विपक्षी गठबन्धनका शीर्ष नेताको पत्रकार सम्मेलन : राष्ट्रपतिमाथि प्रहार, सर्वोच्चमाथि विश्वास


१३ असार २०७८, आईतवार

काठमाडौं, १३ असार । पाँच दलीय विपक्षी गठबन्धनका शीर्ष नेताहरूले संविधान र लोकतन्त्र बचाउनका लागि दीर्घकालीन उद्देश्यका साथ गठबन्धन बनाइएको प्रस्ट्याएका छन् ।

सर्वोच्च अदालतमा संसद् विघटनसम्बन्धी सुनुवाइ जारी रहेकै वेला तीन दिनकै बीचमा दोस्रो पटक सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै विपक्षी गठबन्धनका शीर्ष नेताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका र नियतमाथि पनि गम्भीर प्रश्न उठाएका छन् । लोकतन्त्र बचाउने गरी सर्वोच्च अदालतले संविधान र कानुनसम्मत फैसला गर्ने उनीहरूले विश्वास पनि व्यक्त गरेका छन् ।

गठबन्धनको नेतृत्व गरेका कांग्रेस सभापति शेरबहादुर देउवाले संविधानको अन्तिम व्याख्या गर्ने ठाउँ सर्वोच्च अदालत भएको र त्यहाँबाट आफूहरूको पक्षमा फैसला आउने विश्वास व्यक्त गरे । ‘राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिमको सरकारका लागि आह्वान गर्नुभएको हो । उहाँले आह्वान गरेअनुसार नै एक सय ४९ जना सांसदहरूको हस्ताक्षरसहित हामीले दाबी गरेका हौँ । अदालतमा त झन् सशरीर दाबी गरेका छौँ,’ देउवाले भने, ‘संविधानको व्याख्या गर्ने अन्तिम ठाउँ अदालत हो । हामीलाई विश्वास छ, अदालतले संविधानअनुसार नै हाम्रो पक्षमा फैसला गर्छ ।’

विपक्षी गठबन्धनले राजनीतिक बिटमा लेख्ने पत्रकारसँग गरेको छलफलमा सभापति देउवाले अदालतले आफूलाई प्रधानमन्त्री बनाएर एक महिनाभित्र विश्वासको मत लिन लगाउन राष्ट्रपतिलाई आदेश गर्ने विश्वाससमेत व्यक्त गरे ।

‘संसद्को कुनै पनि सदस्यले बहुमत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा प्रधानमन्त्री नियुक्त हुने र एक महिनाभित्रमा विश्वासको मत लिने प्रस्ट लेखेकै छ,’ देउवाले भने, ‘तर, राष्ट्रपतिले त्यसलाई अंगीकार गर्नुभएन । त्यसैले संविधानको अन्तिम व्याख्याकार अदालत भएकाले हामी अदालत गएका हौँ ।’ संविधानको व्याख्या गर्ने अन्तिम ठाउँ अदालतप्रति आफूहरूको विश्वास रहेको देउवाले सुनाए ।

कांग्रेस सभापति देउवाले राष्ट्रपतिले संविधानमै प्रस्ट लेखेको कुरा अवज्ञा गर्दै पार्टी कार्यकर्ताको भूमिका निभाएको बताए । नयाँ सरकार गठन गर्न अवरोध गरेर प्रतिनिधिसभा विघटनमा प्रधानमन्त्रीको भन्दा राष्ट्रपतिको बढी गल्ती रहेको उनले बताए ।

