संसदको अधिकार राष्ट्रपति कार्यालयबाट अपहरण भयो : सभामुख


१५ असार २०७८, मंगलवार
agniprasad sapkota 1536x864 1

काठमाडौं, १५ असार । प्रतिनिभिसभाका सभामुख अग्निप्रसाद सापकोटाले अहिले राष्ट्रपतिको कार्यालयबाट संसदको अधिकार अपहरण भएको बताएका छन् । सभामुख सापकोटाले आज (मंगलबार) संसद भवनको ल्होत्से हलमा सम्पादकहरूसँगको छलफलका क्रममा अदालतका निर्णयको समेत उल्लंघन भइरहेको आरोप लगाएका छन् ।

‘अहिले संसदको अधिकार अपहरण भएको छ, राष्ट्रपति कार्यालयबाट अतिक्रमण भएको छ,’ उनले भने, ‘अदालतले गरेका निर्णयको उल्लंघन भएको छ ।’ उनले संसदको पटक–पटक अवमूल्यन भएको बताए । संसदलाई जीवन्त राख्न आफूले प्रयत्न गरिरहेको उनको भनाइ थियो । उनले संविधानतः आफ्नो भूमिका तटस्थ रहनुपर्ने तर त्यो तटस्थता संविधानको रक्षार्थ तथा जनताको हितका सन्दर्भमा केन्द्रित रहने बताएका छन् ।

यसअघि नै अदालतको फैसलाअनुसार प्रतिनिधिसभा पुनर्स्थापना भएपछि आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग लामो छलफल गरेको पनि उनले जानकारी दिए । ‘सर्वदलीय बैठक गरौं भनेको थिएँ,’ उनले भने, ‘उहाँले केही समयपछि गरौं भन्नुभयो ।’ आफूले नागरिकता विधेयकको बारेमा पनि कुरा राखेको तर प्रधानमन्त्री ओलीले ध्यानाकर्षण भएको छ भनेर जवाफ दिएको उनले सुनाए । उनले भने, ‘राज्यका तीन अंगले के गरिरहेका छन् भन्ने जनतालाई जानकारी दिनुपर्छ, छलफल र बहस गर्नुपर्छ ।’

प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा दायर रिटमाथि बहस चलिरहेको चर्चा गर्दै उनले अदालतलाई पनि सही निष्कर्षमा पुग्नका लागि सहज हुनेगरी छलफल गर्नुपर्नेमा जोड दिए । अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा परिवर्तन भइरहेको समयमै संसद विघटन भएको उनको भनाइ थियो । उनले लोकतन्त्रको विकल्प लोकतन्त्रमात्र हुने भन्दै लोकतन्त्रको संरक्षणका लागि संविधानको रक्षा हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७