पोखरी निरीक्षण गर्न गएका वडाध्यक्षको डोजरको बकेटले हिर्काएर हत्या, शव पुरेर चालक फरार


१२ असार २०७८, शनिबार
3734b44babb0c207e61ad092ef0b3d76 w1000 h500 cp

सर्लाही, १२ असार । सर्लाहीको ईश्वरपुरमा एक वडाध्यक्षको हत्या भएको छ । ईश्वरपुर–३ भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको शुक्रबार साँझ हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

भर्खरै खनिएको पोखरी निरीक्षण गर्न जाँदा भएको विवादका क्रममा डोजर सञ्चालकसहित केही व्यक्तिले वडाध्यक्षको हत्या गरेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ईश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटाले पनि वडाध्यक्ष श्रेष्ठको हत्या भएको पुष्टि गरेका छन् । देवकोटाका अनुसार ईश्वरपुर–३ को मुखलाल बाँधमा पोखरी विस्तारको अनुगमन गर्न जाँदा जेभिसीको बकेटले हिर्काएर वडाध्यक्षको हत्या गरिएको हो ।

शनिबार साँझ जेसीभीका ठेकेदार प्रेम दाहालसँगै श्रेष्ठ पनि पोखरी निरीक्षण गर्न गएका थिए । सो क्रममा नजिकैको पसलमा खाजा खानेक्रममा जेसीभीका चालक र वडाध्यक्षबीच बिबाद भएको थियो । खाजा खाएपछि दुवै पोखरी बिस्तार भइरहेको ठाउँमा गएका थिए ।

‘बिवादका क्रममा आक्रोशित जेसिभी चालकले वडाध्यक्ष श्रेष्ठको टाउको र छातीमा बकेटले प्रहार गरेछन्,’ मेयर देवकोटाले भने, ‘हत्या गरेपछि वडाध्यक्षलाई त्यही पुरेर चालक भागेका रहेछन् ।’ प्रहरीले जेसिभी चालक रविन तामाङ भनिने हर्कबहादुर तामाङलाई पक्राउ गरेको मेयर देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७