‘संविधानमै संसद्को कुनै पनि सांसदले बहुमत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा उसलाई प्रधानमन्त्री नियुक्त गर्ने स्पष्ट लेखेको छ, तर राष्ट्रपतिले मान्नुभएन । राष्ट्रपतिले राष्ट्रपतिको भूमिकामा नभएर ओलीको कार्यकर्ता भएर काम गर्नुभयो । मलाई पहिला मन्त्रिपरिषद् पुनर्गठन गर्न पनि दिनुभएन । अहिले धमाधम शपथ खुवाउनु भयो,’ देउवाले भने, ‘राष्ट्रपति हदभन्दा बढी ओलीको कार्यकर्ता हुनुभयो । प्रतिनिधिसभा विघटनमा प्रधानमन्त्रीको भन्दा राष्ट्रपतिको बढी गल्ती छ । हामीले बुझाएको हस्ताक्षर नै सनाखत नगरेर राष्ट्रपतिले गल्ती गर्नुभयो ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धन कुनै स्वार्थमा केन्द्रित भएर नबनेको दाबी गरे । ‘गठबन्धन कुनै स्वार्थमा केन्द्रित छैन, मुद्दामा आधारित भएर बनेको गठबन्धन हो । ०७४ को आमनिर्वाचनपछि नै मलाई पाँच वर्षकै लागि प्रधानमन्त्री बन्ने प्रस्ताव आएको हो । तर, मैले राजनीतिक स्थायित्व र समृद्धिका लागि त्याग गरेको हुँ । अहिले शेरबहादुरजीले पनि प्रधानमन्त्री मलाई दिनैपर्छ भनेर भन्नुभएको होइन । दायाँ–बायाँ माधवजी र म–हामी छौँ, हामीले नै उहाँलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका हौँ । यो लडाइँ प्रधानमन्त्री पदकै लागि मात्रै होइन,’ उनले भने, ‘योपटक हामी प्रधानमन्त्री हुन पाए, सरकार छिटो बनाउन पाए भन्नेबाट प्रेरित होइनौँ । यति कुरा प्रस्ट हुनुस् ।’

प्रचण्डले नेपाली जनताको लामो संघर्षबाट बनेको संविधानको रक्षा र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षाका लागि पाँच दलको गठबन्धन बनेको स्पष्ट पारे । ‘लामो संघर्ष र बलिदानीपछि बल्ल–बल्ल संविधानसभाबाट संविधान बनेको हो । अहिले त्यो संविधानमाथि नै निर्मम किसिमबाट प्रहार भइरहेको छ । त्यसबाट यो संविधानको रक्षा गर्नैपर्छ । नत्र देश र जनताको भविष्य बर्बाद हुन्छ भनेर हामी लागेका हाँै । यो कुनै स्वार्थका लागि बनेको गठबन्धन होइन,’ प्रचण्डले भने ।

उनले पाँच पूर्वप्रधानमन्त्रीहरूका विदेशी हस्तक्षेपसम्बन्धी अभिव्यक्तिबारे आफूहरूलाई धेरै खुल्न बाध्य नपार्न आग्रह गरे । ‘अहिले जे–जस्ता चलखेल भइरहेका छन्, त्यहीबारे हामीले बोलेका हौँ । हामी पाँच पूर्वप्रधानमन्त्रीले जुन अभिव्यक्ति दिएका छौँ । बुझ्नेलाई इसारा काफी छ,’ उनले भने, ‘हामीलाई धेरै नखुलाउनुस् । दुई वाक्यमा प्रस्टै छ, नेताहरूलाई धेरै खुल्न लगाएको पनि राम्रो हुँदैन ।’

उनले प्रधानमन्त्री ओलीले अदालतलाई धम्क्याएर प्रभावित पार्न खोजे पनि संविधान र कानुनअनुसार देउवा नै प्रधानमन्त्री बन्ने निश्चित देखिएकाले त्यसलाई ‘सेटिङ’ का रूपमा अर्थ्याउने नै गलत भएको बताए । ‘केपी ओलीले अहिले अदालतलाई धम्क्याउन, थर्काउन थालेका छन् । कहिले महान्यायाधिवक्ताबाट थर्काउन लगाउने, कहिले आफै । सर्वोच्चले संविधानअनुसार, ऐन–कानुनको व्यवस्थाअनुसार फैसला गर्छ । हेर्नुहोला केही दिनपछि शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ । सेटिङमा भनेको होइन, हेर्नुहोला, त्यही हुन्छ,’ प्रचण्डले भने ।

