घाँस काट्न गएका वृद्ध बेपत्ता, खोजी कार्यमा कुकुरको प्रयोग


१४ असार २०७८, सोमबार
crime

बागलुङ, १४ असार । बागलुङको गलकोट नगरपालिकाका एक वृद्ध घाँस काट्न जाने क्रममा बेपत्ता भएका छन् । गलकोट–६ कायसका ७० वर्षीय क्षेत्रबहादुर बुढाथोकी यही असार १० गतेदेखि सम्पर्कविहीन भएका हुन् ।

बुढाथोकी घरदेखि केही माथि रहेको खरबारीमा घाँस काट्न गएको र सोही स्थानबाट हराएको परिवारले जनाएको छ । हँसिया, खुर्पेटो, पानी कागज साथमा घाँस बाँध्ने डोरी र बोक्ने नाम्लो लिएर घरबाट गएका उनलाई त्यसयता निरन्तर खोजी कार्य जारी राखिए पनि फेला पार्न नसकिएको स्थानीयवासी बेलुकाजी थापाले जानकारी दिए ।

जिल्ला सुरक्षा संयन्त्रको समन्वयमा पोखराबाट कुकुरसहितको प्रहरीको विशेष प्राविधिक टोली झिकाएर शनिबारदेखि खोजी कार्यलाई थप तीव्र पारिएको छ । पोखराबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा ‘रेस्क्यू र क्याकर डग’ सहितको प्राविधिक टोलीले खोजी कार्य थालेको छ ।

बुढाथोकीले लगाएका कपडा सुँघाएर र उनी गएको स्थानलाई पछ्याएर कुकुर परिचालन गरेर खोजी कार्य जारी राखिएको प्रहरी नायब निरीक्षक विक्रमबहादुर थापाले बताए । थापाका अनुसार दुई कुकुरले फरक फरक जिम्मेवारीअनुसार काम गर्नेछन् ।

जिल्ला प्रशासन र प्रहरी कार्यालयबबाट समेत प्रमुख जिल्ला अधिकारी तथा प्रहरी उपरीक्षकसहितको टोली पनि घटनास्थलमा पुगेको छ । पहिलो कुरा अवस्था पत्ता लगाउनु नै रहेको र त्यसपछि मात्रै थप कारणबारे अनुसन्धान अघि बढाइने थापाको भनाइ छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७