नेपाल सरकार र विश्व बैंकबीच १७ अर्ब ७८ करोडको ऋण सम्झौता


१३ असार २०७८, आईतवार
Signing Ceremony Fiscal DPC WB MOF 27 June 2021

काठमाडौं, १३ असार । नेपालको उत्थानशील पुनरुत्थानका लागि नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर (१७ अर्ब ७८ करोड) नेपाली रुपैंयाँ बराबर सहुलियत ऋण सम्झौता भएको छ ।

नेपाल सरकार र विश्व बैंकबिच कोभिड–१९ महामारीबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरुको संरक्षण एवं दिगो विकास हासिल गर्न नेपाललाई १५ करोड अमेरिकी डलरको सहुलियत ऋण उपलब्ध गराउने सम्बन्धी वित्तीय सम्झौतामा हस्ताक्षर भएको हो ।

आइतबार भएको सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन् ।

अर्थ मन्त्रालयका सचिव ढुङ्गानाले यो सम्झौता अन्र्तगत प्राप्त हुने रकम कोभिड–१९ बाट प्रभावित भएको अर्थतन्त्रलाई पुनर्जिवन दिन, आर्थिक गतिविधिलाई तिव्रता दिन र हरित वृद्धिलाई सहयोग गर्नेगरी कार्यक्रम सञ्चालन गरिने बताए ।

चालु आर्थिक वर्षमै विनियोजन गरिएका पूर्वाधार निर्माण तर्फको खर्चको लागि यो रकम यसै आर्थिक वर्षभित्र परिचालन हुने पनि उनले बताए । कार्यक्रममा माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भोसले यस आयोजनाले कोभिड–१९ को महामारीका बेला र महामारी पछि पनि नेपालमा दीगो वृद्धि हासिल गर्न सहयोग गर्ने बताए ।

कोभिड महामारीको समयमा मानिसको जीवन रक्षा तथा अर्थ व्यवस्थाको पुनरुत्थान गर्नका लागि सरकारले ल्याएका कार्यक्रमहरुलाई सघाउन विश्व बैंक प्रतिबद्ध रहेको पनि उनले बताए । यस आयोजनाले रोजगारी सिर्जना गर्ने, बजारलाई गतिशिल बनाउने र हरित पुनरुत्थानलाई सहयोग गर्ने प्रकृतिका चालु ठूला आकारका विकास आयोजनालाई गति दिन मद्दत गर्ने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७