संसद विघटनविरुद्धको मुद्दा : आज रिट निवेदक पक्षको बहस सकिने, आजै सरकारी पक्षकाे बहस

बहसका लागि अब २ घण्टा ३५ मिनेट समय बाँकी


१३ असार २०७८, आईतवार
sarbochha

काठमाडौं, १३ असार । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आज (आइतबार) रिट निवेदकतर्फका बाँकी कानुन व्यवसायीहरुले बहस गर्दैछन् । रिट निवेदकतर्फका कानुन व्यवसायीहरुलाई शुरुवाती बहस गर्न अब २ घण्टा ३५ मिनेटको समय बाँकी रहेको छ ।

संवैधानिक इजलासमार्फ भइरहेको शुरुवाती बहसमा रिट निवेदकतर्फका कानुन व्यवसायीको पालो सकिएपछि विपक्षी अर्थात सरकारतर्फका कानुन व्यवसायीहरुले शुरुवाती बहस गर्नेछन् । सरकार तर्फका कानुन व्यवसायीहरुले १५ घण्टाको बहस सकेपछि फेरि पनि रिट निवेदकतर्फका कानुन व्यवसायीहरुले समय पाउने छन् ।

रिट निवेदकका कानुन व्यवसायीले बहस गर्ने समय शुक्रवार नै अन्त्य गर्ने भनिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले उनीहरुलाई २ घण्टा ३५ मिनेट समय बाँकी रहेको जानकारी गराएर इजलास स्थगित गरेका थिए ।

शुक्रवार वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल, अधिवक्ता डा.दिनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् र विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दाबी नपुग्ने भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन गरेका थिए । प्रतिनिधि सभा विघटन भएको यो दोस्रो पटक हो ।

बहुमत सांसदको हस्ताक्षरसहित उपस्थित हुँदा समेत देउवा संविधानको धारा ७६ को उपधारा ५ अनुसार नियुक्त नभएपछि १४६ सांसद सर्वोच्च अदालत पुगेर प्रतिनिधि सभा पुनःस्थापना र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७