बेल्जियमविरुद्ध पोर्चुगल : रोनाल्डो भर्सेस लुकाकु


१३ असार २०७८, आईतवार
Belgium v Portugal1624793039

काठमाडौं, १३ असार । युरोकपमा नकआउट चरणको दोस्रो दिन आज (आइतबार) मध्यराति गएको वर्षको च्याम्पियन पोर्चुगल र फिफा वरियतामा १ नम्बर टिम बेल्जियमबीच खेल हुँदैछ । सेभियामा हुने खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो उपाधि रक्षाका लागि मैदान उत्रिंदै छन् । उता रोमेलु लुकाकुको टिम बेल्जियम पनि सन् १९८९ पछि पहिलो पटक पोर्चुगललाई हराउने लक्ष्यका साथ मैदानमा उत्रिंदै छ ।

बेल्जियम र पोर्चुगलबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ बजे शुरु हुनेछ । उपाधि दाबेदार टोलीको रूपमा रहेका दुवै टोली आजको खेलमा सहज जीत निकाल्ने योजनामा हुने छन् । साविकको विजेता टोली पोर्चुगल आजको खेलमा जित निकाल्दै आफूलाई बलियो बनाउने योजनामा रहेको छ । उ अन्तिम तीनमा रहेको उत्कृष्ट टिमको रूपमा अघिल्लो चरण प्रवेश गरेको हो ।

portugaltoli2021b 1

यता बेल्जियम भने अपराजित हुँदै प्रतियोगिताको अघिल्लो चरण प्रवेश गरेको हो । यता पोर्चुगलले एक खेलमा जित निकालेको थियो भने एक खेलमा पराजित भएको थियो र एक खेल बराबरी खेलेको थियो । बेल्जियम समूह ‘बी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । फिफा वरियताको शीर्ष स्थानमा रहेको बेल्जियम आजको खेलमा जित निकाल्ने योजनामा रहेको छ । यता स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोसहित स्टार खेलाडीले भरिएको पोर्चुगल उपाधि दाबेदार टिम समेत हो ।

आजको खेल रोनाल्डो भर्सेस लुकाकु
पोर्चुगलको तर्फबाट कप्तान क्रिस्टियानो रोनाल्डोले धेरै गोल गरेका छन् । रोनाल्डोले लिग चरणको तीन खेलमा पाँच गोल गरेका छन् । यता बेल्जियमको तर्फबाट लुकाकुले तीन गोल गरेका छन् । यस्तोमा पोर्चुगल र बेल्जियमबीचको खेलमा यी दुई स्ट्राइकरमाथि सबैको आँखा पर्नेछ । आजको खेलमा रोनाल्डो र लुकालुलाई विशेष चासोका साथ हेरिएको छ ।

पोर्चुगल–बेल्जियमको विगतको भेट
पोर्चुगल र बेल्जियमबीच हालसम्म १८ खेलमा भेट भएको छ । यी भेटमा पोर्चुगलले ६ खेलमा जित निकालेको छ । ५ खेल भने बेल्जियमले आफ्नो पक्षमा पारेको छ । ७ खेल बराबरीमा टुंगिएको छ । युरोकपमा मात्रै यी दुई टोलीबीच ६ पटक भेट भएको छ । यी ६ भेटमा पोर्चुगलले २ खेलमा जित निकालेको छ भने २ खेल गुमाएको छ । दुई खेलमा बराबरी नतिजा आएको छ ।

दुई टोलीबीच पछिल्लो पटक सन् २०१८ मा भएको मैत्रीपूर्ण खेलमा भेट भएको थियो । त्यो खेल गोलरहित बराबरीमा सकिएको थियो । रोबर्टो मार्टिनेजको प्रशिक्षकत्वमा बेल्जियमले पछिल्ला ५८ मध्ये दुई खेलमा मात्रै हार व्यहोरेको छ । जारी युरोकपमा उत्कृृष्ट लयमा रहेका केभिन डि ब्राएनले १३४ मिनेट मात्रै खेले पनि बेल्जियमका ३ गोलमा संग्लन छन् ।

१ गोल गरेका उनले २ गोलमा सहयोग गरेका छन् । २०१६ मा उपाधि उचाल्दा पोर्चुगलले ५ गोलमात्रै खाएको थियो । जारी प्रतियोगितामा अहिलेसम्म पोर्चुगलले तीन खेलमा ६ गोल व्यहोरिसकेको छ । २०१६ मा तेस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको पोर्चुगलले उपाधि जितेको थियो ।
जोर्डनको डक्युमेन्ट्रीबाट लुकाकुलाई प्रेरणा

पोर्चुगल जस्तो ठूलो टिमविरुद्ध मैदानमा उत्रनुअघि बेल्जियमका स्ट्राइकर लुकाकु महान् बास्केटबल खेलाडी माइकल जोर्डनको डक्युमेन्ट्री हेरेर प्रेरणा लिइरहेका छन् । खेलअघि बेल्जियमका प्रशिक्षक रोबर्टाे मार्टिनेजले भने, ‘पोर्चुगललाई हराउन सजिलो छैन र यस्तो टिमविरुद्ध खेलको लागि हामी कैयौं महिनादेखि तयारी गरिरहेका छौं ।’
नम्बर गेम
१०९ गोल आफ्नो राष्ट्रिय टिम पोर्चुगलका लागि गरेका रोनाल्डोले अली देईको कीर्तिमान बराबरी गरेका छन् । रोनाल्डोले अब एक गोल गरे भने विश्वमा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने एक्लो खेलाडी बन्ने छन् । नकआउट चरणमै आज पहिलो खेलमा नेदरल्याण्ड्स र चेक रिपब्लिक खेल्दै छन् ।

आजको खेलको विजेताले क्वार्टर फाइनलमा आगामी शुक्रबार इटालीसँग खेल्ने छ । इटालीले भने राउण्ड अफ १६ को दोस्रो खेलमा अष्ट्रियालाई २–१ गोल अन्तरले हराउँदै अन्तिम ८ मा स्थान बनाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७