५८ वर्षपछि नकआउट चरणमा पुगेको वेल्स र डेनमार्क भिड्दै, कसले मार्ला बाजी ?


१२ असार २०७८, शनिबार
wales den SwHOjTJz0C

काठमाडौं, १२ असार । जारी युरोकप फुटबल अन्तर्गत नकआउट चरणको पहिलो खेलमा आज (शनिबार) वेल्स र डेनमार्क भिड्दै छन् ।
नेदरल्याण्डसको अम्स्टरड्याममा यो खेल नेपाली समयअनुसार ९ः४५ मा शुरु हुनेछ ।

वेल्सले कुनै पनि ठूला प्रतियोगिताको नकआउट चरणमा स्थान बनाएको यो तेस्रो पटक हो । १९५८ को विश्वकपमा ब्राजिलसँग क्वाटर फाइनलमा पराजित भएको वेल्सले त्यसयता ठूला प्रतियोगिताको नकआउट चरण खेल्न अर्को ५८ वर्ष कुर्नुपर्‍यो । पछिल्लो पटक सन् २०१६ को युरोकपमा वेल्सले सेमिफाइनलसम्मको यात्रा गरेको थियो ।

‘हामी युद्धका लागि तयार छौं किनकी यो युद्ध हुनेवाला छ,’ वेल्सका प्रशिक्षक रोबर्ट पेजले भने । जारी प्रतियोगिताको समूह चरणमा स्विचरल्यान्ड बराबरीमा रोकिएको वेल्सले टर्कीलाई हरायो भने इटालीसँग पराजित भयो । यता, समूह चरणमा सुरुवाती दुई खेल हारेको डेनमार्क अन्तिम खेलमा रुसविरुद्ध सनसनीपूर्ण ढंगले ४–१ को जित निकाल्दै दोस्रो चरणमा आइपुगेको हो ।

इटलीविरुद्धको समूह चरणको अन्तिम खेलमा रातो कार्ड खाएका कारण इथान अम्पाडु आजको खेलमा वेल्सका लागि उपलब्ध हुने छैनन् । यसबाहेक अन्य सबै खेलाडी फिट अवस्थामा छन् । इटलीविरुद्धको खेलमा प्रशिक्षक पेजले स्ट्राइकर किफर मुर, डिफेन्डरहरु विन डेनिस र क्रिस मेपहामलाई सुरुवाती लाईनअपमा खेलाएका थिएनन् ।

यद्यपी, मुर र डेभिसलाई रोममा वैकल्पिक खेलाडीका रुपमा उतारिएको थियो । तर, आजको खेलमा उनीहरु मैदान फर्कनेछन् । स्टार खेलाडी ग्यारेथ बेल चम्कन सके आजको खेलमा वेल्स हाबी हुने अनुमान गरिएको छ । जारी प्रतियोगितामा उनले कुनै गोल गर्न सकेका छैनन् । तर, उनी कुनै पनि समय खेलको नतिजा उल्ट्याउन सक्ने खेलाडी हुन् । वेल्ससँग अनुभवी खेलाडी आरोन राम्से पनि छन् ।

यता, स्टार खेलाडी क्रिष्ट्रियन एरिक्सन सुरुवाती खेलमै मैदान ढलेकाले डेनमार्कको यात्रा केही जटिल बन्यो । तर, रुसविरुद्ध चार गोल गर्दै डेनमार्कका खेलाडीहरुले आत्मविश्वास फर्केको प्रमाणित गरिसकेका छन् । आन्द्रेस क्रिष्ट्रिन्सन, मिक्केन ड्याम्सगार्ड, युसुफ पाउलसनलगायत खेलाडी लयमा देखिएका छन् ।

त्यसलै डेनमार्कले वेल्सलाई कडा चुनौती दिने अनुमान गरिएको छ । डेनमार्कले पछिल्ला १० खेलमध्ये ६ खेल जितेको छ भने वेल्सले पछिल्ला १० मध्ये ४ खेल मात्र जितेको छ । डेनमार्क १९९२ को उपाधि विजेता पनि हो । वेल्सविरुद्धको खेल डेनमार्कले जित्ने सम्भाव्यता ५८ प्रतिशत प्रक्षेपण गरिएको छ । त्यस्तै, वेल्सले जित्नसक्ने सम्भाव्यता ४२ प्रतिशत मात्रै व्यक्त गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७