प्रचण्डले आफूले राष्ट्रपति र प्रधानमन्त्री संस्थाको सन्दर्भमा व्यक्त गरेको भनाइलाई तोडमोड गरेर प्रस्तुत गरेकोमा असन्तुष्टि जनाए । ‘मलाई मान्छेहरूले प्रधानमन्त्री र राष्ट्रपति भन्ने पदै कस्तो–कस्तो भयो, एलर्जी हुन्छ भनेका छन् । किनभने केपी ओली र विद्यादेवीको अनुहार आइहाल्ने ! यस्तै हो भने त…भन्दै बुद्धिजीवीले बडो मार्मिक रूपमा मलाई भनेका थिए ।

त्यही सन्दर्भमा सम्पादकहरूसँगको अन्तरक्रियामा मैले राजाको जतिको पनि भएन भनेर अलिकति व्यंग्य गर्दै भनेको हुँ,’ प्रचण्डले भने, ‘राजा राम्रो भनेको होइन है, जिन्दगीभर गणतन्त्रको लागि लड्ने मान्छे हुँ । तर, केपी सोच्न पनि कस्तो सोच्ने के ! ज्यादाबिदी भयो, राष्ट्रपति रबर स्ट्याम्प पो भन्न खोजेको त ! राजा ज्ञानेन्द्रको शाही आयोग सर्वोच्चले खारेज गरेको हो । अहिले ‘हु इज’ केपी ओली ? उनले राष्ट्रपतिबारे अदालतमा प्रश्न उठाउन पाइँदैन भन्न मिल्छ ?’

प्रचण्डले संविधान र लोकतन्त्रका पक्षमा उभिएका माधव नेपाल नै एमालेको वास्तविक नेता भएको दाबीसमेत गरे । ‘हाम्रो पद के संकट छ र म माओवादी केन्द्रको अध्यक्ष छु, शेरबहादुरजी कांग्रेसको सभाभपति हुँदै हुनुहुन्छ, केही संकट छैन । अलिकति अप्ठेरो माधवजीलाई हो, तर माधवजी झन् ठूलो नेता भइसक्नुभो, मैले हेर्दा उहाँ झन् दरोसँग उभिँदै जानु भएको छ । एमालेको ‘रियल लिडर’ का रूपमा उभिँदै आउनुभएको छ । केपीचाहिँ खस्किँदै–खस्किँदै, केलाई भन्दा केलाई लाज भनेजस्तो स्थिति बनेको छ,’ उनले भने ।

अन्तरक्रियामा जनता समाजवादीको उपेन्द्र यादव र डा. बाबुराम भट्टराई समूहका नेता राजेन्द्र श्रेष्ठ र राजमोका महासचिव मनोज भट्टले पनि लोकतन्त्रको रक्षाकै लागि गठबन्धन बनेको दाबी गरेका थिए ।

एमाले वरिष्ठ नेता माधव नेपालले केपी ओलीले ‘कोर्स करेक्सन’ गर्छन् भन्ने आशा नरहेको बताएका छन् । सम्पादकहरूसँगको छलफलमा ओलीले ‘कोर्स करेक्सन’ गरे स्वागत गर्ने बताएका नेता नेपालले शनिबार पत्रकारहरूसँग छलफलपछि आफूलाई त्यस्तो विश्वास नरहेको बताए ।

‘ओलीले दक्षिपन्थीहरूको गठबन्धन बनाएर गलत नीति अवलम्बन गर्नुभएको छ । उहाँमा गलत प्रवृत्ति छ । सुध्रिएर ठीक बाटोमा जान चाहनुहुन्छ र बुद्ध भएर बस्नुहुन्छ भने ठिकै छ । रत्नाकर डाकु पनि वाल्मीकि बनेका छन् । अझै पनि केही साथीलाई बालुवा पेलेर तेल निस्किन्छ कि भन्ने लागेको छ, तर तेल निस्किनेवाला छैन । उनको पटक–पटकको धोका, चालबाजीबाट वाक्कदिक्क भएर पहिला हामी हैरान भएका थियौँ, अहिले देशै हैरान भएको छ,’ नेपालले भने ।

