कहिले खुल्छ सार्वजनिक यातायात ?


१२ असार २०७८, शनिबार
bus

काठमाडौं, १२ असार । दोस्रो लहरको कोरोना महामारी मत्थर भएसँगै सरकारले देशभरको जनजीवनलाई पूर्ववत अवस्थामा फर्काउन थालेको छ । कोरोनाको संक्रमण र मृत्युदरमा सुधार आएसँगै देशका विभिन्न जिल्लामा लागू भएका निषेधाज्ञा खुकुलो बनाउँदै जनजीवन सहज बनाउने काम भइरहेको छ । सोही अनुसार काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा सुरक्षाको विधि अपनाउँदै निषेधाज्ञा खुकुलो बनाउन थालिएको छ ।

यहि अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा शर्तसहित निषेधाज्ञा खुकुलो गरिएको छ । स्थानीय प्रशासनको निर्णय अनुसार उपत्यकामा सरकारी कार्यालय, पसल व्यवसाय र निजी सवारी साधन चल्न थालेका छन् । तर अझै जोखिम कम भइनसकेको निष्कर्षसहित सार्वजनिक यातायातका साधन भने खुलिसकेका छैनन ।

तर, झण्डै दुई महिनादेखि बन्द रहेको सार्वजनिक यातायात खुलाउने विषयमा छलफल शुरु भएको छ । कसरी सुरक्षित रुपमा यातायात सञ्चालन गर्ने भन्ने विषयमा विशेष गरी काठमाडौं उपत्यकाका तीन वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीले छलफल थालेका हुन् ।

असार १४ गतेपछि स्वास्थ्य मापदण्ड अपनाएर नयाँ मोडालिटीका साथ यातायात सञ्चालन गर्ने तयारीका साथ विभिन्न निकायसँग छलफल सुरु गरेको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले जानकारी दिए ।

अस्ती बिहीवार स्वास्थ्य मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात मजदुर, यातायात व्यवसायी र प्रमुख जिल्ला अधिकारीहरुबीच यातायात सञ्चालन गर्ने सम्बन्धमा भएको छलफलमा १७ गतेदेखि आन्तरिक उडान पनि सञ्चालन हुने भएकाले सार्वजनिक यातायात पनि खुलाउने विषयले प्राथमिकता पाएको थियो ।

जोर बिजोर या संख्या नै तोकेर गाडी चलाउन सकिने विषयमा प्रमुख जिल्ला अधिकारीहरु सकारात्मक देखिएका छन् । तर पहिले महामारीपछि गाडी खुल्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नभएको भन्दै अब त्यस्तो हुन नदिइने प्रजिअ रिजालले जानकारी दिए ।

यातायात व्यवसायीको माग र मोडालिटी तय गरेर यातायात सञ्चालनको लागि सीसीएमसीमा प्रस्ताव लैजाने तर कहिले खुल्छ भनेर ठ्याक्कै भन्न नसकिने उनले बताए । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राईले यातायात मजदुरहरु बिचल्लीमा परेको भन्दै कि त यातायात खुलाउनुपर्ने नत्र सबैलाई राहत दिनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७