‘कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लागौं’


१४ असार २०७८, सोमबार
Madhav Nepal CPN scaled

काठमाडौं, १४ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकार जनविश्वासको जगमा देशको संविधान अनुसार र पार्टी विधान, विधि र सिद्धान्त अनुरुप पार्टी सञ्चालन नभएको बताएका छन् ।

तत्कालीन महासचिव मदनकुमार भण्डारीको ७० औं जन्म जयन्तीको अवसरमा पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले एक वक्तव्य जारी गर्दै राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्रविरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधानमाथि प्रहार भइरहेको बताएका छन् ।

‘शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको माध्यमबाट कम्युनिष्ट पार्टीले प्राप्त गरेको जनविश्वासको जगमा देशको संविधान, पार्टी विधान, विधि र सिद्धान्त अनुरुप पार्टी एवम् सरकार सञ्चालन नगरी राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्रविरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधान माथि मर्मान्तक प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिष्ट पार्टीकै नाम र नेतृत्वमा हुनु वर्तमानको तीतो यथार्थ एवम् हामी सबैका लागि दुःखद अवस्था हो’, विज्ञप्तीमा भनिएको छ ।

नेता नेपालले सिङ्गो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न पार्टीका नेता तथा कार्यकतालाई आग्रह पनि गरेका छन् । ‘अतः विद्यमान वैचारिक–राजनैतिक–सांस्कृतिक –आर्थिक विचलन, विकृति, विसंगति, सांगठनिक वेथिती र अन्यायको अन्त्य गर्दै नेकपा (एमाले), सिङ्गो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायमा आह्वानसहित पुनः जननेता कमरेड मदन भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु’, उनले भनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७