राष्ट्रपति भण्डारी प्रधानमन्त्रीको कार्यकर्ता जस्तो : देउवा

‘माधवजी लडाकु मित्र हो, उहाँलाई कुनै धोका हुँदैन’


१२ असार २०७८, शनिबार

काठमाडौं, १२ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता जस्तो बनेको बताएका छन् ।

आज (शनिबार) नयाँबानेश्वरमा विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले आफूलाई १४९ सांसदले प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरे पनि राष्ट्रपतिले रातारात संसद विघटन गरेको भन्दै आपत्ति जनाएका छन् ।

‘राष्ट्रपति ओलीको कार्यकर्ता भइन् । १४९ सांसद आउँदा पनि रातको दुई बजे विघटन गरिन् । केपीसँग भन्दा राष्ट्रपतिसँग दुःख लागेको छ’ उनले भने । देउवाले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना हुने र आफूलाई प्रधानमन्त्री बनाउन आदेश हुने विश्वास व्यक्त गरे ।
उनले भने, ‘अदालतले प्रधानमन्त्री बनाओस भनेको होइन, तर संविधानको व्याख्या त अदालतले गरिदिनुपर्यो नि । राष्ट्रपतिले आह्वान गर्नुभो, हामीले बहुमतसहित दावी गर्यौ । राष्ट्रपतिलाइ समस्या परेको भए सनाखत गरेको भए हुन्थ्यो । को कता छ भनेर सोधेको भए हुने । तर मध्यरातमा जे भयो गलत भयो । हाम्रो त सही छाप नै बुझाको छ नि, पार्लियामेन्टमा परेड गराएको भए नि हुन्थ्यो ।’

अर्को प्रसङ्गमा देउवाले माधव नेपालको प्रशंसा गर्दै उनीमाथि धोका नहुने डाडस दिए । नेपाललाई ओली पक्षबाट प्रधानमन्त्रीको अफर आएको सन्दर्भमा उनले माधव नेपाल लडाकु मित्र भएको बताए । उनले भने– माधवजी लडाकु मित्र हो । उहालाई पनि कुनै धोका हुँदैन । उहाँकै नेतृत्वमा एमाले लोकतन्त्रको पक्षमा उभिन्छ ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७