‘बिरासत’ को समीकरण : निधि, कोइराला र सिंहबीच ‘लन्च मिटिङ’ का श्रृंखला


१६ असार २०७८, बुधबार
congress 1

काठमाडौं, १६ असार । गएको एक सातामा कांग्रेस नेताहरू विमलेन्द्र निधि, डा. शशांक कोइराला र प्रकाशमान सिंहबीच तीन वटा ‘लन्च मिटिङ’ भए । ७ असारमा बानेश्वरस्थित निधिनिवासमा, ११ असारमा महाराजगन्जस्थित कोइरालानिवासमा र १५ असारमा चाक्सीबारीस्थित सिंहनिवासमा भएका ‘लन्च मिटिङ’ को मुख्य एजेन्डा कांग्रेसको १४औं महाधिवेशनको नेतृत्व कब्जासँग सरोकारमा केन्द्रित भए । सबैभन्दा महत्वपूर्ण यो छ– निधि, कोइराला र सिंहबीच ‘लन्च मिटिङ’का श्रृंखलामा ‘बिरासत’ बचाउने समीकरणको कोशिस छ ।

बिपीपुत्र डा. शशांक कोइराला, गणेशमानपुत्र प्रकाशमान सिंह र महेन्द्रनारायणपुत्र विमलेन्द्र निधि १४औं महाधिवेशनमा नेतृत्व लिनका लागि बलियो समीकरणको प्रयासमा छन् । तर, ‘बिरासत’ सहित समीकरणको प्रयास गरे पनि तीनै जना सभापतिका दाबेदार रहेकाले सहज भने छैन ।

प्रजातन्त्र स्थापनापछिको ०१५ को पहिलो संसद्मा कांग्रेसले बहुमत पायो, त्यसवेला कांग्रेसका संस्थापक बिपी कोइराला प्रधानमन्त्री बने । अर्का, संस्थापक महेन्द्रनारायण निधि संसद्को उपसभामुख र गणेशमान सिंह निर्माण तथा यातायातमन्त्रीको भूमिकामा रहे । ०४८ को आमनिर्वाचनपछि बिपीका भाइ, कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए ।

प्रधानमन्त्री भएपछि कोइरालाले महामन्त्री पद त्यागे । र, तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईले महेन्द्रनारायण निधिलाई महामन्त्री बनाए । त्यसवेला पार्टीभित्र ‘सर्वोच्च नेता’ का रूपमा रहेका गणेशमान सिंह अन्तरपार्टी राजनीतिमा ‘सर्वमान्य’ नेताका रूपमा चिनिन्थे ।

प्रजातान्त्रिक आन्दोलनदेखि कांग्रेसभित्र कोइराला, सिंह र निधिले पुर्‍याएको योगदानको अहिले पनि चर्चा हुन्छ । र, उनीहरूको ‘बिरासत’ को राजनीतिक अर्थ पनि लगाइन्छ । उनै संस्थापक नेतात्रय कोइराला, सिंह र निधिका पुत्रत्रय यति वेला त्यही ‘बिरासत’को आडमा नयाँ समीकरण बनाउने कोशिसमा छन् । पार्टीको १४औं महाधिवेशनको नेतृत्वबारे बहस भइरहेका वेला बिपीका पुत्र डा. कोइराला, सिंहका पुत्र सिंह र निधिका पुत्र निधिले नयाँ समीकरणको तयारी भन्दै छलफलाई तीव्र बनाएका छन् ।

सभापतिको बलियो दाबेदारका रूपमा प्रस्तुत भएका तीन नेताबीच पटक–पटकको भेट र बढ्दो सामीप्यताले कांग्रेसको आन्तरिक राजनीति र सम्भावित समीकरणबारे नयाँ बहस जन्माएको छ । निधि, कोइराला र सिंह तीनै जना आसन्न महाधिवेशनबाट सभापति बन्न चाहन्छन् । आफूलाई सभापति बनाउने सर्तमा तीनै जना ‘पावर सेयरिङ’ गर्न पनि तयार छन् । तर, कसले कसलाई छाड्ने भन्ने मुख्य जटिलता कायमै छ ।

