२३० प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य


१७ असार २०७८, बिहीबार
tarkari scaled

काठमाडौं, १७ असार । एक महिनाको अवधिमा काठमाडौंमा हरियो तरकारीको मूल्य २ सय ३० प्रतिशतसम्म बढेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार गएको १ महिनाको अवधिमा हरियो तरकारीको मूल्य यति धेरै बढेको पाइएको हो ।

वर्षात् शुरू भएसँगै किसानहरूले तरकारी लगाएको जमीनमा धान रोपाइँ शुरू गरेकाले तरकारीको उत्पादन घट्न गई मूल्य बढेको हो ।
जेठ १६ गते प्रतिकिलो ३५ रुपैयाँ थोक मूल्य रहेको हाइब्रिड घिउ सिमीको मूल्य असार १६ मा २ सय ३० प्रतिशतले वृद्धि हुँदै १ सय १५ रुपैयाँ कायम भएको पाइएको छ ।

स्थानीय काउलीको मूल्यमा २ सय प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो २५ रुपैयाँबाट ७५ रुपैयाँ पुगेको छ । तितेकरेलाको मूल्य १ सय ४२ प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो २७ रुपैयाँबाट ६५ रुपैयाँ पुगेको छ । त्यसैगरी भिन्डीको मूल्य पनि १ सय १५ प्रतिशतले वृद्धि हुँँदै प्रतिकिलो ३५ रुपैयाँबाट ७५ रुपैयाँ पुगेको छ भने राजमाको मूल्य पनि २ सय प्रतिशतले बढेर प्रतिकिलो ३५ रुपैयाँबाट १ सय ५ रुपैयाँ पुगेको छ । घिरौला, लौका, बोडीलगायतका तरकारीको समेत प्रतिकिलो २० रुपैयाँदेखि ३५ रुपैयाँसम्म मूल्य बढेको छ ।

अहिले वर्षातको समय भएकाले तरकारीको उत्पादन कम भएको छ । तरकारी उत्पादन भइरहेको जमीनमा धान रोप्ने काम भइरहेकाले पनि हरियो तरकारीको उत्पादन घटी मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।

‘खासगरी अहिले तरकारीको उत्पादन कम भएकाले नै मूल्य बढेको हो,’ उनले भने । उनका अनुसार यतिबेला भारतमा पनि वर्षातका कारण तरकारी उत्पादन घटेको छ । भारतबाट नेपालमा कम तरकारी भित्रिँदा पनि मूल्य बढेको हो । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७