कोपा अमेरिका : कीर्तिमानी खेलमा मेस्सीको दुई गोल, अर्जेन्टिना समूह विजेता


१५ असार २०७८, मंगलवार
Messi900

काठमाडौं, १५ असार । कोपा अमेरिकाको समूहको अन्तिम खेलमा अर्जेन्टिनाले बोलिभियालाई ४–१ ले पराजित गरेको छ । खेलमा कप्तान लिओनल मेस्सीले कीर्तिमान दुई गोल गरेका छन् । यसअघि नै क्वाटर फाइनल पुगिसकेको अर्जेन्टिना यो जितपछि समूह ‘ए’ को विजेता बनेको छ ।

अर्जेन्टिनाले अब क्वाटर फाइनलमा समूह ‘बी’ को चौथो स्थानमा रहेको इक्वेडरसँग खेल्ने छ । ब्राजिलको एरेना पान्तानालमा भएको खेलमा मेस्सीले दुई गोल गर्नुका साथै एक असिस्ट गरे । बोलिभियासँग खल्दै मेसीले अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान समेत बनाए ।

बोलिभियाविरुद्ध मेसीले सर्वाधिक १४८ औं खेल खेलेका हुन् । सन् २००५ मा हंगेरीविरुद्ध खेल्दै डेब्यु गरेका मेस्सीले अर्जेन्टिनाका लागि सर्वाधिक ७५ गोल समेत गरेका छन् । यसअघि उनले ज्याभिएर मास्केरानोसँगै सर्वाधिक खेल खेल्ने कीर्तिमान बराबरी गरेका थिए ।

खेलको छैटौं मिनेटमै मेस्सीको पासमा अलेजान्द्रो गोमेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा मेस्सीले पेनाल्टीमार्फत व्यक्तिगत पहिलो गोल गर्दै अग्रता दोब्बर पारे । ४२औं मिनेटमा मेस्सील सर्जियो अगुएरोको पासमा गोल गरेपछि अर्जेन्टिनाले पहिलो हाफमै ३–० को अग्रता बनायो ।

दोस्रो हाफमा वैकल्पिक खेलाडी लाउटारो मार्टिनेजले एक गोल थपे । उनले ६५औं मिनेटमा गोल गरेका थिए । बोलिभयाका लागि एर्विन साभेद्राले ६०औं मिनेटमा एक गोल गरे । अर्जेन्टिनाले अब क्वाटर फाइनलमा इक्वेडरसँग जुलाई ३ मा खेल्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७