त्रिविका रोकिएका सबै परीक्षा यसै वर्ष, विद्यार्थीलाई पायक पर्ने परीक्षा केन्द्र


१२ असार २०७८, शनिबार
Tu 1

काठमाडौं, १२ असार । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ । कोरोनाभाइरसका कारणले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि पनिकाले यस वर्ष रोकिएका सबै परीक्षा सम्पन्न गर्ने तयारी गरेको हो ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत वर्षदेखि रोकिएका सबै परीक्षा यसै वर्ष सकेर परीक्षा क्यालेन्डरलाई नियमित गराइने बताए । ‘कोरोना भाइरसको तेस्रो लहर आए पनि हामी स्वास्थ्यका मापदण्ड लागु गरेर परीक्षा सञ्चालन गर्दछौं’, उनले भने, ‘भरसक भौतिक उपस्थितिमा परीक्षा गर्नेछौं । त्यो सम्भव नभए पनि अनलाइनबाट परीक्षा गरेर क्यालेन्डलरलाई पहिल्यकै अवस्थामा पुर्‍याउँछौँ ।’

त्रिविको गत वर्ष भदौमा हुनुपर्ने स्नातक तह पहिलो वर्षको परीक्षा कोभिड–१९ का कारणले हुनसकेको छैन । पनिकाले स्नातक दोस्रो वर्षको परीक्षा आगामी साउन ४ गते र पहिलो वर्षको परीक्षा साउनको १० गतेदेखि सुरु गर्न थालेको छ । त्यसपछि स्नातक तह कानुनको प्रथम वर्षको परीक्षा र स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा गर्ने तयारीमा पनिका रहेको छ ।

परीक्षा नियन्त्रक जोशीका अनुसार दशैंअगाडि २०७७ सालका परीक्षा सम्पन्न र दशैं पछाडि २०७८ सालका परीक्षा शुरु गर्ने तयारी छ । दशैं पछाडि स्नातक तहका चारै वर्ष र स्नातकोत्तर तहको प्रथम वर्षको परीक्षा गरिने उनले बताए । दशैं अगाडि हुने परीक्षामा दुई लाख ५० हजार विद्यार्थी र दशैं पछाडिको परीक्षामा करिब ६ लाख परीक्षार्थी सहभागी हुने उनले जानकारी दिए ।

विद्यार्थीलाई पायक पर्ने परीक्षा केन्द्र
पनिकाले विद्यार्थीलाई पायक पर्ने परीक्षा केन्द्र तोक्ने भएको छ । कोरोना भाइरसका कारण घर गएका परीक्षार्थीलाई सहज होस् भनेर पनिकाले विद्यार्थीले रोजेको परीक्षा केन्द्रमा परीक्षा दिलाउने व्यवस्था गरिएको जोशीले बताए । योसँगै अब त्रिविको परीक्षा दिनका लागि काठमाडौं आउने बाध्यता हटेको छ ।

‘हामीले विद्यार्थीलाई परीक्षा फारामसँगै आफूलाई पायक पर्ने परीक्षा केन्द्र पनि छान्न भनेका छौं’, उनले भने, ‘विद्यार्थीले जुन परीक्षा केन्द्र रोज्छन्, त्यही परीक्षा केन्द्रमा गएर परीक्षा दिन पाउने छन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७