होमस्टे व्यवसाय धराशायी, व्यवसायी राहत प्याकेजको आशमा


१२ असार २०७८, शनिबार
home stay ghale gaun2021 06 26 06 42 12

लमजुङ, १२ असार । कुनै वेला दैनिक ४ सय पर्यटक आउने लमजुङको घलेगाउँ यतिवेला भने सुनसान बनेको छ । विश्वभर फैलिएको कोभिड–१९ भाइरसका कारण घलेगाउँ सुनसान बनेको हो ।

विदेशी र आन्तरिक पर्यटक आउजाउ पूर्ण रूपमा रोकिँदा एक वर्षदेखि लमजुङका पर्यटकीय गाउँहरू सुनसान छन् । पाहुना नपाउँदा होमस्टे व्यवसायी कामविहीन भएका छन् । दैनिक ४ सय पर्यटक आउने घलेगाउँ कोरोनाले सुनसान बनेको घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घले बताउँछन् ।

घलेगाउँका अधिकांश मानिसहरूको मुख्य पेसा नै पर्यटन हो । उनी भन्छन्, ‘कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण पर्यटन विकासको वातावरण सहज बनेकोे छैन । कहिले सहज वातावरण बन्ने हो र पुनः पर्यटकको चहलपहल हुन्छ भन्ने पर्खाइमा घलेगाउँवासी छन् ।’ बन्दाबन्दीसँगै होमस्टे व्यवसाय संकटमा परेको अध्यक्ष घले बताउँछन् । एक वर्षदेखि सुस्ताएको पर्यटन व्यवसायलाई अघि बढाउन विभिन्न नयाँ प्याकेज ल्याउने योजना रहेको अध्यक्ष घलेको भनाइ छ ।

घलेगाउँमा ०५७ सालदेखि होमस्टे सुरु गरेकी कमला घले २२ वर्षदेखि पर्यटन व्यवसायमै रमाइरहेकी छिन् । उनी भन्छिन्, ‘कोरोनाले व्यवसाय नै संकटमा पर्‍यो, यसका लागि राज्यले केही राहतको प्याकेज ल्याउनु पर्छ ।’ उनी मात्र होइन, होमस्टे व्यवसायी शान्ता गुरुङ र खिमकुमारी गुरुङ पनि राज्यले राहतको प्याकेज ल्याउँछ भन्ने आशमा छन् । १२ घरबाट सुरु गरिएको होमस्टे हाल ३८ घरमा सञ्चालन गरिएको छ ।

समुद्री सतहदेखि करिब २ हजार १ सय मिटर उचाइको घलेगाउँमा ०५७ सालबाट पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित होमस्टे सञ्चालनमा ल्याइएको घलेगाउँ पर्यटन व्यवस्थापन समिति घलेगाउँका सचिव उमल विकले बताए । घलेगाउँका ४० घरपरिवार पर्यटन व्यवसायमा आबद्ध छन् । ३८ घरमा होमस्टे सञ्चालन भएको घलेगाउँमा २ सय पर्यटक अट्ने क्षमता छ ।

बन्द भएर असोजमा खुलेपछि होमस्टे हाउसफुल भएको थियो । पर्यटकहरू दैनिक ४ सय घलेगाउँ पुग्ने गर्थे । घलेगाउँमा करिब ९५ प्रतिशत आन्तरिक र ५ प्रतिशत बाह्य पर्यटक आउने गर्छन् । राज्यले होमस्टेका लागि अहिलेको संक्रमणकालीन अवस्थामा पर्यटन व्यवसायीहरूलाई व्यवसायमा आकर्षण गर्न राहत प्याकेज ल्याउनुपर्ने उनको माग छ । पर्यटकीय सेवा–सुविधा, स्थानीय कला–संस्कृतिको प्रवद्र्धन तथा गतिविधि, होमस्टे कार्यक्रममा समुदायको संलग्नताले स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा घलेगाउँ परेको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७