कोभिड खोप लगाउन साढे १३ लाखको आवेदन


१३ असार २०७८, आईतवार
korona khop

काठमाडौं, १३ असार । कोरोना खोप लगाउन १३ लाखभन्दा बढी नागरिकले स्वेच्छिक आवेदन भरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागका अनुसार शुक्रबार दिउँसोसम्म कोभिड– १९ पहिलो डोज खोपका लागि स्वैच्छिक आवेदन फारम भर्ने संख्या १३ लाख ३९ हजार ४६ पुगेको छ । गत ३१ वैशाखमा सरकारले खोप लगाउन इच्छुक नागरिकबाट आवेदन माग गरेको थियो ।

सरकारले सबै नागरिकलाई पुग्ने खोप ल्याउन नसक्ने आकलन गर्दै सार्वजनिक खोप लगाउन चाहनेबाट विवरण माग गरेको हो । यद्यपि, स्वैच्छिक फारम भरेकाले पनि खोप कहिले पाउने भन्ने टुंगो छैन । स्वास्थ्य मन्त्रालयका एक अधिकारी भन्छन्, ‘आवेदन दिँदैमा खोप पाउने भन्ने छैन । खोपको उपलब्धता र फारम भर्नेको प्राथमिकता हेरेर खोप दिइने हो ।’

तथ्यांक संकलन गर्ने काम स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सूचना व्यवस्थापन इकाइले गर्दै आएको छ । मन्त्रालयले कोभिड– १९ विरुद्धको खोप लगाउन चाहने १८ वर्ष र सोभन्दा बढी उमेरका व्यक्ति आफैले प्रि–रजिस्ट्रेसन फारम भर्न तथा भराउनका लागि वेबसाइट र एप छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलका अनुसार बाहिरबाट छुट्टै खोप माग गर्नेको संख्या पनि पाँच लाखभन्दा बढी पुगेको छ । खोप माग्न स्थानीय तह पुग्ने संघसंस्थालाई जनप्रतिनिधिले सीधै विभाग पठाउने गरेका छन् । त्यसले खोप माग्नेको भिड स्वास्थ्य सेवा विभागमा बढेको विभागका एक कर्मचारीले बताए ।

२२ असारबाट भेरोसेलको दोस्रो मात्रा सुरु
कोभिडविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा २२ असारबाट दिइने भएको छ । त्यसका लागि काठमाडौंमा ३२ वटा खोप केन्द्र राख्ने प्रस्ताव छ । महानगरपालिकाभित्र १३ अस्पतालमा, दक्षिणकाली नगरपालिकामा एक र अरू नौवटा नगरपालिकामा दुई–दुईका दरले खोप केन्द्र राख्ने प्रस्ताव गरेको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए ।

‘तत्काल ३२ वटा खोप केन्द्र राख्ने प्रस्ताव गरिएको छ । त्यसलाई आवश्यकताका आधारमा थपघट गर्न सकिनेछ । खोप केन्द्रको अन्तिम टुंगो दुई–तीन दिनभित्रै लाग्नेछ,’ खड्काले भने । स्वास्थ्य सेवा विभागले ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई गत २५ जेठपछि पहिलो मात्रा भेरोसेल खोप लगाएका न्यूनतम तीन हप्ता पुगेकालाई दोस्रो मात्रा लगाउन निर्देशन दिएको छ ।

गत २५ जेठदेखि सुरु भएको खोप अभियानमा ६० देखि ६४ वर्ष उमेर समूहकालाई लक्षित गरी खोप दिने भनिएको थियो । तर, खोप पर्याप्त नहुँदा सो उमेर समूहका सबैले पहिलो मात्रा खोप लगाउन पाएका छैनन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७