तीन मन्त्री एक महिनाका लागि निलम्वित


१२ असार २०७८, शनिबार
1624671105 karnali 1200x560 1

सुर्खेत, १२ असार । नेकपा (एमाले) ले कर्णाली प्रदेशसभाका तीनजना सांसदलाई एक महिनाका लागि निलम्वन गरेको छ ।
शुक्रबारको एमाले प्रदेशसभा संसदीय दलको बैठकले गत वैशाख ३ गते फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सघाएका अम्मरबहादुर थापा, कुर्मराजशाही र नन्दसिंह बुढालाई एक महिनाका लागि निलम्वन गरेको हो । निलम्वित तीनै जना मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा छन् ।

थापाले भौतिक पूर्वाधार मन्त्रालय, शाहीले भूमि, व्यवस्था, कृषितथा सहकारी मन्त्रालय तथा बुढाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् । एमालेले आफ्ना तीन जना मन्त्रीहरुलाई हटाउन माग गर्दै असार दुई गतेदेखि निरन्तर संसद अवरुद्ध गर्दै आइरहेको छ ।

पार्टी ह्वीप उल्लंघन गरेर मुख्यमन्त्री शाहीको पद जोगाइदिएपछि तीन जना मन्त्रीसहित प्रकाश ज्वालालाई एमालेले संसद पद नरहने गरी कारबाही गरेको थियो । जेठ २७ गते सर्वोच्चअदालतले अन्तरिम आदेशमार्फत चारै जनालाई संसद पदमा पुनर्बहाली गरेको थियो । सर्वोच्चले पुनर्बहाली गरेलगत्तै असार १, ४ र त्यस यताका दलको बैठकमा ज्वाला सहभागी भए पनि मन्त्री बनेका तीन जना सहभागी भएका छैनन् ।

सर्वोच्चले पुनर्बहाली गरेपछि पहिलो पटक प्रमुख सचेतक गुलावजंग शाहले चारै जनालाई पत्र पठाएर असार १ गतेको दलको बैठकमा उपस्थित हुन भनेका थिए । उक्त बैठकमा ज्वाला सहभागी भए पनि तीन जना उपस्थित भएनन् । दलको बैठकले सरकारले ल्याउने नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गर्‍यो । संसदमा तीन जना मन्त्रीहरु उपस्थित भएनन् । संसदमा उपस्थित भएर पनि ज्वाला बजेटको विपक्षमा उभिएनन् ।

एमालेले संसदीय दलको बैठकले तीन जना मन्त्रीहरुलाई राजीनामा दिन पनि पत्राचार गरेको थियो । ‘एमालेका तर्फबाट मन्त्री बनेकाहरुले राजीनामा पनि नदिने र सरकारले पनि उनीहरुलाई पदबाट नहटाउने अवस्था आएपछि एक महिनाका लागि निलम्वन गरिएको हो,’ एमाले सांसद सुशील थापाले भने, ‘त्यसको जानकारी प्रदेशसभालाई गराइसकेका छौं ।’ नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७