अष्ट्रेलियामा बस्ने नेपालीका लागि बस सेवा


१४ असार २०७८, सोमबार
western sydney opal bus 751

काठमाडौं, १४ असार । अष्ट्रेलियाको सिड्नीस्थित पेन्सस भन्ने स्थानमा रहेका नेपालीको संस्था नेप्लिज पेन्सस कमिटी (पेन्सस नेपाली समुदाय) ले त्यहाँ रहेका नेपालीका लागि सवारीसाधन (भ्यान) खरिद गरी सेवा सुरु गरेको छ ।

बालबालिका, ज्येष्ठ नागरिक, अशक्त एवं समस्यामा परेका मानिसलाई सहयोग गर्ने उद्देश्यले सवारीसाधन खरिद गरिएको संस्थाका अध्यक्ष लक्ष्मण श्रेष्ठले जानकारी दिए । अष्ट्रेलियामा रहेका नेपाली संस्थामध्ये बस खरिद गर्ने यो पहिलो संस्था बनेको छ । त्यहाँ बस्ने नेपालीलाई आइपर्ने समस्या समाधान गर्न सो बस पालैपालो काम लाग्ने संस्थाले जनाएको छ ।

त्यहाँ बस्ने नेपालीले रकम जम्मा गरी खरिद गरेको बसले आपसी मेलमिलाप, एकता र सद्भाव अझ बढ्ने विश्वास गरिएको संस्थाका सदस्य हरि श्रेष्ठले बताए । ज्येष्ठ नागरिक र त्यहाँ गई बसोबास गरेर विभिन्न समस्यामा परेकाका लागि बसका माध्यमबाट सहयोग पुग्ने उनको भनाइ छ ।

संस्थाले शब्दमालासँग समन्वय गरी त्यहाँका बालबालिकालाई नेपाली भाषा, योग शिक्षा, पूर्वीय संस्कारसमेत सिकाउँदै आएको छ । विदेशमा बसे पनि आफ्नो भूमिका, ज्ञान, विज्ञान जान्न यसबाट मद्दत मिलेको छ । चाडपर्व, रीतिरिवाज मनाउने क्रममा विभिन्न स्थानमा रहेका नेपालीलाई जुटाउन समेत सवारीसाधनले सहयोग पुग्ने पेन्ससमा बस्दै आएका श्यामबहादुर केसीले बताए ।

यो समुदायमा धेरै नेपाली आबद्ध रहेकाले विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्न संस्थाको आफ्नै सवारी भएपछि सहयोग पुग्ने त्यहाँ बसोबास गर्ने धेरै नेपालीको विश्वास छ । त्यहाँ गएर बसोबास गरी आपत्मा परेकालाई सहयोग गर्न पनि बसको व्यवस्थाले सहज हुने जनाइएको छ ।

संस्थाका अध्यक्ष श्रेष्ठको पहलमा त्यहाँका एक मन्त्री डेभिड कोल म्यानसँगको सहयोगमा १० लाख अष्ट्रेलियाली डलरको सामुदायिक भवन प्राप्त गर्नसमेत संस्था सफल भएको छ । यस कामको त्यहाँ बस्ने सबै नेपाली संस्थाले सराहना गरेका छन् । नेप्लिज अष्ट्रेलियन एसोसिएसन तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पनि सो संस्थाको प्रयासमा सहकार्य गर्दै आएको छ ।

यसरी प्राप्त भएको सामुदायिक भवनलाई पनि छिट्टै प्रयोगमा ल्याउने तयारी भएको छ । अष्ट्रे«लियामा नेपालीले बसोबास गरेको तीन दशक पूरा भए पनि पहिलो पटक संस्थागत रूपमा सवारी खरिद गरेर सेवा दिने र सामुदायिक भवनमार्फत विभिन्न सेवा भने पहिलो पटक दिन लागिएको जनाइएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७