खेतमा गाडिएको अवस्थामा सुजिताको शवको अवशेष फेला, शव गलाउन नुनको प्रयोग


१४ असार २०७८, सोमबार
mahottari dqSMuegLuf iigIsSyUU3

महोत्तरी, १४ असार । गत जेठ १९ गते हराएकी एक महिलाको शवको अवशेष आफ्नै खेतमा गाडिएको अवस्थामा फेला परेको छ । महोत्तरीको लोहारपट्टी ७, भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको परिवारले हत्या गरेको माइती पक्षले आरोप लगाएको छ । माइतीकै किटानी जाहेरीका आधारमा भएको खोजतलासमा प्रहरीले आइतबार शवको अवशेष भेटेको हो ।

घरबाट एक किलोमिटर पर रहेको खेतमा खाल्डो खनी गाडिएको पाइएको छ । शव पूरै गलेको छ । त्यसलाई गलाउन नुन समेत राखिएको भेटिएको छ । माइती पक्षले बेपत्ता छोरीका देवर रुपेश ठाकुर, देवरानी रोमा ठाकुर, ससुरा पतिराम ठाकुरसहित परिवारजनले हत्या गरेर शव लुकाएको आरोप लगाएको छ । सुजिताका पति भने सुस्त मनस्थितिका छन् । हाल पनि उनी श्रीमतीबारे बेखबर छन् ।

सुजिताका दाजु शिवम पाण्डलेले भने, ‘एक–डेढ वर्ष पहिले पनि देवर रुपेशले बहिनीलाई ज्यान मार्ने धम्की दिएको थियो । तकिया मुखमा कोचेर मार्न खोजेको थियो । उनी त्यतिबेला हातमा दाँतले टोकेर बाँचेकी थिइन् । तर, सधैँ एकनाश हुँदैन । आखिर पापीहरूले मेरो बहिनीको ज्यान लिएरै छाडे ।’ गत जेठ १९ गते रुपेशले शिवमलाई फोन गरेर भनेका थिए, ‘तपाईंको बहिनी झै–झगडा गर्दैछ । तपाईंहरू आउनुस्, लिएर जानुस् ।’ आउन लागेको बेला फेरि फोन आयो र भनियो, ‘आउनु पर्दैन, सबै कुरा मिलिसक्यो ।’

त्यही दिनदेखि सुजिता बेपत्ता पारिइन् । सम्पर्कविहीन भएपछि माइती पक्ष बुझ्न जेठ २१ गते भ्रमरापुर गयो । ‘तपाईंको छोरी-बहिनी अर्कैसँग भागिसक्यो भनेर हामीलाई भने । हामीलाई विश्वास लागेन । बहिनीको कोठामा लगाइएको ताला फोडेर हेर्‍यौं । त्यहाँ उनका सामान, लत्ताकपडा, गरहना सबै छँदै थिए’, उनले भने, ‘यसले झन् शंका बढायो । तर, हामीसँग खोज्ने बाहेक अन्य कुनै विकल्प पनि थिएन ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७