चाक्सीबारीमा प्रकाशमान, शशांक र निधिबीच छलफल


१५ असार २०७८, मंगलवार
congress 1

काठमाडौं, १५ असार । कांग्रेसका उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा. शशांक कोइराला १४ महाधिवेशनबारे छलफल गर्न चाक्सीबारी पुगेका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग छलफलका लागि निधि र कोइराला कांग्रेसका संस्थापक नेता स्व. गणेशमान सिंहको निवास चाक्सीबारी पुगेका हुन् । निधि र कोइरालासँग लञ्चसहितको मिटिङ शुरु भएको सिंहका स्वकीय सचिव युपी लामिछानेले जानकारी दिएका छन् ।

निधि कांग्रेसका संस्थापक नेता महेन्द्रनारायण निधिका पुत्र हुन् भने कोइराला बीपी कोइरालाका पुत्र हुन् । संस्थापक नेतात्रयका छोराहरु निधि, कोइराला र सिंहकाबीच १४ औं महाधिवेशनको संघारमा यो तेस्रो बैठक भएको हो ।

तीनै नेता कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी हुन् । पार्टीको नेतृत्व पुस्तान्तरणको पक्षमा उभिएका नेतात्रय यसअघि गत सोमबार निधि निवासमा बसेका थिए भने शुक्रबार कोइराला निवासमा बसेका थिए । समसामयिक राजनीतिसँगै पार्टीको १४ औं महाधिवेशन समयमै सम्पन्न गर्ने र पुस्तान्तरणसहित सक्षम नेतृत्व चयन गर्ने सन्दर्भमा छलफल हुने जनाइएको छ । महाधिवेशनको संघारमा संस्थापक नेताको एकपछि अर्को भेटघाटले कांग्रेस तरंगित छ ।

उपसभापति निधिले भेटका क्रममा नयाँ समीकरण बनाएर एक जना मात्रै उम्मेदवार बन्नेबारे सकारात्मक छलफल भएको बताउँदै आएका छन् । तर, कोइराला र सिंहले भने पौडेल समूहको भेलामा एकआपसमा सहयोग गर्ने सन्दर्भमा मात्रै छलफल भइरहेको बताएका थिए । कांग्रेसको १४ औं महाधिवेशन भदौको १६ देखि १९ गतेसम्म काठमाडौंमा हुदैछ । महाधिवेशनको मिति नजिकिएपछि कांग्रेसको नेतृत्वका आकांक्षी नेताहरुकाबीच गर्मागर्मी शुरु भएको छ । कांग्रेसका शीर्ष नेताहरुलाई अहिले महाधिवेशनको ‘रन्को’ ले छोएको छ । जसका कारण सभापतिका आकांक्षीहरु सत्ता समीकरणको दौडधूपमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७