देशभर मनसुनी वायुको प्रभाव : तीन प्रदेशमा भारी वर्षाको सम्भावना


१३ असार २०७८, आईतवार
Rain

काठमाडौं, १३ असार । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले बताएका छन् । हाल देशको दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही वागमती र प्रदेश–१ का केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसमविदले बताएका छन् । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, वागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश–१ र वागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेका प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ । यातायात सेवा समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि भिागले भनेको छ ।

लामो समय पानी परेर गलेको जमिन कमजोर भएको ठाउँमा पहिरो जानसक्ने भएकाले कमजोर पहाड भएका बस्तीहरु स्थानान्तरण गरिनु उचित हुने मौसमविद् मीनकुमार अर्यालले बताए । पहाडी भू–भागमा पानी पर्दा तराईका नदीहरुमा बाढी जुनसुकै बेला आउनसक्ने भएकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुले पनि विशेष सर्तक हुनुपर्ने र सकेसम्म रातको समय सुरक्षित ठाउँमा बस्नुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७