‘केपी ओलीलाई जनताले मत दिए त, अरुले टाउको दुःखाएर हुन्छ ?’

‘७६ (५) का प्रधानमन्त्री हुन सक्दैनन् भन्ने कहाँ लेखिएको छ ?’


१४ असार २०७८, सोमबार
Ramesh badal Attorney General

काठमाडौं, १४ असार । महान्यायाधिवक्ता रमेश बडालले ‘संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्री नियुक्तिका लागि आह्वान हुँदा केपी शर्मा ओलीले दाबी गर्न मिल्दैन भनेर कहाँ लेखेको छ ?’ भनेर प्रश्न गरेका छन् ।

रातारात राजनीतिक परिस्थिति परिवर्तन हुने भन्दै संविधानको धारा ७६ (३) को प्रधानमन्त्रीका रूपमा विश्वासको मत प्राप्त गर्न नसक्ने भन्दै मार्गप्रशस्त गरेका ओलीले ७६ (५) बमोजिम दाबी गरेको उनको भनाइ थियो ।

जेठ ६ गते संसद्मा आफ्नो पक्षमा ९३ सांसद मात्रै रहेको र विश्वासको मत प्राप्त गर्न नसक्ने भन्दै ओलीले मार्गप्रशस्त गरेको भन्दै वैकल्पिक प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न लेखी पठाएका थिए । वैकल्पिक प्रधानमन्त्री नियुक्तिका लागि आह्वान भएपछि जेठ ७ गते ओलीले पनि दाबी गरेका थिए ।

सोही विषयलाई लिएर रिट निवेदक शेरबहादुर देउवासहित १४६ सांसदका कानुन व्यवसायीले प्रधानमन्त्रीमा ओलीलाई दाबी गर्न नमिल्ने बताएका थिए । ओलीले ती कार्य प्रतिनिधिसभा विघटन गर्ने बद्नियतका साथ गरेको पनि रिट निवेदकका कानुन व्यवसायीको भनाइ थियो ।

सरकारको तर्फबाट सोमबार बहसमा आएका महान्यायाधिवक्ता बडालले भने, ‘संविधानको धारा ७६ (५)को प्रधानमन्त्रीमा केपी ओलीले दाबी गर्ने होइन भनेर कहाँ लेख्या छ ?’ संविधानले व्यक्तिको कुरा नगर्ने उनको भनाइ थियो ।

‘उहाँहरूले भन्नु भयो ‘संविधानको धारा ७६ को उपधारा (१), उपधारा (२), उपधारा (३) बमोजिम प्रधानमन्त्री तैं हुने अनि उपधारा (५) बमोजिम पनि तैं दाबी गर्ने ?’ उनले अगाडि भने, ’जनताले केपी ओलीलाई मत दिए त गर्ने के ? पहिला जनताले मत दिए र संविधानको धारा ७६ (२) बमोजिमको प्रधानमन्त्री भए । दल एकता भयो सरकार संविधानको धारा ७६ (१) मा आयो । दल एक रहने अवस्था भएन र फेरि सरकार संविधानको धारा ७६ (२) मा पुग्यो ।’

जनता समाजवादीका ३२ सांसदले समर्थन गरेपछि जेठ ७ मा नयाँ सरकारको प्रधानमन्त्रीमा ओलीले दाबी गरेको बडालको भनाइ थियो । रातारात राजनीतिक परिस्थिति परिवर्तन भएर ओलीले प्रधानमन्त्रीमा दाबी गरेको उनले बताए ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । सोमबारबाट विपक्षी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतका कानुन व्यवसायीले बहस गर्दैछन् । ‘यहाँ साथीहरुले सबै धाराको प्रधानमन्त्री केपी शर्मा ओली नै हुने भन्नुभयो’, उनले भने, ‘जनताले मत दिए त टाउको दुखाएर हुन्छ ? मेरो तर्क दलको समर्थन छ भने बन्न सक्छ भन्ने हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७