एमाले महाधिवेशन आयोजक कमिटी एकतर्फी गठन र भंग : अदालतको आदेश कार्यान्वयन, विवाद जहाँको तहीं


प्रकाशित मिति : July 1, 2021

काठमाडौं, १७ असार । एमाले अध्यक्ष केपी ओलीले एकतर्फी रूपमा गठन गरेको दशौँ महाधिवेशन आयोजक कमिटी एकतर्फी रूपमै भंग गरेका छन् । यो निर्णयले एमालेको आन्तरिक विवाद समाधान गर्ने बलियो आधार बनाएको छैन । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आयोजक कमिटी भंग गर्ने ओलीको निर्णयको कुनै अर्थ नरहेको प्रतिक्रिया दिएको छ ।

‘जबसम्म पारदर्शी ढंगबाट औपचारिक रूपमा दुईवटा वार्ता टोलीका बीचमा छलफल हुँदैन, दुईवटा नेताका बीचमा सहमति हुँदैन र प्याकेजमा सम्पूर्ण विषयमा सहमति हुँदैन, त्यति वेलासम्म जेसुकै निर्णय गरे पनि कुनै अर्थ हुँदैन,’ वरिष्ठ नेता नेपालले भने, ‘साथै, अवैधानिक महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीको बैठक बोलाउने अधिकार नै छैन । त्यस्तो बैठकमा जाने कुरै हुँदैन । सर्वोच्च अदालतको फैसलालाई प्रभाव पार्ने र पाँच पार्टीबीचको गठबन्धनमा अविश्वास पैदा हुने कुनै पनि काम हामीबाट हुँदैन ।’

तर, संस्थापन पक्षले पछिल्लो निर्णयले एकताको आधार बनाएको दाबी गरेको छ । ‘विधिको शासन पालना गर्ने पार्टीले अन्यथा निर्णय नभएसम्म अदालतको आदेश पालना गर्नु कर्तव्य भएकाले फैसलालाई समेत ध्यानमा राखेर आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने र केन्द्रीय कमिटीकै तहबाट सञ्चालित हुने निर्णय गरेका छौँ,’ प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘यसअघि आयोजक कमिटी र स्थायी कमिटीले गरेको कारबाहीका निर्णय निष्प्रभावी भएका छन् । त्यसले पार्टीलाई एकताबद्ध बनाउने नयाँ आधार सिर्जना गरेको छ । यदि एकता र पार्टीको भलो चाहेका हौँ भने अन्यथा टिप्पणीको कुनै अर्थ छैन, मनसाय बेग्लै भए अलग्गै कुरा भो ।’

२३ फागुनमा सर्वोच्च अदालतले नेकपा भंग गरेपछि ब्युँतिएको एमालेमा ओलीले खनाल–नेपाल समूहसँग परामर्श नगरी २८ फागुनमा नवौँ महाधिवेशनबाट चयन भएको केन्द्रीय कमिटीलाई दशौँ महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरेका थिए । तर, त्यसपछि एमालेमा सुरु भएको विवाद बढ्दै गएर विभाजनको तहमा पुगेपछि ओलीले तीन महिनापछि १६ असारमा महाधिवेशन आयोजक कमिटी एकतर्फी रूपमै भंग गरेका छन् । आयोजक कमिटी भंगमा ओलीले लिएको एकतर्फी निर्णयले एमाले विवाद जहाँको त्यहीं राखेको छ ।

संस्थापन पक्षको बुधबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले उक्त कमिटी भंग गरी त्यसले गरेका निर्णयलाई निष्प्रभावी बनाउने तथा नेपालसहित उनीनिकट नेता–कार्यकर्तामाथिको कारबाही फिर्ता लिने र शुक्रबार केन्द्रीय कमिटी बैठक राख्नेसहितको निर्णय गरेको छ ।

बैठकले नेकपा बनेपछि स्थायी कमिटीमा मनोनीत भएका एमालेतर्फका विष्णु रिमाल, रघुजी पन्त, डा. बेदुराम भुसाल र रघुवीर महासेठ तथा माओवादीतर्फबाट नेकपामा स्थायी समिति सदस्य रहेका रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्टलाई स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको छ ।

