हराउँदै रैथाने धान


१६ असार २०७८, बुधबार
khet

पाल्पा, १६ असार । पछिल्लो समय पाल्पामा रैथाने जातका धान भने लोपोन्मुख अवस्थामा छ । स्थानीय विभिन्न जातका धान खाँदा मिठो स्वादका भए पनि उत्पादन कम हुने र वर्णसङ्कर जातका धान उत्पादन बढी हुने भएका कारण पनि कृषकले रैथाने जातका धान रोप्न छाडेका हुन् ।

पहिले–पहिले परम्परागत ढङ्गबाट रोपिने बर्मेली, अनदी, जर्नेली, बातिसरो, थापाचिनी, बासमती, झिनुवा, आमझोत्तेलगायतका धानको बीउ लोपोन्मुख अवस्थामा रहेको कृषकको भनाइ छ ।

पछिल्लो समय बजारमा पाइने विभिन्न थरीका धानको बीउबाट उत्पादन धेरै हुने तथा पानी कम लाग्ने भएपछि कृषकको यसतर्फ आकर्षण बढेको कृषि शाखा कार्यालय रामपुरका प्रमुख पाण्डेयको भनाइ छ । उनका अनुसार उत्पादन बढी, धानको नल छोटो र स्याहार्न पनि सजिलो हुने भएपछि कृषक उन्नत धानको बीउतर्फ आकर्षित भएका छन् ।

सावा मनसुली, शान्ति, जानकी, जिरामसिना, साना मनसुली, युएस, खुमल चारलगायतका धानखेतीमा यस क्षेत्रका कृषकको आकर्षण देख्न सकिन्छ । नयाँ उन्नत जातका धानको बीउमा किरा कम लाग्ने र उत्पादन बढी हुने भएका कारण कृषकले पहिलेपहिले जस्तो घरमै धानको बीउ राख्ने चलन पनि हराउन थालेको छ । कृषकले धेरै उत्पादन हुने र प्रविधिको प्रयोगबाट छिटोछरितो ढङ्गले खेती गर्ने प्रणाली अपनाउन थालेका छन् ।

पुराना धानबाट खाना स्वादिलो भए पनि उत्पादन कम, सिँचाइका लागि पानी धेरै लाग्ने, नल लामो हुने र धान नपाक्दै ढल्ने कारण पनि यसतर्फ कृषकको ध्यान कम जान थालेको कृषक हुमादेवी देवकोटाले बताइन् । चाहिएको बेला आकाशबाट सिँचाइका लागि पानी नपर्ने र सजिलै पानी उपलब्ध नहुने ठाउँमा पानी कम लाग्ने भएका कारण पनि कृषकले धुलोमा बीउ राख्ने र वर्णसङ्कर धान रोप्ने गर्दछन् । बेलाबेला पानी बोकेर धानमा राख्ने कृषकको भनाइ छ ।

पछिल्लो समय वर्णसङ्कर जातको भनेपछि धेरै फल्ने लोभमा कृषक प्रभावित भएको रामपुरका कृषक सूर्यप्रसाद रेग्मी बताउँछन् । वर्णसङ्कर भन्दा पुराना जातका धान धेरै स्वादिलो र फाइदाजनक भए पनि यसको महत्व कृषकले बुझ्न नसकेको उनको धारणा छ ।

पाल्पामा वर्णसङ्कर जातका धान रोपे पनि बजारका स्वादिला चामल किनेर खाने गर्दछन् । आफूले उत्पादन गरेका धान बिक्री गरी बासमतीलगायतका केही चामल बजारबाट खरिद गरी कृषकले नै प्रयोग गर्ने गर्दछन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७