सामाजिक सुरक्षा भत्ताबाट बञ्चितलाई ‘प्रिपेड कार्ड’


१२ असार २०७८, शनिबार

कञ्चनपुर, १२ असार । कञ्चनपुर कृष्णपुर नगरपालिका–१ निगालीका शारीरिक अपाङ्गता भएका लाली भुलले धेरै पटक नगरपालिका कार्यालयमा सामाजिक सुरक्षा भत्ताका लागि निवेदन दिए पनि भत्ताको रकम पाउन सकेकी छैनन् ।

आवश्यक कागजात पुरयाउन नसक्दा उनी भत्ता पाउनबाट बञ्चित हुनु परेको हो । नगरपालिका कार्यालयबाट उपलव्ध हुने भत्ताको रकम नपाएकोमा भने उनी चिन्तित छैनन् । भुललाई निड्स कञ्चनपुरले प्रिपेड कार्ड उपलव्ध गराएको छ ।

कार्डबाट उनले आवश्यक सामान खरिद गर्दै आएकी छन् । लत्ताकपडा, खाद्यान्न, औषधिलगायतका सामान खरिद गर्ने कार्यसँगै आवश्यक परेको बेला नगदसमेत कार्डका माध्यमबाट झिक्दै आएकी छन् । ‘भत्ताका लागि नगरपालिका कार्यालयमा धेरै पटक पुग्दा कागजात नपुगको भनेर फर्काउने गरियो’, उनले भनिन्, ‘घर खर्च चलाउन निकै असजिलो भएको अवस्थामा निड्सले सहयोग गरी गुन लगाएको छ ।’

सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित रहेका, प्रक्रियामा रहेका र कोभिडबाट प्रभावित, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, एकल महिला, दलित पोषण भत्ताबाट बञ्चितलाई युके एडको आर्थिक सहयोगमा मर्सिकोर, प्लान इन्टरनेशनल र निड्सको साझेदारीमा सञ्चालित रेजिलियन्स प्लस अन्तर्गत आपतकालीन सहयोग कार्यक्रमका माध्यमबाट प्रिपेड कार्ड उपलव्ध गराइ भत्ता वापतको रकम उपलव्ध गराइदै आएको छ ।

कार्यक्रम अन्र्तगत कृष्णपुर र दोधारा चाँदनी नगरपालिकाका लक्षित व्यक्तिलाई कार्ड दिइएको छ । कार्डबाट रु १३ हजार ५०० मूल्य बरावरको सामान खरिद गर्न सकिन्छ । त्यसका लागि सम्बन्धित ठाउका पसलमा कार्ड स्वीप गर्नका लागि मेसिनको समेत व्यवस्था गरिएको छ ।

कृष्णपुर नगरपालिकाका ४२० र दोधारा चाँदनीका ८८ जनालाई कार्ड उपलव्ध गराइएको निड्स कञ्चनपुरका निर्देशक भवराज रेग्मीले बताए । उनले भने, ‘रकम जुन उद्देश्यका लागि खर्च गर्न उपलव्ध गराएका छौं सोही प्रयोजनका लागि खर्च हुन्छ । कार्डको प्रयोगले दुरुपयोग हुन पाउँदैन ।’ कञ्चनपुरका कृष्णपुर, दोधारा चाँदनी र कैलालीको चुरे गाउँपालिका र घोडाघोडी नगरपालिकामा यो कार्यक्रम सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७