पार्टीमा नेतृत्व पुस्तान्तरणलाई लिएर सैद्धान्तिक रूपमा एकमत बनेका तीन नेताले मंगलबार तेस्रो पटक सँगै ‘लन्च मिटिङ’ गरे । र, चार घन्टासम्म भएको छलफलले समीकरण नै तयार नभइसकेको भए पनि देशभर कार्यकर्तामाझ बलियो एकताको सन्देश व्यक्त भएको उनीहरूको दाबी छ । पार्टीको बलिया तीन ‘बिरासत’को नयाँ समीकरण प्रयासलाई कांग्रेसजनले चासोका साथ लिएका छन् । तर, परिणामका दृष्टिले अझै ठोस उपलब्धिपूर्ण नबनेको निकटस्थहरू बताउँछन् ।

संस्थापक नेता कोइराला, सिंह र निधि प्रतिस्पर्धी नै थिए, तर सम्बन्ध मित्रवत् थियो । अहिले उनका पुत्रत्रयका बीचमा पनि त्यस्तै परिस्थिति बनाउनुबाहेक नौलो समीकरणको सम्भावना कम रहेको कतिपय नेताहरू बताउँछन् ।

वर्तमान उपसभापति रहेका निधि बाह्रौँ महाधिवेशनमा सिंहसँग महामन्त्रीमा पराजित थिए । अब १४औं महाधिवेशनमा तीनै जना सभापतिका दाबेदार हुन् । यद्यपि पार्टीमा पुस्तान्तरण आवश्यक भन्दै नयाँ समीकरणको प्रयास निधिले थालेका थिए, गत सोमबार कोइराला र सिंहलाई आफ्नो निवासमा ‘लन्च’ खुवाएर । त्यसैको निरन्तरता भन्दै कोइरालाले आफ्नो निवासमा निधि र सिंहलाई स्वागत गरे । मंगलबार सिंहको निवासमा कोइराला र निधि पुगेका हुन् ।

आफूले मान्दै आएका नेता सभापति शेरबहादुर देउवाले पुनः सभापति दोहो¥याउने बताएपछि निधिले देउवालाई घुक्र्याउन यस्तो राजनीतिक तिकडम गरेको बताउनेहरू पनि छन् । तर, अहिलेसम्मका भेटपछि तीनै नेताले नयाँ समीकरणको सम्भावनाका विषयमा छलफल भइरहेको र सकारात्मक भएको टिप्पणी गरेका छन् ।

मंगलबार आफ्नै निवासमा छलफलपछि नेता सिंहले अब नयाँ समीकरणको छलफलको दायरा बढाउने निष्कर्षमा पुगेको बताए । तपाईंहरूमध्ये कसले कसलाई छोड्ने हो त ? भन्ने प्रश्नको जवाफमा सिंहले भने, ‘हामी निरन्तर छलफलमा छौँ । काँचो फल मिठो हुँदैन । सभापतिको उम्मेदवार हुन सबैजनासँग छलफल गरेपछि मात्रै टुंगोमा पुग्ने हो ।’

स्रोतका अनुसार अहिलेसम्मका भेटमा तीन नेताले एकले अर्कालाई मलाई सहयोग गर्नुस् भन्नेबाहेक ‘पावर सेयरिङ’ वा नतिजान्मुख समीकरणका लागि कुनै प्रस्ताव गर्न सकेका छैनन् । यद्यपि, तीन नेताको छुट्टाछुट्टै बिरासतको एकता र मित्रता देखाएर सन्देश दिने कोशिस गरिरहेका छन् । ‘हाम्रो कुराकानीले देशव्यापी रूपमा आकर्षण भएको छ । तर, सबैले पार्टी लोकतान्त्रिक ढंगले सञ्चालन होस् भन्ने चाह देखाएको अवस्था छ,’ नेता सिंहले भने, ‘त्यसका लागि हामीले आगामी शुक्रबार सबै केन्द्रीय सदस्यलाई बोलाएर छलफल गर्ने तयारी गरेका छौँ ।’

मंगलबारको भेटपछि तीन नेताले यो वा त्यो गुट नभनी टोखास्थित कोइरालानिवासमा सबै केन्द्रीय सदस्यलाई बोलाएर पार्टीको आसन्न महाधिवेशनमा नेतृत्व पुस्तान्तरण र नेतृत्वबारे छलफल गर्ने निर्णय गरेका छन् । ‘शुक्रबार सबै केन्द्रीय सदस्यहरूसँग छलफल गर्छौ । त्यसपछि १३औं महाधिवेशनमा सभापतिको उम्मेदवार भइसक्नुभएका शेरबहादुरजी, रामचन्द्रजी र सिटौलाजीसँग भेटेर कुराकानी गर्छौ,’ सिंहले भनेका छन् ।

