१५ असारमा रोपाइँ छाडेर मलको लाइनमा किसान


१६ असार २०७८, बुधबार
mal ko line aasar chitwan2021 06 30 06 36 43

चितवन, १६ असार । असार १५ लाई मानो रोपेर मुरी फलाउने दिनको रूपमा परिभाषित गरिन्छ । तर, चितवनका किसान यो दिनमा पनि मलको आसमा लाइनमा बस्न बाध्य भए ।

सरकारले मलको अभाव नहुने बताउँदै आए पनि चितवनका किसानले आवश्यकताअनुसारको मल पाएका छैनन् । रोपाइँमा व्यस्त हुनुपर्ने किसान खेत छाडेर मलको आशमा सहकारीको ढोका चहार्दै आएका छन् ।

रत्ननगर– १५ गणेश टोलका होमप्रसाद लामिछाने एक सातादेखि मल नपाएको गुनासो गर्छन् । ८ असारदेखि उनी स्थानीय सहकारीहरूमा युरिया मलका लागि पुगे, तर सहकारीले मल नभएको भन्दै उनलाई रित्तो हात फर्काइदियो ।

डेढ बिघा खेतका लागि उनलाई युरिया मल आवश्यक परेको हो । गत साल जेनतेन मल व्यवस्थापन गरे पनि उनी बर्सेनि मलका लागि दुःख पाएको सुनाउँछन् । रत्ननगर– १५ माधवपुर कृषि सहकारी संस्थाका व्यवस्थापक सन्तोष लामिछाने सहकारीको मागअनुसार मल नआउँदा वितरणमा असहज भएको स्वीकार गर्छन् । उनका अनुसार पर्याप्त रूपमा नपाइने मल ल्याउने प्रक्रिया समेत सहकारीमा झन्झटिलो छ ।

लामिछानेले भने, ‘सहकारीले मल माग गर्नुपर्‍यो भने वडाको सिफारिस लिएर नगरपालिका पुग्नुपर्छ । नगरपालिकाको सिफारिससँगै मल पाउने पक्का भएपछि उक्त मलबराबरको रकम बैंकमा भुक्तानी गरेर भौचर लगेपछि मात्र वितरकले मल दिन्छन् ।’

जिल्लामा ३० प्रतिशत मल साल्ट ट्रेडिङ कर्पोरेसनले र ७० प्रतिशत मल कृषि सामग्री कम्पनी लिमिटेडले वितरण गर्दै आएको छ । नेपाल सरकारले धान उत्पादनमा वृद्धि, खाद्यसुरक्षा, आत्मर्निभरता र समृद्धिको नारासहित देशभरि विभिन्न कार्यक्रम गरेर धान दिवस मनाउँदै गर्दा चितवनका अधिकांश किसानको चिन्ता मल मिलेन र खेत रोप्न पाइएन भने के खाने भन्ने छ ।

भरतपुर– ६ गीतानगर बजारमा रहेको सर्वोदय बहुउद्देश्यीय सहकारी संस्थामा १५ असारमै मल लिनेहरूको लस्कर थियो । संस्थामा २० बोरा मात्र युरिया मल आएको, तर खरिद गर्न आउने किसानको संख्या पाँच सयभन्दा बढी थियो ।

सहकारीका व्यवस्थापक राजु पौडेलले भने, ‘१० केजीका दरले पहिला आउने सयजनालाई मल दियौँ । बाँकी रित्तो हात फर्किनु भयो ।’ आवश्यकताअनुसार सहकारीलाई मल प्राप्त नभएकाले यो समस्या भएको उनी बताउँछन् ।

केन्द्रबाट नै मल खरिद कम हुने गरेकाले छिट्टै मल अभाव सहज हुन नसक्ने कृषि सामग्री कम्पनी लिमिटेड भरतपुरका शाखा प्रबन्धक राजन बगाले बताउँछन् । यद्यपि निश्चित कोटा र परिमाण तोकेर आएको मल वितरण प्रक्रिया असहज हुनाले पनि यो समस्या भएको उनी बताउँछन् ।

कृषि ज्ञानकेन्द्र, चितवनका प्रमुख राजन ढकालका अनुसार जिल्लामा २७ हजार चार सय ४५ हेक्टरमा धानखेती हुँदै आएको छ । एक कट्ठा जमिनलाई साढे दुई केजीसम्म रासायनिक मल आवश्यक पर्छ । चितवनमा एक वडा एक सहकारीबाट मल बिक्री गर्ने भनिएको भए पनि सो कार्य भएको छैन ।

चितवनमा कोभिड– १९ को दोस्रो लहरको महामारीका कारण निषेधाज्ञा अझै कायम नै छ । तर, चितवनका किसान ठेलमठेल मल पाउने आसमा लाइन बसिरहेका छन् । धान रोप्ने बित्तिकै डिएपी मल राख्ने गरिन्छ भने त्यसको २१ दिनपछि युरिया हाल्ने गरिन्छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७