काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी, कहिले खुल्ला सार्वजनिक यातायात ?


१३ असार २०७८, आईतवार
kathamandu 1 scaled

काठमाडौं, १३ असार । काठमाडौं उपत्यकामा यसअघि जारी गरिएको निषेधाज्ञा आज (आइतबार) राति १२ बजे सकिंदैछ । यसैले उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने तयारी भएको छ । दोस्रो चरणको महामारी मत्थर भए पनि कोरोनाको खतरनाक डेल्टा प्लस भेरियन्ट पाक्ष्इएका कारण संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने तयारी भइरहेको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार अझै एक साता निषेधाज्ञा थपिने छ ।
लामो समयदेखिको निषेधाज्ञाले सर्वसाधरणको जनजीवनमा असजिलो भए पनि महामारीको जोखिम कायमै रहेकाले निषेधाज्ञा तत्काल खोल्ने अवस्था नगरेको प्रजिअ निरौला बताउँछन् । उनले भने, ‘स्वास्थ्य मन्त्रालय, कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग समन्वय गरेर निषेधाज्ञा थप गरिन्छ । पछिल्लो समय खुलाउन माग गरिएको केही क्षेत्र पनि खुकुलो गर्ने कि भन्ने छ । यस विषयमा हामी चाँडै छलफल गर्नेछौं ।’

अहिले समय तोकेर सबै किसिमका पसलहरु खोल्न दिइएको छ । मोटरसाइकल, जीप, कार, भ्यान, ट्याक्सीलगायतमा जोर–बिजोर लागु गरिएको छ । पठाओ र टुटल सेवा पनि सञ्चालनमा आइसकेको छ । सार्वजनिक सवारी–साधन, विद्यालय, मठ–मन्दिर, पार्टी प्यालेसलगायतमा प्रतिबन्ध कायमै छ । सरोकारवालाहरुले निषेधाज्ञा थप खुकुलो बनाउन माग गरेका छन् ।

‘कुन–कुन क्षेत्रमा खुकुलो बनाउने भन्नेबारे टुंगो लागिसकेको छैन । यसबारे केही छलफल भइसकेको छैन’, उनले भने, ‘सार्वजनिक यातायात खुलाउने विषयमा सकारात्मक सुझावहरु आएका छन् , तर, सबै क्षेत्र एकैचोटी खुकुलो बनाएर मात्रै हुँदैन । चरणबद्ध रुपमा खुकुलो बनाउँदै लैजानुपर्छ । पछिल्लो साता र अघिल्लो साताको संक्रमण उस्तै उस्तै छ । अब पछिल्लो साताको संक्रमण दरको समीक्षा गरी निषेधाज्ञाको मोडालिटी परिवर्तन गरिनेछ । पहिला भन्दा खुकुलो होला ।’

राष्ट्रिय यातायात व्यवसायी महासंघले सार्वजनिक यातायात सञ्चालनमा ल्याउन माग गरेको छ । त्यसमा प्रशासन सकारात्मक देखिएको बताइएको छ । तर, यस विषयमा अन्य सरोकारवालासँग पनि छलफल गर्नुपर्ने भएकाले अहिले नै भन्न नसकिने अधिकारीहरुको भनाइ छ । काठमाडौं उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७