१३औं महाधिवेशनमा कोइराला र सिंह रामचन्द्र पौडेल नेतृत्वको समूहमा थिए, निधि सभापति देउवा नेतृत्वको समूहमा । निधि अहिले पनि देउवाकै समर्थनमा सभापतिको उम्मेदवार बन्ने कसरतमै छन् । यता, सिंह र कोइराला एकले अर्कालाई छाड्न नसक्ने अवस्थामा आफूलाई सहयोग गर्छन् भन्ने आशामा छन् पौडेल । क्रियाशील सदस्यताकै टुंगो नलागेको र तल्ला तहको अधिवेशन नै नभएकाले निर्णायक तहमा छलफल नभएको कतिपय नेताको तर्क छ ।

महामन्त्री डा. कोइरालानिकट नेता दीपक खड्का पार्टीलाई बलियो बनाएर अघि बढाउने प्रयास भइरहेको दाबी गर्छन् । ‘अहिले निचोडमा पुग्ने खालको छलफल त भएको छैन । तीन जनाले नै आफूलाई केन्द्रमा राखेर अरूको समर्थन खोज्ने काम भएको छैन । अरू नजिक पुग्न र ‘पावर सेयरिङ’ गर्ने सहमतिका लागि आधार बनाउने कोशिस भइरहेको जस्तो लाग्छ,’ खड्काले भने ।

केन्द्रीय सदस्य बद्री पाण्डेले भने तीन नेताको भेटले पार्टीभित्र एकता र मित्रताको सकारात्मक सन्देश दिए पनि नयाँ समीकरण नै बनिहाल्ने आधार नदेखिएको बताए । ‘उहाँहरू तीनै जनासँग संस्थापक नेताहरूको लिगेसी छ । र, तीनैजनाबीच पुस्तान्तरणको पक्षमा सैद्धान्तिक रूपमा सहमति भएको देखिन्छ । त्यस अर्थमा उहाँहरूको भेटघाटले कार्यकर्तामाझ एकता र मित्रताको सकारात्मक सन्देश गएको छ,’ पाण्डेले भने, ‘तर, नयाँ समीकरण नै बन्ने अथवा ठोस परिणाम आइहाल्ने गरी बलियो आधार तय भएजस्तो लाग्दैन । त्यस्ता आधार देखिँदैन ।’

अर्का केन्द्रीय सदस्य मीन विश्वकर्माले महाधिवेशनको सम्मुखमा नेताहरूका बीचमा भेटघाट हुने कुरा सामान्य र स्वाभाविक भएको बताए । अहिले उपसभापति निधिले सबै नेतासँग छलफल गरे पनि अन्ततः उनी देउवासँगै रहने उनको दाबी छ । उनी भन्छन्, ‘मैले सभापति ज्यू र विमल दाइको सहकार्य र सम्बन्ध पनि बुझेको छु, अहिले पनि उहाँहरूबीच कुराकानी भइरहेको छ । त्यसैले अहिले नै उहाँ छुट्टिएर जाने कुराको निष्कर्षमा पुग्नुहुन्छ जस्तो लाग्दैन ।’

तर, तीन नेताको भेटघाटले नेता–कार्यकर्ताका तहमा भने सकारात्मक सन्देश गएको नेता विश्वकर्मा बताउँछन् । ‘नेताहरूबीच भेटघाट र संवाद हुने कुरा सामान्य हो । एउटै पार्टीभित्र फरक गुटका नेतासँग छलफल नै गर्नुहुन्न भन्ने हुँदैन । त्यस्ता व्यक्तिगत भेटले आत्मीयता बढाउँछ,’ उनी भन्छन्, ‘उहाँहरूबीचको भेटघाटले पार्टीमा, कार्यकर्ताको माझमा राम्रै सन्देश दिएको छ । तर, यसले महाधिवेशनको नेतृत्व चयन नै प्रभावित हुने गरी समीकरण बन्ला भन्ने मलाई लाग्दैन ।’