बुधबार बसेको महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकले एमालेको केन्द्रीय संरचनालाई नवौँ राष्ट्रिय महाधिवेशनबाट चयन भएको ठाउँमा पु¥याएको छैन । बरु, ओलीले पूर्व माओवादी नेताहरूलाई समेत स्थायी कमिटीमा समेटेका छन् । दुई सय ६४ सदस्यीय आयोजक कमिटीलाई नै केन्द्रीय कमिटीमा रूपान्तरण गरेको छ ।

ओलीले एकतर्फी रूपमा लिएको निर्णयले एकताको आधार नबनाएको खनाल–नेपाल निकट नेता रघु पन्तले बताए । ‘हामी एकताका विरुद्धमा छँदै छैनौं, तर जुन ढंगले एकपक्षीय निर्णय गरेर पेलेर जान खोजिएको छ, त्यो स्वीकार्य छैन । पछिल्लो निर्णयलाई हेर्दा शुक्रबारका लागि डाकिएको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने स्थिति अझै बनिसकेको छैन,’ खनाल–नेपाल पक्षका स्थायी कमिटी सदस्य पन्तले नयाँ पत्रिकासँग भने, ‘प्याकेजमै सहमति हुनुपर्छ । सहमति नभई उहाँहरूले बैठक डाक्नु भयो भन्दैमा हामी खुरुक्क जाने स्थिति बन्दैन ।’

संस्थापन पक्षको निर्णयमाथि औपचारिक धारणा बनाउन खनाल–नेपाल समूहले बिहीबार स्थायी कमिटी सदस्यहरूको बैठक डाकेको छ । शुक्रबार डाकिएको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने वा नहुनेलगायत विषयमा बैठकबाटै औपचारिक निर्णय गर्ने खनाल–नेपाल समूहको तयारी छ ।

त्यसपछि आवश्यकता परे समूहमा रहेका केन्द्रीय सदस्यहरूको समेत बैठक राख्ने मनस्थितिमा वरिष्ठ नेता नेपाल पुगेका छन् । सर्वोच्च अदालतले अवैध संरचना मानेको दशौँ महाधिवेशन आयोजक कमिटीको निर्णयबाट संस्थापन पक्षले एकलौटी केन्द्रीय कमिटीको बैठक बोलाएको जिकिरसहित नेपाल पक्षले अर्को नयाँ सहमति नबने बैठकमा सहभागी नहुने जनाएको छ ।

बैठकपछि पार्टी प्रवक्ता ज्ञवालीले असन्तुष्ट समूहले पार्टीलाई एकताबद्ध राख्न चाहेको हो भने एकताका लागि महाधिवेशन आयोजक कमिटीको निर्णयले पर्याप्त आधार सिर्जना गरेको जिकिर गरे । ‘कारबाही फिर्ताले पार्टीलाई एकताबद्ध बनाउने नयाँ आधार सिर्जना गरेकाले बैठकले पार्टी एकतामा रचनात्मक योगदान गर्न आमनेता–कार्यकर्तालाई आह्वान गरेको छ ।’

ज्ञवालीले भने, ‘एमाले भएका वेलाका निर्णयको स्वामित्व हामीले लिँदैनौँ भने बेग्लै हो, तर केपी ओली, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमसहित सबै केन्द्रीय सदस्य बसेर देहायका यी–यी व्यक्ति नेकपामा एमालेबाट रहने निर्णय गरेपछि त्यसप्रति हामी सबै जवाफदेही रहनुपर्ने होला । आफ्नै कमरेडहरू जसले तीन वर्षसम्म नेकपाको केन्द्रीय सदस्यका रूपमा काम गर्नुभो, उहाँहरूप्रति वैरभाव राख्नु, आग्रह राख्नु, उहाँहरू केन्द्रीय सदस्य हुनुहुन्न भन्ने भाव पाल्नु जरुरी छ र ?’

