल पनि १४औं महाधिवेशनबाट सभापतिको दाबी गरिरहेका छन् । उनी अब सभापतिका लागि आफूसँग प्रतिस्पर्धा गर्ने कोही पनि नभएको दाबी गर्छन् । पार्टीभित्र नेतृत्व पुस्तान्तरणको बहस चलिरहँदा पौडेलले प्रश्न गरेका छन्, ‘मैले देउवाजीसँगै सती जानुपर्ने कारण के छ ? उहाँ हट्दा उहाँसँगै बढारिनुपर्ने ? के त्यो न्यायोचित छ र ?’

तर, उनले नेतृत्व गर्दै आएको समूहमा उनले सम्मानजनक ठाउँ लिएर नेतृत्व हस्तान्तरणका लागि तयार हुनुपर्ने आवाज चर्को छ । पौडेललाई दर्जनभन्दा बढी नेतालाई मिलाएर अघि बढ्नुपर्ने चुनौती छ । पौडेलले शुक्रबार मात्रै आफूनिकट केन्द्रीय सदस्यको भेला गरेर आन्तरिक छलफल गरेका छन् ।

१३औं महाधिवेशनमा कोइराला परिवारको बिरासत बोकेर सभापतिको उम्मेदवार बनेका पौडेल पराजित भएका थिए । कांग्रेसको भ्रातृ संस्था नेविसंघको संस्थापक सदस्य पौडेलले ०४० पछि पार्टीभित्र विभिन्न भूमिकामा रहेर काम गरेका छन् । ७७ वर्षीय पौडेल पार्टीको महामन्त्री, उपसभापति र कार्यबाहक सभापति समेत भइसकेका छन् ।

पटक–पटक मन्त्रीसमेत भइसकेका पौडेललाई अहिलेसम्म पार्टी र सरकारको नेतृत्व गर्ने अवसर भने जुटेको छैन । पराजित हुने थाहा हुँदाहुँदै पार्टीका लागि आफू १७ पटकसम्म प्रधानमन्त्रीको उम्मेदवार बनेको उनी बताउँछन् । तर, त्यही कारण पौडेलले पदका लागि आसक्ति देखाएको भन्दै आलोचना हुने गरेको छ ।

५ पुसमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसयता पौडेलले संविधान र लोकतन्त्रका पक्षमा गरेको वकालतले उनको पक्षमा जनमत बढेको उनीनिकट नेताहरू बताउँछन् ।

निधि : देउवाका सारथि, छिमेकको सद्भाव

उपसभापति निधिले १४औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । उनले लामो समयदेखिको तयारी र छलफलपछि मात्रै आफूले उम्मेदवारी दिएको भन्दै अहिले हल्का रूपमा उम्मेदवार गर्ने कुरा गरेको भनेर नबुझ्न समेत आग्रह गरेका छन् ।

पार्टी विभाजन हुँदा समेत सभापति देउवाको साथ नछाडेका निधिले देउवालाई सहज रूपमा आफूलाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका छन् । ‘मैले अहिलेसम्म साथ दिएको छु । अब तपाईंको सहयोगमा म पार्टीको सभापति बन्ने हो । म पार्टी चलाउँछु । बरु तपाईं प्रधानमन्त्री बन्नुस्,’ निधिले देउवालाई भेटेर भनेका छन् । तर, सभापति उठ्ने अडान देखाएपछि देउवासँग उनको सम्बन्ध चिसिएको छ ।

देउवाले निधिले आफूलाई छाडे पनि खासै ठूलो असर नपर्ने ठानेका छन् । ‘विमलजी अहिले पनि पार्टीको उपसभापति हुनुहुन्छ । त्यसैले अब उहाँ सभापतिको स्वाभाविक उम्मेदवार हो । उहाँले सभापतिजीलाई पनि भेटेर भनिसक्नुभएको छ । अरूसँग पनि छलफलमा हुनुहुन्छ,’ निधिनिकट एक नेताले भने, ‘अहिले कोही छैन भन्ने देखिन्छ । तर, परिस्थिति बनेपछि थाहा हुन्छ । अहिले यत्ति मात्रै भन्छु ।’ देउवा आफै पुनः सभापतिमा दोहोरिन चाहेपछि निधि संस्थापनइतर समूहसँग निरन्तर छलफलमा छन् । कांग्रेस र भारतबीच सम्बन्धमा खटपट भइरहँदा निधिलाई छिमेकको सद्भाव रहेको कांग्रेसकै नेताहरूको दाबी छ ।

