दाताबाट ३६७ भेन्टिलेटर प्राप्त

भेन्टिलेटर चलाउन सक्ने विशेषज्ञको दरबन्दी सरकारी अस्पतालमा ८० मात्र, २९ जना कार्यरत


१३ असार २०७८, आईतवार
फाइल फोटो

काठमाडौं, १३ असार । कोभिड महामारी सुरु भएपछि विभिन्न दातृराष्ट्र तथा संस्थाबाट अहिलेसम्म तीन सय ६७ वटा भेन्टिलेटर प्राप्त भएका छन् । सरकारले तीन सय चार भेन्टिलेटर विभिन्न अस्पतालमा पठाएको जनाएको छ ।

सरकारले भने अघिल्लो वर्ष जम्मा २२ भेन्टिलेटर मात्र किनेको छ । तर, स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएपछि स्वास्थ्य मन्त्रालयले यसपटक खरिदमा पहल लिएको छैन । त्यसैले स्वास्थ्य प्रणालीमा सुधारको कार्यक्रम दाताकै सहयोगमा निर्भर छ ।

कोभिडको पहिलो छालमा दुई सय आठ भेन्टिलेटर सहयोगस्वरूप प्राप्त भएको थियो । त्यस्तै, दोस्रो छालका दौरानमा एक सय ५९ भेन्टिलेटर सहयोगमा थपिएका छन् । अहिलेसम्म नौ सय ७० अक्सिजन कन्सन्ट्रेटर सहयोगमा आएका छन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारी स्वास्थ्य मन्त्रालयको प्रणालीमा प्राप्त भएका सहयोगको मात्रै तथ्यांक राखिएको बताउँछन् । ‘कतिपय दातृनिकायले सहयोग गर्ने भनेर घोषणा गर्छन्, आउन समय लाग्न सक्छ, तर मन्त्रालयले प्राप्त नगरेका उपकरणको तथ्यांक राखिएको छैन,’ उनी भन्छन्, ‘कपितय दातृनिकायले सहयोग गरेका उपकरण सीधै अस्पतालमा पनि गएका छन् । त्यसको हिसाब पनि मन्त्रालयमा छैन ।’

अघिल्लो वर्ष कोरोना महामारी विस्तार हुन समय लागेको थियो, त्यसैले स्वास्थ्य प्रणालीले धानेको थियो । तर, दोस्रो छाल ह्वात्तै आएपछि भेन्टिलेटर र अक्सिजन नपाएर थुप्रैको ज्यान गएको थियो । महामारीले नेपालको स्वास्थ्य प्रणाली क्र्यास भएको भन्दै विश्व स्वास्थ्य संगठनले नै विश्व समुदायबाट सहयोगको अपिल गरेको थियो ।

‘कोभिडको दोस्रो छाल आउँदै छ भन्ने थियो, तर सरकार र चिकित्सकले तयारी गर्न नपाउँदै महामारी अनियन्त्रित भएपछि स्वास्थ्य उपकरण व्यवस्थापनमा कठिनाइ भएको हो,’ मन्त्रालयका सहप्रवक्ता अधिकारी भन्छन् ।

कोरोना महामारी नियन्त्रणबाहिर गएपछि सरकारले पनि अन्तर्राष्ट्रिय समुदायसँग औपचारिक रूपमै सहयोग मागेको थियो । सरकारले अक्सिजन सिलिन्डर, भेन्टिलेटर र अक्सिजन कन्सन्ट्रेटर जे सकिन्छ सहयोग गर्न दूतावासबाट पनि पहल भएको थियो ।

व्यवस्थापन महाशाखाका उपसचिव उपेन्द्र ढुंगानाका अनुसार सरकारले भेन्टिलेटरलगायत उपकरण खरिद गरेको छैन । ‘स्वास्थ्य उपकरण सहयोगमा नै आइरहेका छन् । थप खरिद गरिएको छैन । केही प्रदेशहरूले खरिद गरेका छन्, तर त्यसको तथ्यांक केन्द्रसँग छैन,’ उनले भने । सहयोगमा प्राप्त भएका उपकरण विभिन्न जिल्लाका अस्पतालमा वितरण गरिएको उनले बताए ।

जिल्ला–जिल्लामा पठाइएका भेन्टिलेटर सञ्चालन गर्न जनशक्ति नभएकाले स्टोरमा राखिएका छन् । यता राजधानीका अस्पतालमा जडान भएका भेन्टिलेटर पनि कतै बिग्रिएका छन्, कतै जनशक्ति अभावमा प्रयोगविहीन छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड संक्रमितको उपचारका लागि २१ भेन्टिलेटर छन् । तर, तीनवटा बिग्रिएका छन् । जब कि गम्भीर बिरामीको चाप नघट्दा भेन्टिलेटर अभाव भने अहिले पनि छ ।

त्यस्तै, शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्लेका अनुसार कोरोना नियन्त्रणका लागि शिक्षण अस्पतालमा पाँच भेन्टिलेटर थपिएका छन् । शिक्षण अस्पतालमा भएका ६० भेन्टिलेटरमध्ये २८ वटा भेन्टिलेटर कोभिड उपचारमा छन् । पाँच वटा भेन्टिलेटर बिग्रिएका छन् ।

टेकु अस्पतालमा भएको र सहयोग गरी २१ भेन्टिलेटर पुगेका छन् । ‘अहिले अस्पतालमा भएका सबै भेन्टिलेटर सञ्चालनमा छन् । योभन्दा धेरै सञ्चालन गर्न पनि सकिँदैन,’ निर्देशक डा. सागर राजभण्डारी भन्छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७