‘संसद पुनर्स्थापना गरेर मात्र हुँदैन, देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश हुनुपर्छ’

‘पुत्र मोहमा फसेका धृतराष्ट्र र राष्ट्रपतिमा के फरक भयो ?’


१३ असार २०७८, आईतवार
satishkrishna

काठमाडौं, १३ असार । वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले विघटनसम्बन्धी मुद्दामा प्रतिनिधिसभा पुनर्स्थापना गरेर मात्र नपुग्ने भन्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश हुनुपर्ने बताएका छन् ।

संसद विघटनसम्बन्धी मुद्दामा आइतबार सर्वोच्च अदालतको संवैधनिक इजलासमा बहस गर्दै उनले देउवाले बहुमत सांसदको हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष दावी गरेकाले उनलाई प्रधानमन्त्री नियुक्तिको आदेश हुनुपर्ने बताएका हुन् । ‘आदेश जारी गर्दा प्रतिनिधि सभा पुनर्स्थापना गरेर बाँकी संसदमै हुन्छ भनेर हुँदैन । अहिलेसम्म बहुमत कायम राखेका देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश हुनुपर्छ र यो अनिवार्य छ । किनभने ओलीले पटक–पटक सम्वैधानिक दायरा नाघिसक्नु भएको छ’ उनले भने ।

वरिष्ठ अधिवक्ता खरेलले अघि भने ‘राष्ट्रपति र प्रधानमन्त्रीको व्यवहारका कारण पनि देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश अनिवार्य छ ।’

धारा ७६ (५) अनुसारको सरकार गठनमा राष्ट्रपतिले आफ्नो संवैधानिक दायित्व पूरा गरेको नदेखिएको भन्दै उनले राष्ट्रपतिले पनि आफूलाई सुधार गर्नुपर्ने बताए । गत मंसिरमा प्रतिनिधिसभाको विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय पुगेका तत्कालिन नेकपा सांसदहरु भीम रावल र पम्फा भुसाल ६÷६ घण्टा राष्ट्रपति कार्यालयमा कुर्दा समेत निवेदन दर्ता नभएको वरिष्ठ अधिवक्ता खरेलले स्मरण गरे ।

‘विशेष अधिवेशन माग गर्न सांसद जाँदा ६-६ घण्टा दर्ता नहुने, केपी ओलीको निर्णय राति नै सदर कसरी हुन्छ ? यहाँ त तिमी भन म गर्छु भने जस्तो भयो’ उनले भने । उनले प्रश्न गरे, ‘पुत्र मोहमा फसेका धृतराष्ट्र र राष्ट्रपतिमा के फरक भयो ?’

प्रधानमन्त्री नियुक्तिका लागि दलले नभई सांसदले व्यक्तिगत रुपमा मत दिनुपर्ने वरिष्ठ अधिवक्ता खरेलले बताए । ‘मत भनेको सांसदले दिने हो । ७६ (२) होस् कि अरूमा । नत्र विश्वासको मतमा किन मत विभाजन गरिन्छ दलको नेताले विश्वास दिए भइहाल्थ्यो नि’ उनले भने ।

सांसदहरुले ह्वीप उल्लंघन गरेर दिएका मतको पनि मान्यता हुने भन्दै उनले भने ‘ह्वीप उल्लंघन गरेर दिएको भोटको मान्यता हुँदैन भनेर विश्वका कुनै पनि संविधानले भनेको छैन । ह्वीप उल्लंघन गरेर दिएको भोटले मान्यता पाएका पर्याप्त उदाहरण छन्’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७