अब पहिलो पुस्ताबाट पार्टी र मुलुकको नेतृत्व सम्भव नरहेको बताउने निधि आफै ६५ वर्ष पुगिसकेका छन् । ‘अब पहिलो पुस्ताको नेतृत्व परीक्षण भइसक्यो । उहाँहरूप्रति सम्मान छ, तर अब पार्टीको नेतृत्व उहाँहरूले हामीलाई हस्तान्तरण गर्नुपर्छ । मैले सभापतिजीलाई पनि भनिसकेको छु, म सभापतिमा लड्छु,’ निधिले भनेका छन् ।

उपसभापति निधि कांग्रेसका संस्थापक नेता महेन्द्रनारायण निधिका छोरा हुन् । उनी ०३६ मा नेविसंघको सभापति बनेका थिए । तर, बुबा आफै सक्रिय राजनीतिमा भएकाले उनले केन्द्रीय राजनीतिमा मौका पाएनन् । नवौं महाधिवेशनमा भीमबहादुर तामाङसँग केन्द्रीय सदस्यमा पराजित भएका उनी १०औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए ।

कांग्रेस विभाजन हुँदा उनी देउवासँगै उभिए । देउवाले उनलाई विभाजित पार्टीको महामन्त्री समेत बनाए । पार्टी एकतापछि १२औं महाधिवेशनमा महामन्त्री पदमा प्रकाशमान सिंहसँग पराजित भएका निधिले १३औं महाधिवेशनमा पनि महामन्त्री दाबी गरेका थिए । तर, देउवालाई सभापति जिताउन उनी केन्द्रीय सदस्य मात्रै लडे । केन्द्रीय सदस्य जितेका निधिलाई ०७५ मा सभापति देउवाले उपसभापति मनोनीत गरेका थिए ।

डा. शशांक : बिपीका छोरा, धर्मनिरपेक्षताका पक्षपाती

महामन्त्री डा. कोइराला पनि सभापतिको स्वाभाविक र बलियो उम्मेदवार हुन् । कोइराला परिवारको बिरासतको नेतृत्व गरिरहेका कारण पार्टीमा उनको शक्ति बलियो छ । उनले आफ्नो दाबी मात्रै अघि सारेका छैनन्, आफ्नो टिमबाट देउवालाई पराजित गर्न सक्ने आफू मात्रै भएको बताउँदै आएका छन् । ‘कांग्रेसलाई बिपीले देखाएको बाटोमा अघि बढाउन पनि एकपटक सभापति बन्छु । कांग्रेसलाई एकताबद्ध बनाएर आगामी निर्वाचनमा लैजान्छु । देउवालाई जित्न सक्ने उम्मेदवार म मात्रै हो,’ उनले भनिरहेका छन् ।

कांग्रेसको राजनीतिमा ६३ वर्षे कोइरालाको अरूको जस्तो भ्रातृ संस्था वा तल्ला तहमा काम गरेको लामो अनुभव छैन । संस्थापक नेता बिपी कोइरालाका छोरा उनी ११औं महाधिवेशनबाट कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेका हुन् । १२औंमा पनि उनी केन्द्रीय सदस्यमा नै दोहोरिए ।

सुशील कोइरालाको निधनपछि १३औं महाधिवेशनमा उनी महामन्त्रीमा निर्वाचित भए । सुशील कोइरालासँग सु–सम्बन्ध र बिपीको छोरा भएका कारण कोइराला परिवारको बिरासतका अनुयायीहरू डा. शशांकसँगै छन् । उनीमाथि पार्टीमा महामन्त्रीका रूपमा राम्रो काम गर्न नसकेको आरोप छ भने कतिपय मुद्दामा सभापति देउवासँग साँठगाँठ गरेको आरोप पनि लागेको छ ।

उनले दाजु सुशील कोइरालाको नेतृत्वमा जारी भएको संविधानमाथि राख्ने फरक मतले पनि वेलावेलामा चर्चा पाउँदै आएको छ । संविधानमा धर्मनिरपेक्षताको व्यवस्था छ । तर, डा. कोइरालाले भने ‘धर्मसापेक्ष पनि नहुने र निरपेक्ष पनि नहुने भन्दै धर्म स्वतन्त्र’ हुनुपर्ने दाबी गर्दै आएका छन् । ‘उहाँ हाम्रो टिमको सम्भावित र बलियो उम्मेदवार हो । तर, उहाँको निष्क्रियता र स्वास्थ्यको कुरा पनि छ, मिलेसम्म हाम्रो टिमबाटै एकजना मात्रै उम्मेदवार बनाउने कसरत भइरहेको छ,’ उनीनिकट एक नेताले भने ।

