सरकारको अभुतपूर्व विकासका गतिविधिले एमाले झन लोकप्रिय : प्रधानमन्त्री


१६ असार २०७८, बुधबार
d2f480fc1d1de2375e59356672e9e997 w1000 h500 cp

काठमाडौं, १६ असार । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले सरकारको ऐतिहासिक र अभूतपूर्व विकासका गतिविधिका कारण एमाले जनता माझ झन लोकप्रिय हुँदै गएको दाबी गरेका छन् ।

आज (बुधबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दशौं महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकारले ऐतिहासिक रूपमा अभूतपूर्वक ढंगले विकास निर्माणको गति अघि बढाएका कारण जनतामा लोकप्रिय हुँदै गएको दाबी गरेका हुन् ।
उनले भने, ‘योजनाबद्ध दृष्टिकोणसहितको विकासको तीव्र आकांक्षा र त्यस आकांक्षालाई व्यवहारमा परिणत गर्ने हाम्रो प्रतिबद्धता र तदनुसारको क्रियाकलापहरूले हाम्रो पार्टी झन् बढी लोकप्रिय हुँदै अगाडि बढिरहेको छ ।’

बिमस्टेक, लगानी सम्मेलनलगायत अन्तर्राष्ट्रिय स्तरका विभिन्न सम्मेलन गरेर सही धारणा र विचार अघि सारेका कारण नेपालप्रति विश्वको ध्यानाकर्षण भएको दाबी पनि उनले गरे । उनले भने, ‘राष्ट्रिय हित, सार्वभौमसत्तालाई संवद्र्धन गरिरहेको र हाम्रा छिमेकी मित्रराष्ट्रहरूको सम्बन्धमा कतै असमझदारी पैदा भइहाल्यो भने त्यसलाई राष्ट्रिय हित, न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्वका आधारमा पारस्परिक लाभ र पारस्परिक सम्मानका आधारमा, सार्वभौम समानताका आधारमा मतभेद हटाउँदै लगेका थियौँ । विकास गर्दै लगेका थियौं । इतिहासमा पहिले कहिल्यै नभएका ठूला–ठूला सकारात्मक लक्ष्यहरू प्रकट भएका थिए ।’

सरकारले राम्रो काम गरेर जनतामाझ लोकप्रिय हुँदै जाँदामा पार्टीभित्रै बेग्लै योजना बन्दै गएको र ती योजनाहरू व्यवहारमा भद्दा ढंगले प्रकट हुँदै आएको ओलीको जिकिर छ । उनले भने, ‘खासगरी सञ्चारमाध्यममा पार्टीका नीतिहरू अनि पार्टी नेतृत्वको धज्जी उडाउने, गाली बेइज्जती र अपमान गर्ने र सरकारले गरेका राम्रा उपलब्धिहरूको चर्चा नगर्नेलगायतका थुप्रै प्रयास चलिरहे प्रचारात्मक ढंगले । यस्ता कुराले जनतामा वितृष्णा र नैराश्यता पैदा भएको छ । जनता दुःखी छन् र निराश छन् ।’

ओलीले सरकार गठनको दुई वर्षपछि पार्टीभित्रैबाट पदीय आकांक्षाका लागि असाधारण अस्वस्थता सुरु भएको दाबी पनि गरे । पार्टीभित्र अस्थिरता पैदा गर्ने कार्यमा केही व्यक्ति जालझेल, षड्यन्त्र, तिकडमका साथ गुटबन्दीमा क्रियाशील भएको जिकिर ओलीको छ । अहिले त्यो खेल विरोधीहरूसँगको साँठगाँठमा प्रवेश गरेको पनि ओलीले टिप्पणी गरे । पार्टीभित्र पार्टी सञ्चालनका लागि अवैध सम्झौता गर्नुपर्ने अवस्था सिर्जना गरिएको पनि उनले बताए ।

उनले थपे, ‘सरकारको नेतृत्वको दुई वर्षपछि पार्टीभित्र असाधारण अस्वस्थता सुरु भयो । पदीय आकांक्षाका लागि । अस्वस्थ पदीय आकांक्षाका लागि । जालझेल, षड्यन्त्र, तिकडमबाट, पार्टीभित्रको अस्वस्थ गुटबन्दीबाट अस्थिरता पार्टीमा पैदा गर्न केही तत्वहरू पार्टीभित्र क्रियाशील भए । त्यसले पार्टीभित्र असहज वातावरणतर्फ लग्यो । दुई वर्ष पूरा भइसकेपछि पर्टीभित्रैबाट राजीनामा माग्न हतारो । अरूको अविश्वास प्रस्ताव राख्ने हैसियत नभएको स्थितिमा राजीनामाको बबन्डर मच्चाउन खोजियो । अस्थिरता ल्याउने खेल सुरु भयो । त्यो खेल अब विरोधीहरूसँगको साँठगाँठमा गयो । जे भेटिन्छ त्यसको प्रयोग गर्ने । जे प्रयोग गरेर झटारो हान्न सकिन्छ, पार्टीलाई कमजोर पार्न सकिन्छ त्यो गर्ने । यस खालका प्रयास हुँदै आए ।’

उनले गुटबन्दीमा संलग्न केही व्यक्तिका क्रियाकलापका कारण पार्टी असहज, असामान्य स्थिति र दुर्घटनातर्फ जाँदै छ भन्ने स्थितिसम्म सिर्जना भएको बताए । उनले पार्टीभित्रैको एक समूहले पार्टी कब्जा गर्ने उद्देश्य साथ आफूलाई साधारण सदस्यता पनि नरहने गरी निष्कासन गरेको पनि स्मरण गरे ।

पार्टीभित्रैबाट अनावश्यक झमेला झिक्ने, संसदलाई प्रभावकारी हुन नदिने, विधेयकहरू बन्न नदिएर अल्झाउने काम भएपछि आफूले संसद् विघटन गरेको उल्लेख गर्दै ओलीले प्रतिनिसिभा पुनर्स्थापनापछिको पहिलो दिनको संसद् बैठकमा भएका क्रियाकलापको पनि चर्चा गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७