दुई स्थानीय तहले छात्रवृत्तिमा एमबीबीएस पढाउने


१२ असार २०७८, शनिबार
doctor internet

जुम्ला, १२ असार । जुम्लाका दुई पालिकाले छात्रवृत्तिमा एमबीबीएस पढाउने भएका छन् । यहाँको चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकाले एमबीबीएस पढ्ने एक-एक विद्यार्थीलाई आफ्नै खर्चमा पढाउने निर्णय गरेका हुन् । पहिलो र दोस्रो कोभिड–१९ महामारीले निकै प्रभावित भएपछि चिकित्सकको अभाव कम गर्न यो कार्यक्रम ल्याइएको बताइएको छ ।

पातारासी गाउँपालिकाले एकजना विद्यार्थीलाई छात्रवृत्तिमा एमबीबीएस पढाउने भएको छ । गाउँपालिकाले सातौं गाउँसभामा एमबिबिएस छात्रवृत्तिमा पढाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । ‘शिक्षा, स्वास्थ्य, विद्युत्, सञ्चार र रोजगार हाम्रो सरोकार र कृषि, जडीबुटी, पर्यटन समृद्ध पालिका निर्माणको मूल आधार’ भन्ने मूल नारासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । पातारासी गाउँपालिका स्वास्थ्य संयोजक रतन बुढ्थापाका अनुसार गाउँपालिकामा एमबीबीएस पढेका एक जना व्यक्ति पनि छैनन् ।

छात्रवृत्तिमा भएपनि एमबीबीएस पढाउनु पर्छ भन्ने पाठ कोभिड महामारीले नै सिकाएको प्रमुख प्रशासनिक अधिकृत टेकबहादुर बुढथापाले बताए । ‘गाउँपालिकाले एमबिबिएस पढ्ने एक जनाको सम्पूर्ण खर्च व्यवस्था गर्ने नीति ल्याएको छ । पातारासीमा अहिलेसम्म एमबिबिएस अध्ययन गरेको कोही नभएकाले प्रोत्साहन गर्नका लागि यस्तो नीति लिएका हौं’, उनले भने ।

जिल्लाको एक मात्र नगरपालिका चन्दननाथ नगरपालिकाले पनि स्वास्थ्य र सामाजिक विकासलाई प्रथामिकता दिएर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । हालै नेपाल सरकार चिकित्सा शिक्षा आयोगले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई २० सिट एमबीबीएस अध्ययन अध्यापनको अनुमति पाएसँगै जुम्लाका स्थानीय तहले नीति तथा कार्यक्रममा यो विषयलाई महत्व दिएका छन् ।

नगर प्रमुख कान्तिका सेजुवालका अनुसार एमबीबीएस पढ्ने विद्यार्थीलाई विशेष छात्रवृत्ति उपलब्ध गराउने नीति तथा कार्यक्रममा समेटिएको छ । उनले भनिन्, ‘विपन्न, मेहनत जेहन्दार एक जना विद्यार्थीलाई छात्रवृति उपलब्ध गराउने नीति तथा कार्यक्रममा समेटेका छौं ।’ रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७