सिंह : गणेशमानका छोरा, पहिलो निर्वाचित महामन्त्री

कांग्रेसको पहिलो निर्वाचित महामन्त्रीसमेत रहेका प्रकाशमान सिंह सभापतिको आकांक्षी छन् । तर, उनले पावर सेयरिङ गरेर सामूहिक नेतृत्वका लागि खुला रहेको समेत भनिरहेका छन् । उनले अब सभापतिका लागि आफू ‘नेचुरल क्यान्डिडेट’ भएको दाबी गरिरहेका छन् ।

‘यो महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनुपर्छ भनेर पहिलेदेखि नै भन्दै आएको हुँ, पार्टीलाई बलियो बनाउन, मुलुकको संविधान, लोकतन्त्र र अहिलेको व्यवस्थालाई संस्थागत गर्न र जनताको चाहना, कार्यकर्ताको चाहनाबमोजिम काम गर्ने नेतृत्व आउनुपर्छ भन्ने मेरो कुरा हो,’ उनले भनेका छन् ।

उनी संस्थापक नेता गणेशमान सिंहका छोरा हुन् । तर, आफू गणेशमानको छोरा भएकै कारण पार्टीको सभापति हुनुपर्ने दाबी नगरेको बताउँछन् । ‘म नेविसंघदेखि पार्टीको जिल्ला सभापति भएर केन्द्रमा पुगेको हुँ । केन्द्रमा पनि पहिलो निर्वाचित महामन्त्री हुँ । उपसभापति पनि भइसकेँ,’ उनी भन्छन्, ‘ग्रास लेबलदेखि काम गरेको अनुभव र ज्ञान मसँग छ । पार्टी, देश र जनताका लागि काम गर्न सक्छु । त्यसैले सबै हिसाबले पार्टीको फस्र्ट म्यानका लागि म न्याचुरल क्यान्डिडेट हुँ ।’ उनले आफू पावर सेयरिङका लागि पनि तयार भएको बताए ।

०१३ मा जन्मिएका सिंह ०३६ मा नेविसंघको काठमाडौं जिल्ला अध्यक्ष भए । ०३८ मा पार्टीको जिल्ला सदस्य, ०४३ मा जिल्ला सचिव, ०४५ मा सभापति भए । दुई कार्यकाल जिल्ला सभापति भएपछि १०औं महाधिवेशनबाट उनी लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भए । कांग्रेस विभाजन हुँदा देउवासँग गएका उनी उपसभापति थिए । एकतापछि पनि उपसभापति नै रहे । तर, १२औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भए । र, १३औं मा केन्द्रीय सदस्य निर्वाचित भए ।

डा. शेखर : कोइराला परिवारका सदस्य, ‘लो प्रोफाइल’ का बलियो उम्मेदवार

आसन्न महाधिवेशनमा सभापतिका लागि कांग्रेसभित्र ‘लो प्रोफाइल’का बलियो उम्मेदवार हुन् डा. शेखर । १३औं महाधिवेशनमा महामन्त्री दाबी गरे पनि भाइ डा. शशांकका लागि छाडेर केन्द्रीय सदस्य लडेका थिए । केन्द्रीय सदस्यमा सर्वाधिक मतसहित निर्वाचित भएपछि उनी पार्टीको नेतृत्वका लागि देश दौडाहामा निस्किए । ७१ वर्षे कोइराला पार्टी वरीयतामा भने ३५औं नम्बरमा छन् । तर, अधिकांश नेता–कार्यकर्ताले उनलाई आगामी महाधिवेशनपछि सभापतिका रूपमा हेर्न चाहेको उनको दाबी छ ।

००७ मा जन्मिएका उनी चिकित्सा पेसाबाट सेवानिवृत्त भएपछि राजनीतिमा आएका हुन् । पार्टी र सरकारी पदमा अनुभव नभए पनि आफ्नो उमेर भएकाले अब अर्कोपटकसम्म कुर्न नसक्ने उनी बताउँछन् । ‘मसँग कांग्रेसलाई अघि बढाउन सक्ने योजना छ । स्पष्ट भिजन छ । मसँग पार्टीलाई बलियो बनाएर चलाउन सक्ने इच्छाशक्ति छ,’ डा. कोइरालाले भनेका छन्, ‘मसँग युवा र अनुभवी पुस्तालाई मिलाएर सँगै डो¥याउन सक्ने क्षमता छ ।’ उनले पार्टी बलियो बनाउन केन्द्रदेखि तल्लो तहसम्म युवा पुस्ताको सहभागिता सुनिश्चित गर्नुपर्ने बताउँदै आएका छन् ।

