सुदूरपश्चिममा कोरोना : दुई दिनयता मृत्युदर शून्य


१२ असार २०७८, शनिबार
korona

धनगढी, १२ असार । कोरोना भाइरसको दोस्रो लहर फैलिएयता सुदूरपश्चिम प्रदेशमा पछिल्ला दुई दिन सङ्क्रमित हुनेको मृत्युदर शून्यमा झरेको छ ।

गएको ४८ घण्टामा प्रदेशमा कुनै पनि कोरोना सङ्क्रमितको मृत्यु भएको जानकारी नआएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ । यो अवधिमा एक हजार ८९२ जनाको नमूना परीक्षण गरिएकोमा ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । ४४४ जना उपचार व्यवस्थापन पछि घर फर्किएका छन् । दोस्रो लहर फैलिएयता प्रदेशमा पहिलो पटक गएको जेठ २५ गते पनि मृत्युदर शून्य रहेको थियो ।
प्रदेशमा अहिलेसम्म ४३ हजार४४२ सङ्क्रमित पुगेका छन् ।

प्रदेशमा अहिलेसम्म दुई लाख ५९ हजार ८८७ जनाको कोरोना भाइरसको नमूना परीक्षण गरिसकिएको छ । दोस्रो लहरको कारोना भाइरस फैलिएयता गएको जेठ ७ गते एकै दिनमा प्रदेशमा सबै भन्दा बढी ९८४ जना नयाँ सङ्क्रमित थपिएका थिए । प्रदेशमा सबैभन्दा बढी एकै दिन ३१ जना सङ्क्रमितको मृत्यु भएको थियो ।

कोरोना भाइरसको रोकथामका लागि जारी गरिएको निषेधाज्ञा प्रदेशका जिल्लाहरुमा पछिल्लो हप्तादेखि केही खुकुलो परिएको छ । पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण र मृत्यु हुने दर घटेको देखिएपनि सङ्क्रमणको जोखिम यथावत रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।

निर्देशनालयको तथ्याङ्क विश्लेषण गर्दा हालसम्म प्रदेशमा जम्मा नमूना परीक्षण गरिएकामध्ये ४३ हजार ४४२ जना अर्थात झण्डै १७ प्रतिशतमा सङ्क्रमण भएको पाइएको छ । सङ्क्रमित हुने मध्ये ५७० जना आर्थात एक दशमलब ३१ प्रतिशतको मृत्यु भएको छ ।
हालसम्म एन्टिजेन परीक्षण ६६ हजार ९५० जनाको गरिएकोमा आठ हजार ३४४ र पिसिआर परीक्षण एक लाख ९१ हजार ९३७ जनाको गरिएकोमा ३५ हजार ९८ जना सङ्क्रमित भएका छन् । पीसीआर परीक्षण एक वर्षअघि देखिनै सुरु गरिएकोमा एन्टिजेन परीक्षण भने गएको वैशाखदेखि गर्न थालिएको हो ।

एन्टिजेन परीक्षण गराइ सङ्क्रमित हुनेको मृत्युदर दुई दशमलब ९१ प्रतिशत रहँदा पीसीआर परीक्षण गराइ सङ्क्रमित हुनेको मृत्यु दर शून्य दशमलब ९३ प्रतिशत रहेको छ । अहिलेसम्म एन्टिजेन परीक्षण गराएका २४३ र पीसीआर परीक्षण गराएका ३२७ जनाको उपचार व्यवस्थापनका क्रममा मृत्यु भएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७