ओलीले बोलाए सर्वोच्चले अवैधानिक ठहर गरेको एमाले महाधिवेशन आयोजक कमिटी बैठक


१३ असार २०७८, आईतवार
43ce4e3d4c1c46332476a1f969c0afcb w1000 h500 cp 1

काठमाडौं, १३ असार । नेकपा एमालेले आउँदो असार १६ गते दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ ।
आइतबार बिहान बालुवाटारमा बसेको अध्यक्ष केपी शर्मा ओली पक्षीय स्थायी समिति बैठकले असार १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको हो ।

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले पछिल्लो राजनीतिक स्थिति, कोभिड महामारी र राष्ट्रिय राजनीतिका बारेमा संक्षिप्त तर गहन छलफल भएको बताएका छन् । एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टी एकताका लागि २०७५ जेठ २ को अवस्थामा पार्टी कमिटीको बैठक बोलाउनु पर्ने माग गरिरहेका बेला ओलीले त्यसलाई बेवास्ता गर्दै आयोजक कमिटीको बैठक बोलाएका हुन् ।

यसअघि सर्वोच्च अदालतले समेत आयोजक कमिटीलाई नचिन्ने भन्दै कमिटीले गरेको कारवाहीको निर्णय वैधानिक नभएको आदेश दिएको थियो । तर ओलीले सर्वोच्चको आदेशलाई समेत बेवास्ता गर्दै बैठक बोलाएका हुन् । आयोजक कमिटीको बैठक काठमाडौमा बस्ने प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

गत जेठ २७ गते कर्णाली प्रदेशका बर्खास्त एमालेका ४ सांसदलाई पुनर्बहाली गर्दै सर्वाेच्च अदालतले जारी गरेको अन्तरिम आदेशमा पछि बनेको एमालेको दसौं महाधिवेशन आयोजक कमिटी आधिकारिक संरचना नभएको र त्यसले गरेका निर्णय मान्य नहुने उल्लेख छ । स्थायी कमिटी बैठकको निर्णय सुनाउने क्रममा प्रवक्ता ज्ञवालीले सर्वाेच्च अदालतको आदेश गम्भीर त्रुटिपूर्ण भएको आरोप पनि लगाए ।

माधव नेपाल पक्षसँग विवाद भइरहेकै बेला प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रबाट प्रवेश गरेका रामबहादुर थापासहित २३ जना समेत समावेश एमालेको केन्द्रीय कमिटीलाई हालै दसौं महाधिवेशन आयोजक कमिटीमा परिणत गराएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७