महाधिवेशन आयोजक कमिटी भंग भए पनि खनाल–नेपाल समूहका धेरै माग सम्बोधन हुन बाँकी छन् । सोही कारण खनाल–नेपाल समूहका नेताहरूले १८ असारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय लिइसकेका छन् ।

‘एमाले र माओवादी केन्द्रको एकीकरण ३ जेठ ०७५ मा भएकाले सर्वोच्च अदालतबाट एमाले पुनर्जीवित हुने फैसला भएकाले २ जेठपूर्वको स्थितिमा पार्टी समग्र रूपमा कायम हुनुपर्ने’ खनाल–नेपाल समूहको मुख्य माग हो । नवौँ राष्ट्रिय महाधिवेशनको निर्णय तथा पार्टी विधानविपरीत २३ फागुन ०७७ पछि (फागुन २८ गतेको निर्णयसमेत)का सबै निर्णय खारेज गर्नुपर्ने अर्को महत्वपूर्ण माग थियो ।

ज्ञवालीले पछिल्लो निर्णयले भिन्न परिस्थिति सिर्जना गरेको दाबी गर्दै महाधिवेशन आयोजक कमिटीले गरेका निर्णय वैध नै हुने दाबी पनि गरे । ‘यदि हामीले एकता चाहेका छौँ, पार्टीको भलो चाहेका हौँ भने अन्यथा टिप्पणीको कुनै अर्थ छैन । मनसाय बेग्लै भए अलग्गै कुरा भो । अन्यथा उहाँहरूले भन्दै आउनु भएको परिस्थितिमा त बुधबारबाट बिलकुल भिन्न परिस्थिति त सिर्जना भएको छ,’ ज्ञवालीले भने, ‘आयोजक कमिटीको वैधानिकताबारे हामी भ्याकेटमा पनि गएका छौँ । यसबीचमा भएका कामकारबाही शून्यमा त जाँदैनन् नि त ! भोलि केन्द्रीय कमिटीले पनि अपनत्व लिन सक्छ, त्यसकारण वैधानिकताको प्रश्न उठ्दैन । हामीले एकता चाहेको हो भने निर्णय पर्याप्त छन् ।’

केन्द्रदेखि स्थानीय तहसम्म स्पष्टीकरण, निलम्बन र सदस्यता खारेजीलगायत सबै कारबाही बदर गर्ने, पार्टीलाई विधिसम्मत रूपमा सञ्चालन गर्ने, पार्टीमा सहज स्थिति भएपछि विगतमा भए–गरेका कामकुराको उपयुक्त समयमा समीक्षा गर्ने सहमति हुनुपर्ने पनि खनाल–नेपाल समूहको माग छ । यसबाहेक प्रधानमन्त्री ओलीबाट प्रतिनिधिसभा विघटन गर्नेलगायत संविधानसम्मत नरहेका निर्णय फिर्ता गरिनुपर्ने अडान पनि खनाल–नेपाल समूहको छ ।

प्रवक्ता ज्ञवालीले बैठकले कारबाही फिर्ता गरेको बताए । यसअघि आयोजक कमिटी र स्थायी समितिले गरेको कारबाहीका निर्णय आयोजक कमिटीको निष्क्रियतासँगै निष्प्रभावी भएको छ,’ ज्ञवालीले भने । उनले अदालतको निर्णय पनि आयोजक कमिटी भंगमा एउटा कारण रहेको खुलाए ।

‘विधिको शासन पालना गर्ने पार्टीले अन्यथा निर्णय नभएसम्म अदालतको आदेश पालना गर्नु कर्तव्य भएकाले फैसलालाई समेत ध्यानमा राखेर आयोजक कमिटीलाई केन्द्रीय कमिटीमै रूपान्तरण गर्ने र केन्द्रीय कमिटीकै तहबाट सञ्चालित हुने निर्णय गरेका छौँ,’ ज्ञवालीले भने ।

तर, खनाल–नेपाल समूहका नेता पन्तले कारबाही फिर्ताको निर्णय अस्पष्ट रहेको बताए । ‘बैठकपछि प्रदीप ज्ञवालीले आयोजक कमिटी र त्यसका निर्णयहरू निष्क्रिय हुने भन्नु भएको छ । त्यसको अर्थ त निर्णयहरूलाई कुनै पनि वेला सक्रिय बनाउन सकिन्छ भन्ने हुन्छ । त्यसकारण आयोजक कमिटी र त्यसले गरेका सबै निर्णय खारेज भएको प्रस्टसँग आउनुपर्छ,’ उनले भने । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्