रोकिएको जनगणना पुनः शुरु हुँदै


१२ असार २०७८, शनिबार

काठमाडौं, १२ असार । कोराना संक्रमण बढ्दै गएपछि रोकिएको ‘राष्ट्रिय जनगणना २०७८’ का गतिविधि पुनः शुरु गर्ने सम्बन्धमा निर्णय गर्न राष्ट्रिय जनगणना निर्देशक समितिको बैठक आगामी आइतबार बस्ने भएको छ ।

गत वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकले बढ्दो कारोना संक्रमणका कारण असहज परिस्थिति निर्माण भएको भन्दै जनगणनाका सम्पूर्ण गतिविधि स्थगन गर्ने निर्णय गरेको थियो । पछिल्ला दिनमा कोरोना संक्रमणदर केही नियन्त्रणमा आएसँगै जनगणनाका बाँकी कामलाई निरन्तरता दिने उद्देश्यले तथ्यांक विभागले जनगणना निर्देशक समितिको बैठक बोलाएको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष अध्यक्ष रहने तथा विभिन्न मन्त्रालयका सचिव तथा विश्वविद्यालयका जनसंख्या र तथ्यांक विभागका प्रमुख सदस्य रहनेगरी निर्देशक समिति गठन गरिएको छ ।

केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक हेमराज रेग्मीले साउनको अन्तिम सातादेखि तथ्यांक लिन कार्यक्षेत्रमा पठाउनेगरी प्रस्ताव निर्देशक समितिको बैठकमा लैजान लागिएको जानकारी दिए । आगामी साउन अन्तिम सातादेखि सुरु गरी असोजको पहिलो सातामा सक्ने गरी कार्यातालिका बनाइएको उनको भनाइ छ । निर्देशक समितिले प्रस्ताव स्वीकृत गरेमा सो प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषदमा जानेछ ।

रेग्मीले भने, ‘पहिला असार ८ गतेभित्र जनगणना लिने कार्य सक्नेगरी कार्ययोजना बनाएका थियौं । अब हाम्रो प्रस्ताव असोजको पहिलो हप्ताभित्र सक्ने भन्ने छ । जुन दिन तथ्यांक लिएर सक्छौँ, त्यही दिनको नेपालको जनगणना भनेर निकाल्छौं ।’

कार्यालय स्थापनाको काम सम्पन्न गरी सामग्री व्यवस्थापनअन्तर्गत प्रश्नावली, निर्देशिका, कापी, कलम, तालिम सामग्रीहरू जिल्ला र प्रदेशका कार्यालयमा पठाइसकिएको विभागले जनाएको छ ।

करिब ९ हजार सुपरीवेक्षकको छनोट गरीसकिएको छ । उनीहरूमध्ये केहीले ६ दिने तालिम लिईसकेका छन् भने केहीले आधा तालिमकै क्रममा निशेधाज्ञाका कारण तालिम पूरा गर्न पाएका छैनन् । उनीहरूलाई नै फेरि १/२ दिनको पुनर्ताजगी तालिम दिने र कार्यक्षेत्रमा खटाउने विभागको तयारी छ । यस्तै ४० हजार गणकको छनोट र नियुक्ति प्रक्रिया पनि अन्तिम चरणमा रहेको छ । केन्द्रीय तथ्यांक विभागले हरेक दश वर्षमा गर्ने राष्ट्रिय जनगणना विसं १९६८ देखि सञ्चालन गर्दै आएको छ । यसको बाह्रौं श्रृङ्खला अहिले सञ्चालन हुँदैछ ।

कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राख्दै विभागले जनगणनामा खटिएर घरघरमा आउने सबै गणक तथा सुपरीवेक्षकहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड संक्रमणको जोखिम न्यून गर्ने मापदण्ड अनिवार्य पालना गर्नुपर्ने व्यवस्था मिलाएको छ ।

सुपरीवेक्षक तथा गणकहरूले मास्क तथा फेससिल्ड लगाउने तथा सेनिटाइजरको प्रयोग र भौतिक दूरी कायम गरी अन्तर्वार्ता सञ्चालन गर्नेगरी आवश्यक तालिम र व्यवस्था मिलाईएको विभागका उपमहानिर्देशक रेग्मीले जानकारी दिए ।

देशभर अक्सर बसोबास गर्ने सम्पूर्ण व्यक्तिको निश्चित समय अवधिभित्र गणना गरी व्यक्तिगत तथा पारिवारिक विवरणसँग सम्बन्धित तथ्यांक संकलन गर्ने र संकलन भएको तथ्यांक प्रशोधन, प्रकाशन एवं वितरण गर्ने समष्टिगत प्रक्रिया नै जनगणना हो । नेपालको कुन–कुन क्षेत्र तथा भूभागमा के कति मानिस बसोबास गर्छन्, तिनीहरूमध्ये महिला, पुरुष, अन्य लिंगी, बालबालिका, काम गर्ने उमेर समूह र वृद्ध–वृद्धाको संख्या कति छ, तिनीहरूको बासस्थान र सुविधा के कस्ता छन् भन्ने विवरण जनगणनाको क्रममा संकलन गरिन्छ ।

नागरिकहरू पेशा, व्यवसाय, रोजगारीको अवस्था, जातजाति, भाषाभाषी र धर्मावलम्बीहरू संख्या, उनीहरूका शिक्षा र साक्षरताको अवस्था, बसाइँसराइ, जन्म तथा मृत्युको अवस्था समेत जनगणनामा संकलन गर्ने गरिन्छ । शारीरिक वा मानसिकरूपमा अपांगता भएका व्यक्तिको संख्या, विदेशमा रहेका नागरिकको संख्या जस्ता थुप्रै जनसांख्यिक, सामाजिक तथा आर्थिक गतिविधि सम्बन्धी विवरणहरू जनगणनाबाट प्राप्त हुन्छ ।

जनगणनाले शिक्षा, स्वास्थ्य, बाटोघाटोलगायत अन्य भौतिक संरचनाजस्ता विकास कार्यका साथै वृद्धभत्ता, अपांगता भत्ता, विधवा तथा असहाय भत्ता, विशेष व्यवस्था तथा सामाजिक सेवा र सुरक्षा सम्बन्धी कार्यक्रम तयार गर्नको लागि चाहिने आधारभूत तथ्यांक उपलब्ध गराउँछ । नेपाल सरकारको मिति २०७६ श्रावण ६ गतेको राजपत्रमा प्रकाशित राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश, २०७६ बमोजिम नेपाल सरकार, राष्ट्रिय योजना आयोगअन्तर्गतका आधिकारिक निकाय केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ का कार्य सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७