कर्णाली करिडोरमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध


१३ असार २०७८, आईतवार
karnali highway jumla road XpwgVhCbNt

कर्णाली, १३ असार । कर्णाली करिडोरअन्तर्गत कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ भौरेकुनामा सुख्खा पहिरो जादाँ सडक अवरुद्ध भएको छ ।सुख्खा पहिरो निरन्तर खस्दा यातायातका साधन चल्न नसकेको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए ।

‘कर्णाली राजमार्ग अवरुद्ध भएको त एक हप्ता बढी भयो’, उनले भने, ‘वर्षातका कारणले धेरै ठाउँमा पहिरो गएको थियो, कर्णाली राजमार्गको भौरेकुनामा सुख्खा पहिरो जाँदा राजमार्गमा ठूलो क्षति गरेको छ ।’

कर्णाली करिडोर कालिकोटको खुलालु–हुम्ला सडकमा वर्षात्का कारणले पहिरो जादाँ अवरुद्ध भएको हो । कर्णाली करिडोरअन्तरर्गत कालिकोटको नरहरिनाथ गाउँपालिका–१ लालीघाट, सान्नी त्रिवेणी गाउँपालिकाको भौरेकुना, रेगिँल, कोट, आमतडा, पचालझरना गाउँपालिकाको भुराबगर–जारकोट र बाजुराको करिडोरको सडकखण्डमा पहिरो गएको छ ।

पहिराले करिडोर क्षेत्रका विभिन्न ठाउँमा राखिएका बिलिब्रिज भत्काएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । करिडोर क्षेत्रका विभिन्न ठाउँमा पहिरो गएका कारणले सडक अबरुद्ध भएको र पहिरो पन्छाउनका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । ‘पहिरो पन्छाउने साधन नहुँदा समस्या भएको छ’, उनले भने, ‘पहिरो पन्छाउनका लागि पहल थालिएको छ, चाडै सञ्चालन गर्ने तयारी गरेका छौँ ।’

कर्णाली करिडोरमा कालिकोटको लालीघाटदेखि हुम्लाको सलिसल्लासम्म यात्रुबाहक सवारी साधन र मालबाहक सवारी साधन चल्ने गरेका भए पनि अहिले पहिराका कारणले अवरुद्ध भएको यातायात व्यवसायी धनबहादुर बटालाले जानकारी दिए ।
‘करिडोरका विभिन्न ठाउँमा पहिरो जादाँ यातायातका साधन चल्न सकेका छैनन्’, उनले भने, ‘अझै पहिरो पन्छाउन केही हप्ता लाग्ने देखिन्छ ।’ करिडोरमा सवारी साधन नचल्दा खाद्यान्न तथा अत्याश्यक बस्तुको ढुवानी रोकिएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७