उनले विश्वासको जगमा गठबन्धन बनेकाले ओलीसँग मिल्ने गरी दुईतिर खुट्टा नटेकेकोे पनि प्रस्ट्याए । ‘हामी विश्वासका साथ एकताबद्ध भएका छौँ, त्यो विश्वास केही वैचारिक मान्यताका आधारमा उभिएको छ । मन यता, शरीर उता होइन । मन देशलाई ठीक दिशामा लैजाने ‘पजिटिभ डिरेक्सन’मा जान्छ,’ उनले भने । सर्वोच्च अदालतको फैसलापछि विपक्षी गठबन्धनले आधारपत्र ल्याउने पनि नेपालले बताए ।

तपाईं प्रधानमन्त्री पद पाएपछि गठबन्धनबाट बाहिरिने हो कि भन्ने पत्रकारको प्रश्नमा नेता नेपालले अहिलेको संघर्ष प्रधानमन्त्री पदका लागि नभएको प्रस्ट्याए । ‘यो व्यक्तिगत झगडा र पद तानातानको विषय होइन । पिएम दिएपछि माधव नेपालको खुट्टा काम्ने हो कि भन्ने हुँदैन । माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ भन्ने होइन, आई नै सक्यो ! शेरबहादुरजीलाई बीचैमा पत्तासाफ गर्नुस्, तपाईं भइहाल्नुस् भनेका छन् । तर, माधव नेपाल धोका दिने मान्छे होइन । हामीले जुन प्रक्रिया अगाडि बढाइरहेका छौँ, त्यसमा कुनै धोका सम्भव छैन । हस्ताक्षर फिर्ता गर्ने, सर्वोच्च अदालतबाट ब्याक हट्ने गरी यो प्रक्रियामा कुनै पनि हालतमा धोका दिने सम्भव छैन ।’

संवैधानिक व्यवस्थाअनुसार देउवा नै प्रधानमन्त्री बन्ने विश्वास व्यक्त गर्दै नेपालले लोकतन्त्र बचाउने उद्देश्यले गठबन्धन बनेकाले धेरै शंका–उपशंका नगर्न आग्रहसमेत गरे । ‘संविधानको धारा ७६ को ५ ले सांसदहरूलाई स्वतन्त्रता दिएको छ । ७६ को ५ अनुसार उहाँलाई सर्वोच्च अदालतले प्रधानमन्त्री बनाउनुपर्छ सिधा कुरा, त्यसपछि सिनारियो नै परिवर्तन हुन्छ । सिनारियो परिवर्तन भइसकेपछि ३० दिनभित्र हामी अर्कै प्रयत्न गर्छौँ । उहाँ प्रधानमन्त्री हुनेबित्तिकै माधव नेपाल सांसदबाट पत्तासाफ ! यी सबै चिजलाई ध्यान दिएर जाने सोचेका छौँ । लोकतन्त्र बचाउन गठबन्धन बनेकाले शंका–उपशंका नगर्नुसर,’ नेपालले भने ।

ओलीले पार्टीभित्र आफ्नो समूहका नेताहरूलाई पत्तासाफ गर्ने गरी टिकट वितरणमा एकलौटी गरेको समेत नेपालले स्मरण गरे । यद्यपि, उनले आफूलाई पार्टीको आन्तरिक मामिलामा धेरै तीतो नपोख्न आफ्नै समूहका नेताहरूले दबाब दिइरहेको संकेत समेत गरे । ‘०७४ को टिकट वितरणका थुप्रै कुरा छन्, तर आज मलाई हाम्रै साथीले धेरै तीतो नबोल्नुस् है भनेर पटक–पटक भन्नु भएको छ,’ नेपालले पार्टी मिलाउने छलफलमा सहभागी नेताहरूको सुझाबलाई संकेत गर्दै भने । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७