५० प्रकारका क्यान्सर पत्ता लगाउन सक्ने ‘ब्लड टेस्ट’ को आयो प्रभावशाली नतिजा


१३ असार २०७८, आईतवार
cancer

बेलायत, १३ असार । रोगसम्बन्धी लक्षण देखा पर्नु अगाडि नै ५० किसिमका क्यान्सरहरु पत्ता लगाउन सक्ने एउटा साधारण ‘ब्लड टेस्ट’ छिटै प्रयोगमा ल्याउन सकिने वैज्ञानिकहरुले बताएका छन् । यससम्बन्धी प्रारम्भिक अनुसन्धान बेलायतमा सञ्चालन गरिएको थियो जसको नतिजा अधिक प्रभावशाली देखिएको उनीहरुले बताएको गार्जियनमा प्रकाशित एक समाचारमा जनाइएको छ ।

यस ब्लड टेस्टमार्फत पहिलो चरणमै पत्ता लाग्न कठिन हुने किसिमका क्यान्सर जस्तै घाँटी, टाउको, पाठेघर, प्यानक्रियाटिक, ओएसोफेगल र ब्लड क्यान्सरको सहज पहिचान गर्न सकिन्छ । यो विशेष गरी ५० वर्ष भन्दा माथिको उमेरका बिरामी र रोगप्रति उच्च जोखिमयुक्त समुहलाई मद्दत गर्ने लक्ष्यले विकसित गरिएको हो ।

जर्नल ‘एनल्स अफ ओन्कोलोजी’ मा प्रकाशित वैज्ञानिकहरुको खोजमा यो टेस्टले कुनै संकेत या लक्षण देखा पर्नु पहिले नै एकदम सटिक रुपमा क्यान्सर पत्ता लगाउन सक्ने देखाएको छ । यो टेस्ट अमेरिकामा आधारित कम्पनी, ग्रेलले आविस्कार गरेको हो जसबारे अघिल्लो वर्ष रिपोर्ट गरिएको थियो । यो टेस्टले ‘जेनेटिक कोड –सेल–फ्रि डिएनए’ मा ट्युमर या क्यान्सरले रगतमा ल्याउने ‘केमिकल’ अर्थात रासायनिक परिवर्तनको खोजी गर्ने गर्दछ । तर त्यसैमार्फत क्यान्सरको पहिचान गर्न सक्छ ।

यसमा अर्को रोचक कुरा के रहेको छ भने यो परीक्षणलाई ‘मसिन लर्निङ एल्गोरिदम’, एउटा प्रकारको ‘आर्टिफिसियल इन्टेलिजेन्स’ को प्रयोग गरि निर्माण गरिएको छ । यसले ट्युमरले हाम्रो रगतमा फैलाउने परिवर्तित डिएनएको परीक्षण गरि क्यान्सर पत्ता लगाउँदछ । यो टेस्ट विशेष गरी डीएनएमा देखापर्ने ‘केमिकल’ बदलावहरुमा केन्द्रित रहन्छ जसलाई ‘मिथाइलेसन प्याटर्न’ पनि भनिन्छ ।

यस्तोमा हालैको अनुसन्धानपछि यो टेस्टले उच्च दरमा सहि नतिजा देखाउन सक्ने पाइएको हो । वैज्ञानिकहरुले यो टेस्टको प्रस्तुती २,८२३ रोग भएका र १,२५४ रोग नभएका मान्छेमा परीक्षण गरेका हुन् । र यसले क्यान्सर भएका ५१.५ प्रतिशत केसलाई पहिचान गर्न सफल भएको बताइएको छ । यसको नतिजा केबल ०.५ प्रतिशतमा मात्र गलत पाइएको थियो । यसका साथै यो टेस्टले क्यान्सर उपस्थित भएको ठाउँको टिस्यु समेत ८८.७ प्रतिशतमा पत्ता लगाएको छ ।

लन्डनका क्यान्सर विद् डाक्टर मार्को गर्लिङ्गरले भनेका छन्, ‘यो नयाँ अध्ययनले अत्यन्तै प्रभावशाली नतिजा देखाएको छ जबकी यो एउटा साधारण रगतको परीक्षण मात्र हो । तरपनि यसले विविध प्रकारका क्यान्सर पत्ता लगाउन सक्छ । यति मात्र नभइ यसको गलत ‘पोजेटिभ’ नतिजा देखाउने दर एकदमै कम हुनु अर्को महत्वपूर्ण विशेषता हो जसले बिरामीलाई गलत उपचार पाउनबाट जोगाउनेछ । त्यस्तै केही सामान्य क्यान्सर जस्तै फोक्सो, आन्द्राको क्यान्सरमा यो टेस्टले एकदमै सानो ट्युमर पनि पहिचान गर्न सकेको छ । त्यो चरणमा यी क्यान्सरहरु पत्ता लाग्नुले यसबाट ठीक हुने सम्भावना धेरै बढ्न जान्छ ।’

अमेरिकाका अर्का डाक्टर एरिक क्लेइनले भनेका छन्, ‘क्यान्सरलाई सुरुवाती चरणमै पत्ता लगायो भने यसको उपचार सफल हुने सम्भावना सबैभन्दा बढी हुन्छ । त्यसैले पनि यो खोज क्यान्सरको भारबाट उम्किने उल्लेखनीय अवसर साबित हुन सक्छ ।’

यस सम्बन्धी बेलायतको एनएचएसले १ लाख ४० हजार सहभागीमा परीक्षणको गर्ने बताएको छ जसको नतिजा चाहिँ २०२३ मा प्रकाशित हुने अपेक्षा गरिएको छ । यो टेस्ट अब छिटै नै एनएचएसका क्लिनिकहरुमा सुरु गरिने ‘नेस्नल एनएचएस क्लिनिकल डिरेक्टर फर क्यान्सर’ का प्रोफेसर पिटर जोन्सनले बताए । तर अझै पनि सर्वत्र रुपमा प्रयोग गर्नु अगाडि यो प्रविधि थप अर्को चरणको ट्रायलमा परीक्षण गरिने बताइएको छ । गार्जियनबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७