अर्का एक केन्द्रीय सदस्यले तीन नेताका बीचको भेटलाई देखावटी मात्रै भएको टिप्पणी गरे । ‘तीनै जनालाई सभापति चाहिएको छ । एक–अर्कालाई सहयोग गर्ने अवस्था छैन । जसले भात खुवायो, उसैले समर्थन मागेको छ,’ ती नेताले भने, ‘यी भेटहरू बाहिर देखावटी मात्रै हुन् । भित्रभित्र सहयोग र समर्थन हुने गरी छलफल नै भएको छैन ।’ तीन नेताहरूले भने जस्तो सहमतिबाट नेतृत्व चयन गर्न सम्भव नरहेको ती नेताको भनाइ छ ।

त्यसो त निधिले आफ्नो उम्मेदवारीलाई लिएर अहिले मात्रै भेटघाट र छलफल गरेका होइनन् । उनले गत वर्ष नै आफू सभापतिको उम्मेदवार बन्ने र सहयोग गर्न आग्रह गर्दै सबै नेतासँग भेटेका थिए । २९ साउन ०७७ मा सभापति देउवालाई भेटेर आफूलाई सभापति बनाउन आग्रह गरेका निधिले त्यसपछि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. कोइराला, पूर्वमहामन्त्रीद्वय सिंह र कृष्णप्रसाद सिटौलासँग छुट्टाछुट्टै छलफल गरेका थिए । त्यसवेलै निधिले देउवा समूह छाड्न लागेको चर्चासमेत भयो । तर, समयमै महाधिवेशन नहुने भएपछि निधि पुनः शान्त भएर देउवा टिममै बसेका थिए ।

मंगलबारको भेटमा तीन नेताबीच क्रियाशील सदस्यता विधानबमोजिम मात्रै वितरण हुनुपर्ने समझदारी बनेको छ । ‘पार्टी विधि, विधान र पद्धतिअनुसार चल्नुपर्छ । महाधिवेशनले सकेसम्म सर्वसहमतिबाट नेतृत्व चयन गर्ने हो । नभए स्वच्छ र मित्रवत् प्रतिस्पर्धा हुने वातावरण बनाइनुपर्छ । पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर हुनुहुँदैन भन्ने निष्कर्ष छ,’ नेता सिंहका स्वकीय सचिव युपी लामिछानेले भने ।

त्यसैबीच निधि, कोइराला र सिंहको लन्च मिटिङले सभापति पदका अन्य आकांक्षीमाझ दबाब सिर्जना गरेको छ । फरक–फरक गुट र पृष्ठभूमिका नेताहरूको समीकरणको प्रयास भने पनि एउटै पदका प्रतिस्पर्धी भएकाले मिल्ने सम्भावना कम देखे पनि आकांक्षी नेताहरूमाझ भने त्यसले दबाब परेको छ ।

पौडेलको परामर्श

उता वरिष्ठ नेता पौडेलले मंगलबार जिल्ला सभापतिहरूसँग छलफल गरेका छन् । काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरूलाई बोलाएर पौडेलले पार्टीको महाधिवेशन र नेतृत्वका विषयमा परामर्श गरेका हुन् । भेटमा पौडेलले आफू सभापतिका लागि स्वाभाविक उम्मेदवार भएकाले सहयोग गर्न आग्रह गरेका थिए ।

‘मैले अघिल्लो महाधिवेशनमा पनि प्रतिस्पर्धा गरेको हुँ । म अहिले पनि स्वाभाविक उम्मेदवार हुँ । अरू कोही उम्मेदवार हुँदा सबै नेताहरू अट्ने अवस्था छैन । म हुँदा सबै साथीहरू अटाउनुहुन्छ । देउवालाई पराजित गर्न सकिन्छ, त्यसका लागि तपाईंहरूले भूमिका खेलिदिनुस्,’ पौडेलले आग्रह गर्दै भनेका थिए ।

जिल्ला सभापतिहरूले भने सिंगो टिमलाई मिलाएर एकताबद्ध रूपमा देउवाविरुद्ध उम्मेदवारी दिन सुझाब दिएका छन् । चाबहिलमा भएको छलफलमा काठमाडौं, नुवाकोट, धादिङ, रोल्पा, खोटाङ, मोरङ, ताप्लेजुङ, रामेछापलगायत १३ जिल्लाका सभापति सहभागी थिए । जिल्ला सभापतिहरूले पार्टीको विधान, नियमावली र कार्यविधिअनुसार क्रियाशील सदस्यताको विवाद समाधान गरी समयमै महाधिवेशन हुने सुनिश्चित गर्न आग्रह गरेका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७