उनको अर्को लोकप्रिय बनेको एजेन्डा हो– एक व्यक्ति एक पद । ‘म सभापति बन्छु, पार्टी चलाउँछु । प्रधानमन्त्री अरू कोही बन्ने हो । एउटै व्यक्ति सबैतिर बसेर काम गर्न सक्दैन । फेरि म एकपटक मात्रै हो,’ उनले भनेका छन् । सबैजसो जिल्ला घुमिसकेका कोइरालाले केन्द्रीय समितिमा युवा नेताहरूको साथ खोजिरहेका छन् । उनले नेतृत्व परिवर्तन र पुस्तान्तरणका विषयमा युवा नेताहरू चन्द्र भण्डारी, बद्री पाण्डे, गगन थापा, धनराज गुरुङ, जीवन परियार र प्रदीप पौडेललगायत नेताहरूसँग पटक–पटक आवासीय छलफल नै गरेर रणनीति बनाएका छन् ।

सिटौला : तेस्रो समूहका नेता, निर्णायक भूमिका

पूर्वमहामन्त्री सिटौला अहिले पार्टीमा तेस्रो धारको नेतृत्व गरिरहेका छन् । महाधिवेशन नजिकिँदै गर्दा पनि उनले आफ्नो उम्मेदवारीबारे बोलेका छैनन् । तर, महाधिवेशनबाट नेतृत्व चयनमा उनको भूमिका महत्वपूर्ण देखिन्छ । ‘अहिले वेला भएको छैन । समय आएपछि बोल्ने हो,’ उनले भनेका छन् ।

१३औं महाधिवेशनमा उम्मेदवार बनेका कारण उनलाई अहिले स्वाभाविक दाबेदारका रूपमा मान्न सकिन्छ । तर, उनी अहिले आफै उठ्छन् वा अरू कसैलाई सघाउँछन्, निश्चित छैन । ००६ मा तेह्रथुममा जन्मिएका सिटौला झापाबाट राजनीतिमा सक्रिय छन् । उनी झापा कांग्रेसमा सिके प्रसाईंको कार्यसमितिमा जिल्ला सदस्य हुँदै ०४४ मा उपसभापति भए ।

०५३ मा झापा सभापति भएका सिटौला १०औं महाधिवेशनबाट केन्द्रीय सदस्य बने । तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको निकटमा रहेर काम गरेका उनले १२ बुँदे समझदारी र ०६२–६३ को आन्दोलनमा महत्वपूर्ण भूमिका खेले । पार्टीको १२औं महाधिवेशनमा सुशील कोइराला प्यानलबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भए । पछि कोइरालाले सिटौलालाई महामन्त्री मनोनीत गरे ।

गिरिजासँग निकट रहेर काम गरेका कारण कांग्रेसपंक्ति उनलाई राम्रो नेता मान्न तयार छ । सुशील कोइरालाको निधनपछि रामचन्द्र पौडेलसँग असन्तुष्ट बनेका सिटौला १३औं महाधिवेशनमा सभापतिको उम्मेदवार भए । दोस्रो राउन्डमा उनले शेरबहादुर देउवालाई सघाए । अहिले उनी तेस्रो धारको नेतृत्व गर्छन् । उनीसँग युवा नेताहरू गगन थापा र प्रदीप पौडेललगायत भएकाले पनि उनको समूह चर्चामा रह्यो ।

तर, अब १४औं महाधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेमा एकमत देखिँदैन । उनीनिकट एक केन्द्रीय सदस्य भन्छन्, ‘महाधिवेशनका मतदाता हेरेर तयारी गर्ने कुरा छ । अहिल्यै के गर्ने भन्ने टुंगो लागेको छैन । जोसँग सहकार्य गरे पनि जित्ने गरी सहकार्य गर्ने भन्ने तयारी छ ।’ ती नेताले सिटौला समूहले एकताबद्ध रूपमा कोही एउटा समूहलाई सहयोग गरे हारजित फरक पार्न सक्ने आकलन गरे । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७