नेपालको संक्रमण दर भारतको भन्दा सात गुणा बढी


१५ असार २०७८, मंगलवार
korona

काठमाडौं, १५ असार । भारत भन्दा नेपालमा सात गुणा बढी कोरोना संक्रमण दर रहेकाले भारतीय रणनीति हेरेर यहाँ संक्रमण रोकथाम र नियन्त्रण गर्न नसकिने विज्ञहरूले बताएका छन् । भारतमा कोरोनाविरुद्धको खोप धेरैले लगाइसकेकाले पनि जोखिमको अवस्था उस्तै नरहेको उनीहरूको भनाइ छ ।

विगतमा भारतमा देखिएको संक्रमणको अवस्था, प्रभाव र जटिलताका आधारमा नेपालमा रणनीति बनाउने गरिए पनि अब त्यसो गर्न उचित नहुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. जीडी ठाकुरले बताए ।

भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार सोमबार त्यहाँ कोभिडको संक्रमण दर २.९४ प्रतिशत देखिएको छ । त्यहाँ संक्रमित निको हुने दर ९६.८० प्रतिशत छ । नेपालमा भने सोमबार पीसीआर परीक्षणको संक्रमण दर २२.६९ प्रतिशत छ । संक्रमित निको हुने दर ९२.६ प्रतिशत छ । एक सातायता नेपालमा संक्रमण दर २० प्रतिशत हाराहारी छ ।

भारतमा भने यो साताको पोजिटिभिटी दर २.८१ प्रतिशत देखिएको छ । भारतले २० प्रतिशतभन्दा बढी नागरिकलाई खोप लगाइसकेको छ । खोप लगाउने काममा अमेरिकालाई जितेको भारतीय दाबी छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार त्यहाँ ३२ करोड ३६ लाख ६३ हजार २ सय ९७ मात्रा खोप लगाइसकेका छन् ।

अमेरिकामा भने ३२ करोड ३३ लाख २७ हजार ३ सय २८ मात्रा खोप लगाइएको छ । गत आइतबार २४ घण्टामा भारतमा ६४.२५ लाख मात्रा खोप दिइएको थियो । ‘स्वास्थ्य मन्त्रालयका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक एवं नेसनल इम्युनाइजेसन एडभाइजरी कमिटीका सदस्य डा. जीडी ठाकुरले भने, ‘भारतमा देखिएको त्यो सकारात्मक अवस्थाले हामीलाई राहत हुने देखिँदैन । नेपालमा बहुसंख्यकले खोप नलगाएकाले ठूलो क्षति हुन सक्छ ।’

नेपालको सीमावर्ती भारतीय राज्यमा समेत कोभिडविरुद्धको खोप युद्धस्तरमा लगाइँदै छ । परिवार स्वास्थ्य कल्याण मन्त्रालयका अनुसार सोमबारसम्म बिहार राज्यमा १ करोड ३५ लाख ७३ हजार १ सय २८ जनालाई एक मात्रा र २१ लाख ८२ हजार ३२ जनालाई दुई मात्रा गरी खोप दिइएको छ ।

यस्तै उत्तर प्रदेशमा २ करोड ६१ लाख ५४ हजार १ सय ८२ जनालाई एक मात्रा र ४३ लाख २५ हजार २ सय ४५ लाई दुवै मात्रा खोप लगाइएको छ । पश्चिम बंगालमा भने १ करोड ६३ लाख ८२ हजार ७ सय १६ जनालाई पहिलो मात्रा र ४७ लाख ४६ हजार १ सय ८२ जनालाई दुवै मात्रा खोप लगाइएको छ । ‘भारतमा खोपको माध्यमले प्रतिरोधक क्षमता हासिल गर्नेको संख्या बढिरहेको छ,’ डा. ठाकुरले भने, ‘भारतकै गतिमा यहाँ खोप सुनिश्चितता नभएकाले उस्तै रणनीति पछ्याउनु हुन्न ।’

वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले कोभिडको अवस्था भारतकै अनुपातमा नेपालमा नदेखिने बताए । ‘पहिले भारतमा संक्रमण बढ्दा नेपालमा समेत बढ्ने र घट्दा यहाँ समेत घट्ने अवस्था थियो तर अब यस्तो नहुन सक्छ,’ उनले भने ।

उनले भारतका नागरिक खोपले गर्दा कोभिडविरुद्ध उच्च सुरक्षा स्तरमा गइरहेको र त्यहाँ छिटै अवस्था सहज हुन सक्ने भने । नेपालमा सोमबारसम्म २५ लाख ८७ हजार ८ सय ७३ जनाले पहिलो मात्रा र ७ लाख ५२ हजार १ सय १० जनाले दुवै मात्रा खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालय, परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले संक्रमण नियन्त्रणका लागि अब नेपालले फरक रणनीति बनाउनु पर्छ,’ उनले भने । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७